राष्ट्रको खेर गएको समय

राष्ट्रको खेर गएको समय


■ बबिता बस्नेत

समयको निश्चित परिभाषा छैन । यही समय हो जहाँ हामी जन्मन्छौँ, समय नै हो जहाँ हामी हुर्किन्छौँ र आफ्नो जीवनका विविध पाटा बिताउछौँ । बाँचिरहेको पनि समय, मर्दै गरेको पनि समय, केही गरिरहेको पनि समय, केही नगरेको पनि समय । समयका बारेमा धेरैले धेरै कुरा भनेका छन् ।

महाभारत भन्छ– समय बलवान छ र गएपछि कहिल्यै फर्कंदैन । समय शक्तिशाली पनि छ । समयसँग चल्न सकेन भने समयले हामीलाई छोडेर आफै अघि बढिदिन्छ, र अन्ततः समयमा गर्नुपर्ने काम गर्न नसकेकोमा पश्चातापबाहेक अरु केही रहँदैन । मानिसको ब्यक्तिगत जीवनमा समयको महत्वबारे अनेक भनाइहरू छन् । उमेर बढ्दै गएपछि लाग्न थाल्छ– बीस वर्षअघिको समयमा आफू पुग्न पाए ? ब्यक्तिको जीवनमा समयको ख्याल गर्न नसक्दा सम्बन्धित ब्यक्ति या परिवारलाई मात्रै घाटा हुन्छ तर राष्ट्रको समय खेर जाँदा भने मुलुकवासी सबैको भविष्य जोडिएर आउने रहेछ । राष्ट्रकै विकास, मान–सम्मान जस्ता कुराहरूमा फरक पर्ने रहेछ । अहिले मुलुकमा भइरहेका घटनाक्रमलाई हेर्दा आवश्यक नेतृत्व नपाउँदा राष्ट्रको समय कसरी बर्बाद भइरहेको छ र यसको असर आमनागरिकमाथि कसरी परिरहेको छ भन्ने कुराले जो कोही सचेत नागरिकलाई दुखी बनाउछ ।

‘खेर गएको राष्ट्रको समय’ शीर्षकमा पङ्क्तिकारको यो दोश्रो लेख हो । पाँच वर्षअघि यही शीर्षकको लेखमा यस्तो लेखेको रहेछु– ‘यसबीचको समय केमा खर्च भयो भन्दा यस्ता कुरामा खर्च भयो जसको त्यस्तो ठुलो अर्थ यो मुलुकको इतिहासमा रहने छैन । अब ठिक होला, यसो गरे ठिक होला भन्दाभन्दै मुलुकको राजनीति झन्–झन् अप्ठ्यारो अवस्थामा पुगेको छ । जङ्गलबाट शहर पस्दा झण्डै बाघकै गर्जनमा देखिनुभएका प्रचण्ड करिव–करिव दाह्रा–नङ्ग्रा सबै उखेलिएको बाघको रूपमा पुग्नुभएको छ । ०६३ सालमा शान्ति सम्झौतापछि माओवादीहरू सार्वजनिक हुँदा नेता प्रचण्डको कपाल र जुँगा कालै थिए । बाबुराम डा. सा’बको मुहारमा अहिलेझैँ थकान देखिँदैनथ्यो । केपी ओलीको रोग पहिचान भएको थिएन, न त झलनाथ खनाललाई नै भिटामिन डीको कमीका कारण हुने रोगले छोएको थियो । सुशील कोइराला तन्दुरुस्तै देखिनुहुन्थ्यो, गिरिजाप्रसाद कोइरालाले यति चाँडै यो संसार छोडेर जानुहोला भन्ने ठानिएको थिएन । तर, यसबीचमा बिनाउपलब्धि हेर्दाहेर्दै सबैका कपाल सेता भए ।’

घरमा बाबुआमा झगडा गर्दा छोराछोरीको मानसिक अवस्थामा जुन असर पर्छ त्यस्तै असर नेताहरूको किचलोले जनतामा परिरहेको छ ।

