के गर्दै छन् देशका नेतृत्वकर्ताहरू ?

के गर्दै छन् देशका नेतृत्वकर्ताहरू ?


प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको एउटा भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ । उक्त भिडियोमा श्रीमती शाक्यको अभिव्यक्ति यस्तो छ– ‘… कहिले कहाँ मिटिङ कहिले कहाँ, उहाँहरू अनेक षड्यन्त्र गर्न बुढो शरीरलाई रात–दिन दौडाइरहनुभएको छ । उहाँहरूको यो दौडाइ देख्दा मलाई हाँसो पनि उठ्छ र दया पनि लाग्छ । बुढो दिमागलाई खियाएको खियायै गरिरहनुभएको छ, तर कुनै सिर्जनात्मक कामका लागि नभइ विनासको लागि उहाँहरू यसरी दौडादौडी गर्दै दिमाग खियाइरहनुभएको छ । उहाँहरूको दौडधुपअनुसार यदि जनतालाई राम्रो हुने भए त यो कुदाइको मतलव रहन्थ्यो, तर जनतालाई केही काम नलाग्ने गरी किन यसरी कुदिरहेका होलान् … ?’

प्रधानमन्त्रीपत्नी शाक्य सामान्यतया कतै खास बोलिने–सुनिने गरेकी पात्र होइनन् । आम नेपाली गृहणीजस्तै सिधासाधा वा साधारण रूपमा देखिँदै, जानिँदै–मानिँदै आएकी प्रमपत्नी अप्रत्यासित ढङ्गमा यसरी प्रस्तुत हुन पुगेकी छन् । र, उनको यस प्रस्तुति एवम् अभिव्यक्तिमा यस्तो स्वाभाविकता छ कि लाग्छ– देशभरका गृहणी महिला सबै यसरी नै प्रस्तुत भइरहेका छन् र यस्तै अभिव्यक्ति दिइरहेका छन् ।

प्रधानमन्त्रीपत्नीको ‘भाइरल’ अभिव्यक्तिको सन्दर्भकै क्रममा मुलुक अर्को विपत्तिको चपेटमा परेको छ । वर्षौंपछि यस वर्षको मनसुन तुलनात्मक रूपमा चर्को देखिएको छ । गत जेठको तेस्रो सातादेखि नै जागृत भएको मनसुनले यतिबेला रौद्र रूप धारण गर्न पुगेको छ । देशैभर वर्षाप्रदत्त बाढी र पहिरोका कारण विनास र विपत्ति निम्तिएका छन् । एक–डेढ महिना अवधिबीच बाढीकै कारण डेढ सयभन्दा धेरै नागरिकको ज्यान गइसकेको छ भने पहिरोमा पुरिएकाहरूको आँकडा पनि कम विष्मातलाग्दो छैन । जताततैबाट सडक, पुलपुलेसा बगेका खबर आइरहेका छन्, गाउँबस्ती नै पुरिएका, मानिसहरू विस्थापित भएका समाचार पनि जारी नै छन् । बाढी–पहिरो या प्राकृतिक प्रकोपकै कारण यतिका जनधनको क्षति पुग्नु वर्तमान कोरोना–कहरले ठहरै पारेको सन्दर्भबीच नेपालजस्तो मुलुकको निम्ति लरतरो क्षति होइन ।

