फिलिपिन्समा सुरक्षाकर्मी र विद्रोहीबीचको झडपमा १२ को मृत्यु, १३ घाइते

फिलिपिन्समा सुरक्षाकर्मी र विद्रोहीबीचको झडपमा १२ को मृत्यु, १३ घाइते


फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेका र घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका सिन्ह्वाले जनाएको छ ।

सेनाका प्रवक्ताले बिहीबार (३० जुलाईं) दिएको जानकारीअनुसार दक्षिणी फिलिपिन्सको मगुइन्डानाओ प्रान्तमा झडप भएको हो ।

फिलिपिन्सका लेफ्टीनेन्ट कर्णेल एन्हौभिक एन्टीलानोले बाङसामोरो इस्लामिक फ्रीडम फाइटर (बीआईएफएफ)का नेता हसन इन्डाल कहाँ छन् भन्ने पहिचान गरेर आक्रमण गरिएको बताए ।

स्थानीय समयानुसार बिहान ५.३० बजे तिर २० आतङ्ककारीलाई लक्षित गरेर सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उनले जानकारी दिए ।

सुरक्षाकर्मीहरूले झण्डै ६ घण्टा आक्रमण गरेको र त्यसपछि आक्रमण स्थगित गर्ने निर्णय गरेको थियो । लेफ्टीनेन्ट कर्णेल एटीलानोले आतङ्ककारीतर्फका अरू धेरै घाइते भएको हुन सक्ने जनाएका छन् ।