नेता रायमाझी किन घटाउँदै छन् आफ्नै कद ?

नेता रायमाझी किन घटाउँदै छन् आफ्नै कद ?


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले मदन भण्डारी राजमार्गका बारेमा भ्रमको खेति फैलाइएको आरोप लगाएका छन् । आफूलाई विकासप्रेमी नेता भनेको रुचाउने नेता रायमाझीले चुरे र भित्री मधेशलाई प्राथमिकतामा राखेर लैजानुपर्ने सडकलाई आफ्नो घरतर्फ मोडेको विषयमा केन्द्रित भई समाचार प्रकाशित भएपछि उनको निजी सचिवालयले ‘भ्रमको खेति ठहर गरेको’ बुझिएको छ । समाचार प्रकाशन भएको करिव दुई सातापछि नेता रायमाझीले पङ्क्तिकारलाई टेलिफोन गरी धम्क्याउने प्रयास गरेका थिए । ‘भाइ, जिल्लामा बसेर किन भ्रमको खेती फैलाएको, कसलाई सोधेर समचार लेखेको, के तिमीलाई मदनभण्डारी राजमार्गको योजनाप्रमुखको नाम त थाहा छ ?’ पङ्क्तिकारसँग यस्ता बेतुकका सवाल गरेर नेता रायमाझीले आफ्नै कद घटाए पनि मदनभण्डारी सडक सदरमुकाम सन्धिखर्कदेखि धरमपानी अर्घा अर्थात् रायमाझीकै घरबाट रतनमारे गोखुङ्गा हुँदै प्युठानको बिजुवारतर्फ मोडेको स्वयम्ले स्वीकार भने गरेका थिए ।

मदनभण्डारी सडक गुल्मेली नेताहरूको हातबाट आफूले शाखा सडकको रूपमा अर्घाखाँची ल्याएको दाबी गरेका नेता रायमाझीले सदरमुकाम सन्धिखर्कदेखि प्यूठानको बिजुवार लैजान सबैभन्दा छोटो दूरी मानिने कुर–नुवाकोट–खिल्जी–असुरकोट हुँदै जोहीटारी रुटका लागि भुमिकास्थान नगरपालिकाले विरोध जनाएका र प्राविधिकले समेत हुँदैन भनेका कारण बजेटनै फ्रिज हुने सम्भावना बढेपछि विकल्पका रूपमा आफनो घरतर्फ मोडेको उनको जिकिर रहेको थियो । उता भूमिकास्थान नगरपालिकाका नगरप्रमुख तथा पूर्वमाओवादी नेता रेशमबहादुर थापाले मदन भण्डारी राजमार्गका लागि नेता रायमाझीले आफूलाई अनावश्यक विभादमा ल्याई जनताको सामु कमजोर बनाउने प्रयास गरेको भन्दै आफूले कहिल्यै पनि सडकका लागि विरोध नगरेको र बाक्ला बस्तीहरू व्यवस्थापन गर्नसमेत तयार रहेको बारम्बार बताउँदै आएका छन् । यसैप्रकार सोही नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले जनप्रतिनिधि र प्राविधिकलाई दोषी देखाएर भ्रमको राजनीति कसैले पनि गर्न नहुने भन्दै पहाडी सडकमा ग्रेड मिलाएर मिल्ने विषय भएको कारण आफूहरूका लागि मदन भण्डारी राजमार्ग आवश्शयकताको विषय भएको स्पष्ट रूपमा उल्लेख गरेका छन् ।

यी सबै विषयवस्तुलाई समेटेर प्रकाशन गरिएको समचारलाई भ्रमको खेती भनेर आरोप लगाएका नेता रायमाझी पटक–पटक मन्त्री बन्दा दुई–चार अर्ब रुपैयाँ र मानसम्मान कमाएका रहेछन् भने पनि एउटा राजनैतिक संस्कारमा उनको सोच गरिव भएको यस प्रकरणले स्पष्ट पारेको छ । मदन भण्डारी सडकको समचार प्रकाशन गर्नुपूर्व कारणवश माननियज्यू तपाईंले संसद् विकास कोषको रकम कुनै समयमा किन आफू जन्मिएको अर्घामा रायमाझी कुलायनको गौरो निर्माणका लागि २ लाख र जिल्लाको एक मात्र एफएम रेडियोका लागि करिव ३० लाख रुपैयाँ बुझाउनु भएको हो नि भनेर अक्षरको माध्यमबाट प्रश्न सोधिएको भए सायद त्यतिबेला नेता रायमाझीले विकासविरोधिको आरोप लगाउँथे कि भनेर पनि सोच्नुपर्ने सवाल पैदा भएको छ ।

