प्रमाण नखुट्याइ छिमेकीलाई दुष्मन किन बनाउने ?

प्रमाण नखुट्याइ छिमेकीलाई दुष्मन किन बनाउने ?


■ मुक्तिनाथ खनाल

बल्ल अब कोरोनाको बन्दाबन्दीमा उकुसमुकुस हुँदै प्वालभित्र गुम्सेका मुसा र बिरालोको खेल देखिन थालेको छ । प्वालभित्र बस्ने मुसाहरू ढाडे बिरालोको सामुन्ने देखापर्न सक्थेनन् । बल्लबल्ल अलि लामो जुँगा भएको मुसो कहिलेकाहीँ प्वालबाट बाहिर आई बिरालोलाई जिस्क्याउँथ्यो तर डरले हो वा आफूले खाएको गुलियो जुठो टुक्रा पाउने प्रलोभनमा परेर हो– मुख मिठ्याउँदै भित्र जाने र भित्र बस्ने अरु मुसाहरूले घचेटिदिएपछि फेरि बाहिर आएर चुँ–चुँ गर्ने, यस्तै क्रम चल्दै थियो । अब पनि चल्दै जाला ।

यसरी नै अहिले सत्तारुढ नेकपाका केही नेतामा सानोतिनो असन्तुष्टि बढ्दै गएको र चाँडै अधिवेशन गरेर उनीहरूले मागेको कुरा पु¥याइदिने बडका सभापतिले आश्वासन दिएजस्तो सञ्चारमाध्यममार्फत् सुन्नमा आएको छ । तर, त्यस्तो समाचारलाई पूर्वमाओवादी नेता पुष्पकमल दाहालले विश्वास गरे पनि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भूसाल आदिले पूर्ण विश्वास गरेको देखिँदैन ।

हुन पनि केपी ओली पाँच वर्ष अवधिभर आफू पावरफुल सभापति र सजिलै प्रधानमन्त्री छोड्न चाहनुहुन्छ जस्तो लाग्दैन । अस्तिभर्खर देखियो नि त प्रमको समर्थनमा भक्तपुरदेखि आएका काजी खानदानबाट सञ्चालित हृष्टपुष्ट हेर्दा भद्र सफेद सर्टपाइन्ट (तर बेरोजगार भत्ताबाट पालिएका जस्ता बुझिने), त्यस्तै काठमाडौंका समेत अरिँगालहरूको जुलुसले देखाएको दृष्य ।

त्यस्तो माग हुँदाहुँदै प्रधानमन्त्रीले कुर्सी छोड्ने भन्ने कुरै आउँदैन, न त पावरफुल सभापति नै । यी अलि–अलि ङ्यारङुर गर्ने २–४ जना उहाँले पहिल्यैदेखि खेलाएका मानिस हुन् । कसलाई के भन्दा, कुन आश्वासन दिँदा, ऱ्याल काट्दै, मुख मिठ्याउँदै चुप लागेर बस्छन् सब थाहा छ । जस्तै कसैलाई अधिवेशनबाट पार्टी सभापति, कसैलाई प्रधानमन्त्री, कसैलाई राष्ट्रपति र यस्तै कसैलाई के, कसैलाई के अनि उहाँहरू सबै चुप लाग्नुहुन्छ । केपी ओली पूर्णकालीन पूर्ण सभापति र प्रधानमन्त्री दुवै हो, यो कुरा निश्चित छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई जे–जसरी चित्त बुझाए पनि बाहिरका जनता, संसद्, अन्तर्राष्ट्रिय स्तरमा यति नराम्रो छवि फैलिएको छ । त्यो उहाँले किन बुझ्न र सुधार्न सक्नुभएन ? यो स्वभाव उहाँकै निमित्त कुनै दिन अभिसाप बन्ने छ । यत्रतत्र भ्रष्टाचार मौलाएको छ । कोरोनाको यत्रो महामारीमा उपचारको निहुँमा अर्बौं लुट ! कसैले आफ्नै छोराको कम्पनी, होटल र एयरलाइन्स र औषधि कम्पनीलाई विभिन्न ठेक्कापट्टा दिने, कसैले बालुवाटारको सरकारी जग्गा हत्याउने, फेरि जनआवाज उठेपछि फिर्ता गरी चोखिने । कोही त्यहि काण्डमा सस्पेन्ड हुने ? यो कस्तो नियम हो ? आफ्नो मानिसले जे गरे पनि हुने ?