अब पुनः फर्कौं प्रधानमन्त्रीपत्नीको अभिव्यक्तितर्फ । प्रमपत्नीको उल्लिखित अभिव्यक्ति र प्राकृतिक विपत्तिबीच के साइनो होला भन्ने जिज्ञासा पैदा हुन सक्छ, तर साइनो छ । कोरोनाको महामारीले सबै क्षेत्र बिथोलिदिएको परिवेशबीच उत्पन्न अर्को विपत्तिबीच प्रधानमन्त्रीका श्रीमतीबाट असाधारण रूपमा आएको गम्भीर अभिव्यक्तिबीच साइनो नहुने सवाल नै रहेन । किनकि, देश समस्यामाथि समस्याको भुँमरीमा परिरहेको छ तर नेतृत्वकर्ताहरू आपसी ‘षडयन्त्र’ या जनताको निम्ति कुनै उपयोगिता नरहने फजुलको दौडधुप गरिरहेका छन्, सत्ता–शक्ति हत्याउने खुराफातमा मग्न छन् ! के देशप्रति साँच्चै चिन्तित नेताहरू यस्तो विषम परिस्थितिबीच यस्तै अराजनीतिक गतिविधिमा रमाइरहन सक्छन् ? हो यही दुर्नियतितर्फ प्रधानमन्त्रीपत्नीको पनि इशारा थियो, जो आमनेपालीकै मनको कुरा पनि हो ।

केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म यतिबेला सयौँ ‘सरकार’हरू मुलुकमा ‘राज’ गरिरहेका छन् । अर्थात्, सरकार अब सिंहदरबारमा सीमित नरही स्थानीय घर–आँगनसम्म यत्रतत्र विस्तारित भएको छ । तर, वर्तमान सरकारी ओहदावालाहरूलाई रुख रोपेर कसरी पर्यावरण स्वस्थ तुल्याउने, प्राकृतिक विपत्तिबाट कसरी जोगिने भन्नेमा पटक्कै चिन्ता भएको देखिँदैन । बरु भएकै रुख काटेर पैसा कमाउने होडबाजी चलेको छ ।

सङ्घीय शासन प्रणालीले प्रदान गरेको यो ‘उदारता’को लाभ उठाउँदै स्थानीय सरकारका हर्ताकर्ताहरू जनतालाई विकासको दर्शन गराउन तँछाडमछाड गरिरहेका छन् । विकास–प्रदर्शनको मूल फण्डा बन्ने गरेको छ– डाँडाकाँडा जताततै ‘सडक’ निर्माण । जनप्रतिनिधिहरू आफैं निर्माण व्यवसायी, हेभी इक्युपमेन्टमा आफ्नै लगानी ! गाउँघरका साधारण पाखा–पखेरामा मात्र होइन, मै हुँ भन्ने इञ्जिनियरले समेत दिमाग पुऱ्याउन नसक्ने छङ्गाछुर पहाडीभित्तामा समेत सडकको नाप–नक्सा आफै गर्छन् ती, र अन्धाधुन्ध डोजर चलाउँछन् । यसरी अधिकांश विकास बजेटको सत्यानास गरिएको छ र गोजी भरिन्छन् उनै जनप्रतिनिधि र तिनका आसेपासेका । तर, जब यसरी वर्षायाम शुरु हुन्छ, सङ्घीय गणतान्त्रिक नेपालका जनप्रतिनिधिहरूले गरेका विकासका प्रतिफल पनि महाविपत्ति बनेर प्रकट हुन थाल्छ । अर्थात्, पहिरो र बाढीको प्रकोप ह्वात्तै देखिन्छ । हिउँदमा खोस्रिएका कथित सडक बगेर नदीनालामा पुग्छन्, साथमा लैजान्छन् निर्दोष जनताका घर–झिटी तिनका परिवारका सदस्यहरूको ज्यानसहित । प्रकोप रोक्न पहिले नै लागिपर्नुपर्ने हो राज्यका निकाय, लागेनन् ! विपत्ति निम्तिएको अवस्थामा पीडित जनतालाई राहत सहयोग प्रदान गर्ने दायित्व सरकारकै हो, तर मन्त्रीगणका अभिव्यक्तिमा सीमित छ राहत–व्यवस्थापन पनि । हो, तब त कहिल्यै यसरी अभिव्यक्त नभएकी प्रधानमन्त्रीपत्नीसमेत ‘विष्फोटक’ ढङ्गमा प्रस्तुत हुनुपरेको छ । यस्तोमा अब सवाल त उठ्छ नै– ‘हामी कहाँ छौँ, हाम्रो नेतृत्व कहाँ–के गर्दै छ ?’