प्लेटोको आदर्श राज्य र आजको समाज

प्लेटोको आदर्श राज्य र आजको समाज


■ छन्दबहादुर पहराई मगर

प्लेटोको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखिदिएका हुन् । प्लेटोलाई संसारभर प्लेटोको नामबाटै चिनिन्छ । अरस्तुका गुरु प्लेटो हुन् भने प्लेटोका गुरु सुकरात हुन् । दार्शनिक हिसाबले सबैभन्दा माथि सुकरात त्यसपछि प्लेटो र अन्तमा अरस्तुको नाम आउँछ । प्लेटोले आदर्शराज्यको कल्पना गरेका थिए । उनको आदर्श राज्यमा व्यक्तित्वको तत्व र समाजको वर्गलाई तीन तहमा बाँडेका छन् । (१) विवेक वा ज्ञान जसलाई स्वर्ण तत्व भनेर भनिन्छ । यसले समाजमा ज्ञानीहरूको शासक वर्गको अर्थात् संरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (२) साहस या सौर्य तत्व (रजत तत्व) जसले समाजमा वीर सैनिक वर्गको अर्थात् सहसंरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (३) लोभी वा लालची वर्ग (तमगुण तत्व) को प्रतिनिधि गर्छ । यसले समाजमा लोभी वा आर्थिक वर्गलाई जोड दिने वर्गको नेतृत्व गर्दछ ।

प्लेटोको आदर्श राज्यलाई त्रिवर्गीय सामाजिक व्यवस्थाको रूपमा विभाजन गरिन्छ । प्लेटोको विचारमा आदर्श राज्यमा तीन वर्ग हुन्छन् । सबैभन्दा माथि ज्ञाीन वा शासक वर्ग, बीचमा सैनिक अर्थात् रक्षक वर्ग र सबैभन्दा तल पैसा कमाउने आर्थिक वर्ग रहन्छ । हरेक राज्यमा शान्ति र आनन्दको कल्पना गरेका छन् जो हुनु आवश्यक पनि छ । जहाँ अज्ञान छ त्यहाँ झगडा हुन्छ । अज्ञानको कारणले नै समाजमा अशान्ति फैलन्छ भन्ने तर्क प्लेटोको हो । त्यसकारण समाजमा ज्ञानी वर्गको शासन, सैनिक वर्गको शान्तिसुरक्षा र आर्थिक वर्ग वा किसान तथा मजदुर वर्गको सेवा हुन्छ भन्ने मान्यता उनले राखेका हुन् ।

समाजमा ज्ञानीको पनि परम् ज्ञानी तथा दार्शनिकको पनि महादार्शनिक व्यक्ति राजा कहलाउँछ । राजा वा समाजको नेता सबैभन्दा दार्शनिक हुन आवश्यक छ । प्लेटोको विचारमा राज्य भनेको व्यक्तिको बृहत् रूप हो । प्लेटोको गुरु सुकरातले भनेझैँ गुण भनेको ज्ञान हो र ज्ञान भनेको गुण हो त्यसकारण गुण नै ज्ञान भएकोले प्लेटोले आफ्नो आदर्श नगरमा जो परम् ज्ञानी छ उसैबाट सत्ता सञ्चालन हुनुपर्छ भन्ने विचार अगाडि सारेका हुन् । सर्वश्रेष्ठ ज्ञानी मान्छे नै समाजको प्रमुख वा राजाको कल्पना उनले गरेका छन् । जबसम्म राजा वा अहिलेको नेता दार्शनिक र महाज्ञानी हुँदैन तबसम्म उसले समाजको भावनालाई कदर गर्न सक्दैन ।

व्यक्ति वा राजा दार्शनिक हुन चारवटा गुण हुन आवश्यक हुनुपर्ने बताएका छन् । जुन यसप्रकार छ– सत्यम्, शिवम्, सुन्दरम् र संयम जस्ता चार गुणले युक्त जो व्यक्ति छ त्यो नै ज्ञानी तथा दार्शनिक हुन सक्छ भन्ने प्लेटोको आदर्श विचार हो । दार्शनिक राजा वा प्रमुखले आदर्श राज्यमा विशेष चारवटा कार्य गर्दछन् । (१) आदर्श राज्यमा न्यायिक व्यवस्था कायम गर्ने (२) आदर्श राज्यमा जनसङ्ख्याको नियन्त्रण गर्ने (३) आदर्श राज्यमा धनी र गरिबबीच सन्तुलन कायम गर्ने र (४) आदर्श राज्यमा साम्यवादी शिक्षा प्रणाली लागू गर्ने । यसरी चारवटा कुरा शासकले पालना गर्नका लागि कल्पना गरेका छन् । प्लेटोका राजा सर्वज्ञानी हुन्छ उसले कदापि गल्ती गर्दैन, सदासर्वदा न्याय नै गरिरहन्छ । राजाबाट गल्ती हुन्छ भन्ने कल्पना प्लेटोले गरेका छैनन् ।