विगतमा उपप्रधानमन्त्री र विभिन्न मन्त्रालयको मन्त्रीका हैसियतमा सदरमुकाम सन्धिखर्क आएपछि साँझ दैनिकजसो आफ्नो घर अर्घाको खाडमा रात बिताउन पुग्ने नेता रायमाझीका लागि जिल्लास्थित ठेकेदार तथा शुभचिन्तकहरुले आवश्यकीय खाना लगायतका समानहरु प्याक गरी घरमै पुऱ्याउने गर्दथे भनेर समाचारमा उल्लेख गरिएको भए नेता रायमाझीले पङ्क्तिकारमाथि भ्रमको खेती फैलाएको भन्न पनि मिल्थ्यो होला । तर, मदनभण्डारी सडकसँग केन्द्रित भइ लेखिएको समाचारमा त्यस्तो खाशै अनावश्यक सन्दर्भ उल्लेख गरिएको थिएन । यसैप्रकार राष्ट्रिय गौरवको सडकका बारेमा योजना प्रमुखको नामसँग पङ्क्तिकार बेखबर हुनुपर्छ भन्ने नेता रायमाझीको सोचले उनीप्रतिको जनताको सम्मानमा कमी ल्याएको छ । सार्वजनिक निकाय नागरिक निकाय भएका कारण मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक उमेश विन्दु श्रेष्ठसँग सडकका बारेमा जिज्ञासा मेटाउन नेता रायमाझीको काठमाडौंस्थित निजी निवास वा ग्वार्काेस्थित मार्वल पसल वा कपिलवस्तुको बथानपुरमा रहेको कृषि फार्मलगायतका स्थानमा सम्पर्क गर्नुपर्ने बाध्यता पङ्क्तिकारलाई हालसम्म नपरेको तथ्य नेता रायमाझीले स्मरण गर्दा उपयुक्त हुने देखिन्छ ।

जसरी नेता रायमाझीलाई आफ्नो गाउँको माया छ त्यसैगरी पङ्क्तिकारलाई पनि आफ्नो गाउँको माया छ । विकास–निर्माणको हिसाबले क्षेत्र नम्बर १ को तुलनामा क्षेत्र नम्बर २ ‘अर्घाखाँचीको कर्णाली’को रूपमा हालसम्म परिचित रहेको छ । जुन अर्थमा समग्र जिल्लावासीहरूको विश्वासको मत प्राप्त गरेका नेता रायमाझीले गाउँकेन्द्रित विकासलाई बिर्सेर समग्र जिल्लाको हितमा लाग्नु उपयुक्त हुने देखिन्छ । यो सडकको पहिलो प्राथमिकता भनेको चुरेक्षेत्र र भित्री मधेशका बस्तीहरूलाई समेटेकै हुनुपर्दछ । नेता रायमाझी र मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक उमेशबिन्दु श्रेष्ठको मिलेमतोमा सदरमुकाम सन्धिर्खकदेखि छनौट गरिएको धरमपानी–अर्घा–रतनमारे–गोखुङ्गा सडक चुरे तथा भित्री मधेसभित्र नपर्ने कुरा राज्यको उपल्लो निकायले बिर्सनु हुँदैन । यो सडक नियमअनुसार लैजाने हो भने सदरमुकाम सन्धिखर्कदेखि गच्छे ढिकुरा डेभा धनचौर जुकेना जलुके लामाताल हुँदै प्यूठानको बिजुवार पुऱ्याउनुपर्ने हुन्छ । जहाँ जुकेना र जलुके चुरेअन्तर्गत पर्दछन् भने मनमोहक लामाताललाई भित्री मधेसका रूपमा लिन सकिन्छ । सो रुटका स्थानीयहरू अहिले पनि शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडकको पहँुचबाट वञ्चित बन्नुको अलावा जनघनत्व बाक्लो भएर पनि राज्यको पहुँचबाट टाढा रहेका छन् ।