‘खेल्दाखेल्दै’ प्रचण्ड आफैं ‘घाइते’, पार्टी विभाजनको कसरत तुहिँदै !

‘खेल्दाखेल्दै’ प्रचण्ड आफैं ‘घाइते’, पार्टी विभाजनको कसरत तुहिँदै !


नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खेल्दाखेल्दै आफैं घाइते हुने स्थितिमा पुग्नुभएको छ । ओलीले निर्वाचित दुवै (प्रधानमन्त्री र पार्टी अध्यक्ष) पद कुनै हातलमा नछोड्ने हुनुभएपछि प्रचण्ड पार्टी विभाजन गराउने या केपीसँगै सहमति बनाएर अघि बढ्नेबाहेक अरु कुनै विकल्पमा जान नसकिने अवस्थामा पुग्नुभएको छ । अनेकौँ चरणमा वार्ता गर्दा पनि केपीबाट एउटा पद खुस्काउन नसकिने भएपछि प्रचण्ड गल्नुभएको बुझिन्छ । आफू पार्टी अध्यक्षमा उम्मेदवारी नदिने जानकारी गराउँदै आगामी मङ्सिरमा महाधिवेशन गर्ने र पार्टीको एकलौटी अध्यक्ष बन्ने प्रस्ताव केपीले राख्नुभएपछि प्रचण्ड सहमति बनाउने मानसिकतामा पुग्नुभएको थियो । तर त्यसरी सहमति गर्दा माधव नेपाललगायत पार्टीका एकथरी नेताहरूको विश्वास गुम्ने देखिएपछि प्रचण्ड झस्किनुभयो र, शनिबार राति राष्ट्रपति निवासको बैठकबाट फर्किएलगत्तै प्रचण्डले आफूले कुनै प्रकारको सहमति नगरेको स्पष्टिकरण दिनुभएको छ ।

माधव नेपाल भड्किँदा केपीविरुद्धको कुनै पनि योजना कार्यान्वयन हुन नसक्ने भएकोले प्रचण्डबाट ‘सहयात्री’हरूको विश्वास आर्जन गर्ने प्रयास भइरहेको छ । गुटका साथीहरूले भनेबमोजिम गर्दा पार्टी विभाजन हुने र नगर्दा दुवै गुटबाट आफू पाखा लाग्ने भएकोले प्रचण्ड अप्ठ्यारोमा पर्नुभएको हो । पार्टी विभाजन कदाचित भएमा कसका कारणले त्यस्तो दुर्घटना भयो भन्ने कुरालाई कार्यकर्ता पङ्क्तिले निकै गम्भीरताका साथ हेर्ने र जसका कारणले पार्टी फुटेको देखिन्छ उसको स्थिति रक्षात्मक एवम् कमजोर हुने भएकोले पनि प्रचण्डलाई अप्ठ्यारो परेको बुझिन्छ ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट हटाउन विगत एक वर्षदेखि हुँदै आएको प्रयास असफल भएपछि प्रचण्ड र माधवकुमार नेपालका बीचमा मनमुटावको स्थिति पैदा भएको छ । केपीलाई हटाएर माधव नेपाल प्रधानमन्त्री बन्ने, प्रचण्ड पार्टीको एकलौटी अध्यक्ष हुने र विद्या भण्डारीलाई पदमुक्त गरेर झलनाथ खनालले राष्ट्रपतिको जिम्मेवारी लिने सहमति बनाएर ‘तीन भाइ’ गत वर्षको असारदेखि नै प्रधानमन्त्री हटाउन कस्सिनुभएको थियो । ‘केपी ओलीलाई एक मिनट पनि पदमा राखिनु हुन्न’ भन्ने दृढ अठोटका साथ शुरु गरिएको अभियान कहिले केपी स्वयम्को स्वास्थ्य स्थिति, कहिले वामदेव गौतमको फरक व्यवहार त कहिले नक्शा प्रकरणले अड्चन पुर्‍याएकोले सफल हुन सकेको थिएन । पछिल्लो पटक प्रचण्डले माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम र रामबहादुर थापा ‘बादल’को समेत साथ प्राप्त हुने विश्वासमा निर्णायक प्रयास गर्नुभएको थियो ।

अनेकौँ प्रयत्न गर्दा पनि केपी पदत्याग गर्न तयार हुनुभएन, बरु नेकपाको पुनर्गठन गरी ‘जनताको बहुदलीय जनवाद’लाई पुनस्र्थापित गर्ने योजनामा ओली लाग्नुभयो । ‘एमाले’ संस्कार र संस्कृतिका अधिकाङ्श मानिस केपीको पक्षमा उभिने र बलजफ्ती गर्दा दुर्घटना हुने स्थिति देखाप¥यो । त्यसबाहेक विदेशीले उचालेर केपीलाई पदमुक्त गराउन खोजेको आरोप पनि प्रचण्डहरूले ब्यहोर्नुपर्‍यो । पार्टीको सबै तहमा आफू बहुमतमा र केपी अल्पमतमा परेको देखाउँदा पनि त्यसको कुनै असर देखा परेन । प्रचण्डसँगको सम्वादमा ‘तपाईंहरू (माधव, झलनाथ र प्रचण्ड) एकजुट हुँदा म अल्पमतमा पर्छु भन्ने जानकारी मलाई पहिले नै थियो, पार्टी एकीकरण तपाईं र म भएर गरेका हौँ, बहुमत-अल्पमतको कुरा गर्नुहुन्छ भने तपाईं आफ्नो निर्णय लिन स्वतन्त्र हुनुहुन्छ, मैले सक्ने जति म गर्नेछु’ भन्ने भनाइ केपीको सधैं रह्यो । तर्साउने, गलाउने र राजीनामा गराउने योजनामा रहनुभएका प्रचण्ड आफ्नो रणनीति सफल नहुने देखिएपछि केपीसँग ‘सक्ने जति लिएर’ सम्झौतामा जाने निचोडमा पुग्नुभएको थियो । दीपक भट्ट नामक एक ब्यापारीले गत साता बालुवाटारमा प्रधामन्त्री केपी ओलीसँग प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्मा प्रभाकरसहितको दिवाभोज आयोजना गरी ‘एकताको वातावरण’ बनाइदिएपछि केपी र प्रचण्डबीच सहमति हुने पक्कापक्की भएको थियो । दुई नेताबीच बनेको सहमतिलाई कार्यरूप दिनुअघि गत शनिबार साँझ (साउन ३ गते) प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपतिसमक्ष जानुभएको थियो । उहाँहरूसँगै शीतल निवासमा विष्णु पौडेल र जनार्दन शर्मा प्रभाकर पनि हुनुहुन्थ्यो ।