प्लेटोको आदर्श राज्यको धारणाप्रति अर्का विद्वान् कार्ल पाँपरले कडा रूपमा आलोचना गरेका छन् । प्लेटोका दार्शनिक राजालाई अधिनायकवादी अर्थात् तानाशाह भनेर संज्ञा दिएका छन् । कार्ल पाँपरले हिगल, माक्र्स र प्लेटोलाई खुला समाजका पहिला शत्रु मानेका छन् । तर, प्लेटोले आफ्नो न्याय सिद्धान्तलाई अत्यन्त दार्शनिक मानेका छन् । न्यायसम्बन्धी सिद्धान्तबारे विभिन्न पात्रहरूको भनाइलाई पनि लिन सकिन्छ । सेफालसको भनाइमा न्याय भन्नाले साँचो बोल्नु हो । सेफालसको विचारअनुसार ऋणको भुक्तान र जिम्मेवारी वहन गर्नु पनि न्याय हो । माक्र्सले मित्रसँग सही व्यवहार गर, शत्रुसँग दुव्र्यवहार गर भनेर भनेका छन् । थ्रेसिमेकसको न्याय बलवान्को हितमा हुन्छ भन्ने भनाइ छ ।

त्यसैगरी गिलोकनले अन्याय सहनु र अन्याय गर्नु दुवै गलत हो भनेका छन् । यी सबैको खण्डन गर्दै सुकरातले सबै मनुष्य स्वार्थीपनबाट टिकिरहेका हुन्छन् भनेका छन् । जो निस्वार्थ तथा संयम छ उसैले मात्रै न्याय गर्न सक्छ भनेर भनेका छन् । सुकरातले जोड गर्दै भनेका छन् कि एक तत्वबाट अर्को तत्वमा र एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तक्षेप गर्नु अन्याय हो । अतः प्लेटो र सुकरातले भनेका छन् कि जुन शासकले धनको लोभ गर्छ त्यो शासकको राज्य तुरुन्त नष्ट हुन्छ । आदर्श राज्य हुनका लागि प्लेटोले शिक्षा प्रणालीबारे पनि धारणा राखेका छन् । यदि राज्यमा भ्रष्टाचार हुन्छ भने त्यो राज्य नष्ट हुन्छ । यसका लागि संरक्षक र सहसंरक्षकले भ्रष्टाचारबाट राज्यलाई बचाउन केही उपाय सोच्नुपर्ने हुन्छ भनेका छन् । आन्तरिक शुद्धीकरणका लागि दीर्घकालीन शिक्षा प्रणाली र बाह्य शुद्धीकरणका लागि साम्यवादी शिक्षा प्रणालीमा प्लेटोले जोड दिएका छन् ।

प्लेटोले शिक्षा प्रणाली उपल्लो दुई वर्गलाई मात्र लागू हुने र उनैका बच्चाबच्ची पछि गएर सैनिक तथा शासक हुने विश्लेषण गरेका छन् । शिक्षा प्रणाली पूर्ण निःशुल्क रूपमा पठनपाठन सरकारबाट हुने र पठनपाठन हुने विषयहरू क्रीडाशास्त्र, भोजनशास्त्र, साहित्य, कला, गणित, तर्कशास्त्र, लोकप्रशासन, सैन्य कला र कूटनीति आदिको अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । उमेरको हिसाबले २० वर्षभित्रमा एउटा शिक्षा प्रणाली अध्ययन गरिसक्नुपर्ने र विशेष परीक्षा पास गरेमा उच्च शिक्षाको लागि अगाडि पढ्न सिफारिस हुने र असफल भएमा कार्यालयमा काम गर्नुपर्ने व्याख्या गरेका छन् । उच्च शिक्षामा गणित, दर्शनशास्त्र र युद्धकलासम्बन्धी कठोर रूपमा अध्ययन हुने बताएका छन् । यसरी अध्ययन गर्दै जाँदा ३५ वर्षको उमेरमा अन्तिम परीक्षा हुनेछ । यदि अन्तिम परीक्षामा असफल भएमा कार्यालयमा नै रहेर काम गर्नुपर्ने र जो सफल हुन्छ उसले थप १५ वर्ष उच्चस्तरको दर्शन अध्ययन गरेर पूर्ण दार्शनिक बनेपछि मात्रै त्यस देश वा नगरको राजा बन्ने तर्क प्लेटोको छ । सबैभन्दा परम् ज्ञानी जो हुन्छ त्यही राजा हुने र त्यसमुनिका विद्वान्हरू मन्त्री पदमा बसी सेवा गर्ने आदर्श राज्यको धारणा अघि सारेका थिए । जसले सत्यम्, शिवम्, सुन्दरम् र संयमको अर्थ बुझ्न सक्छ त्यो मात्रै राजा हुन सक्ने बताएका छन् ।