भोलि अख्तियारलाई जनताले प्रश्न गर्नेछन्– ‘ए ! लुरे बाजे, तपाईं पनि मोटाउने बाटो खोज्दै हुनुहुन्छ ? अन्यथा केहो.. घुस खाएको पैसा फिर्ता गरेर सफाइ पाइन्छ ?’ यसको जवाफ के दिनुहुन्छ ? प्रधानमन्त्रीले महालेखा परिषद्को प्रतिवेदन नआउँदै आफैंले वाइडबडीमा मुछिनेलाई निरपराधी घोषित गर्ने । यस्ता अनेकौँ काण्डले स्वयम् प्रधानमन्त्रीलाई बदनाम गरेको छ । हामीलाई चिन्ता छ यस्ता कुरामा देशको प्रधानमन्त्री मुछिनु पर्दा, सुन्दा दुःख लाग्छ ।

हुन तः केपी ओलीको बदनामी गराउन आफ्नै पार्टीका कार्यकर्ता सक्रिय भएका बुझिन्छ । जता गए पनि जहाँ पनि उहाँकै बदनामी सुनिन्छ । आखिर यस्तो किन भइरहेको छ भनेर स्वयम् उहाँले पनि विचार गर्नुपर्ने हो ! अनि आफ्नो बोली, भाषा, स्वभावमा सुधार गर्नुपर्ने हो कि !?

मानिस सबै ठाउँका विद्वान्, सचेत, सिष्ट बनिसकेका छन् । यो परिवेशमा हाम्रा प्रधानमन्त्री सदनमा बोल्दा अरुलाई होच्याउने, गाली दिने, गाउँले पाखे, पुरानै छुद्र स्वभाव प्रदर्शन गर्ने गर्दा कोही प्रिय हुँदैनन् । अन्तर्राष्ट्रिय छवि पनि खस्केको छ । कमसेकम हामीले अथवा हामीलाई छिमेकी देशले केही भलो गर्न नसके पनि हामी मुखले किन दुष्मन बन्ने ? सके कामबाटै देखाउने हो, काम देखाउन अथवा आफ्नो देशको माटो, जमिन बचाउन वार्तासम्म गर्न–गराउन नसक्ने सरकार मुखले छुद्रता प्रदर्शन गरेर ज्यादा दुश्मनी कमाउनु मात्र हुन्छ र झन् उल्टो परिणाम आउँछ । यो कुरा हाम्रा प्रधानमन्त्रीलाई सल्लाहकारले किन सुझाव दिँदैनन् ?

हामी नेपाली हौँ, हाम्रो देश र हाम्रै प्रधानमन्त्रीलाई कसैले बदनाम गर्दा नरमाइलो लाग्नु स्वभाविक हो । तर त्यो कुरा प्रधानमन्त्रीले पनि त बुझिदिनुपऱ्यो । जहाँ पनि जे पनि बोलिदिँदा त्यसको परिणाम के हुन्छ । आफूसँगको प्रमाण हेर्दै नहेरी, जाँच–पडताल गरेर नखुट्याइ छिमेकीलाई दुष्मन बनाउँदा छुद्रता प्रदर्शन गर्दा हामी सबै नेपालीलाई असर पर्छ । यदि हाम्रा अभिभावक प्रधानमन्त्री हुन् भने राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सचेत बन्नैपर्छ भन्ने हाम्रो आग्रह हो ।