बालुवाटारमा विशेष दिवाभोज भएको पर्सिपल्ट गत बिहीबार (साउन १ गते) साँझ खुमलटारस्थित प्रचण्डको निवासस्थानमा सचिवालयका ६ सदस्यहरूको बैठक राखिएको थियो । बैठकमा वामदेव गौतमले ‘केपी कस्तो मान्छे हो भन्ने चिन्दै चिन्नुभएको छैन तपाईंहरूले, जबर्जस्ती गरियो भने पार्टी फुटाइदिन्छन्, पार्टी विभाजनको पीडा मैले पहिल्यै भोगिसकेको छु, अब त्यस्तो काममा म लाग्दिनँ’ भन्नुभएको बताइन्छ । वामदेवको त्यस्तो अभिव्यक्ति सुनेपछि वरिष्ठ नेता माधवकुमार नेपालले पनि ‘आफू पार्टी विभाजन हुने हदसम्म अघि बढ्न तयार नभएको’ स्पष्ट गर्नुभएको थियो । त्यसपछि झलनाथ खनालले ‘जेसुकै भए पनि केपीलाई एक मिनट पनि पदमा राख्न नहुने’ बताउनुभएपछि नारायणकाजी श्रेष्ठ केही भन्न लाग्दै हुनुहुन्थ्यो, प्रचण्डले हस्तक्षेप गर्नुभयो र, ‘आफू पनि पार्टी विभाजनको पक्षमा नरहेको’ बताउँदै ‘एक्स्ट्रिम’ सोचले राम्रो नगर्ने धारणा व्यक्त गर्नुभयो । त्यसअघि रामबहादुर थापा बादलले पनि पार्टीलाई विभाजन हुनबाट जोगाउनुपर्ने विचार प्रकट गर्नुभएको थियो । माधव नेपाल, वामदेव गौतम र रामबहादुर थापाको कुरा सुनिसकेपछि मात्र प्रचण्डले ‘एक्स्ट्रिम’ विचार राख्न नहुने भन्दै झलनाथ खनाललाई ‘ठण्डा’ गराउनुभएको बुझिएको छ ।

शक्तिशाली पार्टीको मुखिया हुने र मुलुकमा शासन गर्ने र इच्छाबाट प्रेरित प्रचण्ड सकेसम्म पार्टी फुटाउने पक्षमा नभएको बताइन्छ । केपीका विरुद्ध बहुमतका आधारमा पार्टीले बलजफ्ती निर्णय लिए नेकपा एमाले पुनर्गठन हुने निश्चित भएको र त्यस्तो अवस्थामा एमालेजति एकातिर तथा माओवादी अर्कोतिर हुने स्पष्ट भएकोले पनि प्रचण्ड वैकल्पिक उपाय अपनाउन बाध्य हुनुभएको बुझिन्छ ।

नेकपाका नेताहरूबीच वैचारिक एवम् सैद्धान्तिक मतभिन्नता नभएको र झगडाको सम्पूर्ण कारण ‘सत्ताको भागबण्डा’ मात्र भएकोले ‘लेनदेन’का आधारमा नेताहरू तत्काल ‘एकजुट’ हुने अवस्था पैदा भएको छ । प्रचण्ड पक्षले ‘केपीलाई छेउ परे धकेल्ने र कुना परे अचेट्ने’ नीति लिएको र अहिलेसम्म छेउ–कुना पारेर ‘सिध्याउन’ गरिएका प्रयास सफल हुन नसकेकोले पनि प्रचण्डहरू ‘रणनीतिक सहमति’मा आउनुपर्ने भएको हो । यसपटक केही लेनदेनमा सहमति बने पनि यसैलाई नेकपाको एकताले स्थायित्व प्राप्त गरेको भन्न मिल्ने अवस्थाचाहिँ छैन । एउटा पक्षले अर्को पक्षलाई पूरै परास्त गरेपछि मात्र नेकपामा शान्ति र स्थिरताको स्थिति पैदा हुन सक्ने सङ्केतहरू देखिएका छन् ।

हाल नेताहरूबीच भएको ‘युद्धविराम’ले अर्को तीन महिनासम्म स्थायित्व पाउने विश्वास गरिएको छैन । जसरी भए पनि केपीलाई हटाएरै छोड्नुपर्छ भन्नेहरूको सक्रियता अझै सिथिल भएको छैन । खासगरी नेताहरूलाई विभाजित गराएर अवसरको खोजी गर्नेहरूको सक्रियताका कारण नेकपाको एकता जोगिन मुस्किल हुँदै गएको छ ।