प्लेटोले साम्यवादी व्यवस्थाको बारेमा पनि व्याख्या गरेका छन् । साम्यवादी व्यवस्थामा दीर्घकालीन शिक्षा प्रणाली लागू गर्ने र संरक्षक एवम् सहसंरक्षकबाट सबै किसिमको विकृतिको शुद्धीकरण हुनुपर्छ भन्ने भनाइ छ । प्लेटोले शासक वर्गलाई सम्पत्तिको साम्यवाद र पत्नीको साम्यवाद लागू गरेका थिए । शासक र संरक्षित वर्गले निजी सम्पत्ति राख्न हुँदैन । पूर्ण रूपमा सरकारी निवास, सरकारी भोजनालय हुने तथा निजी परिवार पनि राख्न नपाइने किनकि निजी भन्ने चिजले लोभ–मोह बढेर देश र समाजको सेवा हुन नसक्ने नियम बताएका छन् । दार्शनिक राजाले अल्पकालीन विवाह गर्न सक्ने र यदि सन्तान उत्पन्न भयो भने बाबाआमाबाट अलग गराइहाल्नुपर्छ नत्रभने व्यवस्था सञ्चालनमा असर पर्छ भन्ने भनाइ प्लेटोको थियो । यसरी प्लेटोले व्यावहारिक दृष्टिबाट कुनै पनि कुरा हेर्न नहुने भन्ने विचारलाई उनकै चेला अरस्तुले कडा रूपमा विरोध गरेका छन् । अरस्तुले भनेका छन् कि जबसम्म परिवार र सम्पत्ति कसैको निजी हुँदैन तबसम्म सम्पत्ति र परिवारको संरक्षण एवम् सुरक्षा हुन सक्दैन । निजी चिज नष्ट भयो भने समाज नै नष्ट हुन्छ ।

तर, जीवनको अन्तिमकालमा प्लेटो आदर्शवाद त्यागेर यथार्थवादमा आएका छन् । उनले प्रतिपादन गरेका आदर्श विचार आफैँ असफल देख्न पुगे । उनको आदर्श राज्यलाई उपआदर्श राज्य मान्न सकिन्छ । प्लेटोले पुनः व्याख्या गर्दै राज्यमा व्यक्तिको सर्वोच्चता नभई कानुनको सर्वोच्चता हुने र सबै कानुनको मातहतमा रहने बताएका छन् । साम्यवादी व्यवस्था सबै हटाएर शिक्षा सबैका लागि खुला गराइदिए । नगर राज्यमा ५०४० जनसङ्ख्याको कल्पना गरेका छन् । लोकप्रशासन चलाउन ३७ जनाको लोकपरिषद् गठन र १० जनाको कार्यसमिति बनाई प्रशासन कामकाज चलाउनुपर्ने भनेका छन् । अरस्तुले प्लेटोको गणतन्त्र आवश्यक नरहेको जनाएका छन् । सेबाइनले प्लेटोका राज्यभन्दा अरस्तुको राज्य श्रेष्ठ मानेका छन् । प्लेटोका रचनाहरू The republic, The statesman, The laws, Meno, The symposium, Gorgias, Socratic Dialouges etc हुन् ।

यसरी उससमयमा प्लेटोले निर्माण गरेको आदर्श राज्य र उनले कल्पना गरेको साम्यवादभित्रका केही कुराहरू अहिले पनि उत्तिकै आवश्यक छ । वास्तवमा ज्ञानको भण्डार जोसँग छ उही नै समाजको अगुवा बन्न आवश्यक छ । हालको समाज आदर्शवादभन्दा पनि बढी उत्ताउलोपनातिर गइरहेको देख्दा एकपटक प्लेटोको दर्शन पढ्नैपर्छ । प्लेटोको आदर्श राज्यमा केही कमीकमजोरी रहे तापनि हाम्रो समाजमा धेरै महत्वपुर्ण दर्शनका रूपमा लिन आवश्यक छ । किनकि व्यक्तिले समाजलाई एकदमै प्रभाव पार्दछ । भनिन्छ कि जुन समाजमा काग र कोइलीको स्वर छुट्याउन सकिँदैन त्यो समाज बस्नलायक हुँदैन । कपास र कपुरको मूल्य एउटै मान्ने, सुन र नुन एउटै मान्ने समाजमा कुनै पनि बेला अनिष्ट हुन सक्छ । मूर्ख र पण्डितलाई एउटै दर्जामा राख्ने समाज पनि प्रगतिको बाटोमा जान सक्दैन भनेर भनिन्छ । त्यसकारण प्लेटोका दर्शन मनन गर्न योग्य नै छ ।