पाँच वर्षअघि यी पङ्क्तिहरू लेख्दै गर्दा र अहिलेबीचको फरक के छ त भनेर हेर्दा नेता सुशील कोइरालाले यो संसार छोडिसक्नुभएको छ । राजनीतिक अस्थिरता, विकासलगायतका कुरामा मुलुक जहाँको त्यहीँ छ । नजाने अबको पाँच वर्षपछाडि को कहाँ पुग्नुहोला, पुगिएला यसै भन्न सकिन्न । मुलुकमा केही गरे पनि नगरे पनि समयले सधैं एकनासको परिस्थिति कायम राख्दैन । अढाई वर्षअघि केपी ओलीको नेतृत्वमा सरकार बन्दा मुलुकमा राजनीतिक स्थिरताको अपेक्षा गरिएको थियो । राजनीतिक अस्थिरताका कारण विगत लामो समयदेखि मुलुकमा हुन नसकेका कामहरू हुने विश्वास थियो । सबैभन्दा ठूलो अपेक्षा त मुलुकका विभिन्न ठाउँमा उद्योगहरूको स्थापना गरेर देशमै रोजगारी र आत्मनिर्भरतातर्फ अघि बढिएला भन्ने नै थियो । नेतृत्वले चाहेर राज्यले नीति बनाइ अघि बढ्ने हो भने त्यो ठूलो कुरा पनि थिएन । लाउने कपडा, जुत्तादेखि खाद्य सामाग्रीसम्म बाहिरबाट आइरहेको परिप्रेक्ष्यमा आफ्नै देशमा उत्पादनको सुरुवात गर्न पाए रोजगारी, आम्दानी, आत्मनिर्भरता सबै हुने थियो । तर यस्ता कुरा प्राथमिकतामा परेन । भ्रष्ट्राचार नियन्त्रण, सहज कर्मचारी प्रशासन, लगानीको वातावरण यो सरकारबाट अपेक्षा गरिएका प्रमुख कुरामध्ये हुन् । यी सबै कुरा कसरी अगाडी बढिरहेका छन्, जगजाहेर छ ।

अब त मुलुकमा राम्रो होला भनी पर्खंदापर्खंदै ‘नेताहरू मिले रे’ भनेको सुन्दा खुशी हुनुपर्ने अवस्थामा अहिले हामी आइपुगेका छौँ । घरमा बाबुआमा झगडा गर्दा छोराछोरीको मानसिक अवस्थामा जुन असर पर्छ त्यस्तै असर नेताहरूको किचलोले जनतामा परिरहेको छ । एकर्कालाई लगाएको आक्षेप सुन्दा–सुन्दा टेलिभिजनमा नेताहरूको अनुहार हेर्न नपरे पनि हुन्थ्यो भन्ने मानसिकता अधिकांशको देखिन्छ । कसले के भन्यो भनेर गाउँघरमा पँधेरातिर हुने मार्काका झगडामा मिडियामार्फत नेताहरूको जुहारी चलिरहेको छ । ती जुहारी देशका लागि होइन, आफ्नै राजनीतिक अस्तित्व र पदमा केन्द्रित छन् ।

यता गणनायोग्य काम गरेर मुलुकमा नयाँ तरङ्ग ल्याउनुहोला भन्ने अपेक्षा गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अनुत्तरदायी कुराहरू बोलेर तरङ्ग ल्याइरहनुभएको छ । ली क्वानले कसरी सिङ्गापुरलाई त्यस्तो बनाए ? मलेशियालाई यस्तो बनाउन महाथिरले के रणनीति अपनाए ? हाम्रा प्रधानमन्त्रीहरूको खोजीको विषय कहिल्यै बनेन । हामीले गाली गरेको ब्यवस्था पञ्चायतले मुलुकमा हेटौँडा कपडा, बाँसबारी जुत्तादेखि जनकपुर चुरोटसम्म केही महत्वपूर्ण उद्योगहरू स्थापना गरेको थियो । प्रजातन्त्र आएपछि तिनको नामोनिशान नहुने गरी मेटियो । मुलुकमा यस्तो मान्यता स्थापित गर्न खोजियो, खोजिँदै छ कि सत्तामा बसेकाले मुलुकका लागि केही गर्नु पर्दैन, बोले पुग्छ । नेताले केही गरेर भन्दा पनि कहिले बाँचे भनेर खुशी हुनुपर्ने, कहिले मिले भनेर खुशी हुनुपर्ने अवस्थामा हामी छौँ ।

देश बनाउनका लागि आत्मविश्वास मात्रै भएर पुग्दैन स्पष्टता आवश्यक हुन्छ । अहिलेको नेतृत्वमा आत्मविश्वास छ तर स्पष्टता छैन, देखिँदैन । सदगुरुको शब्दमा– ‘कन्फिडेन्स विद्आउट क्लारिटी इज अ डिजास्टर ।’

सीमित समयका लागि यो संसारमा हुनु मानिसको जिन्दगीको सबैभन्दा ठूलो सीमितता हो । जतिसुकै धन, मान, पद, अलङ्कार जे–जे भए पनि हामी वर्षौंवर्ष बाँच्न सक्दैनौँ । जति छौँ ती सबैले राज्यसत्तामा पुगेर केही गर्ने अवसर पाएका हुँदैनन् । सीमित मानिसहरूलाई त्यस्तो अवसर प्राप्त हुन्छ । जसलाई अवसर प्राप्त हुन्छ तिनले इमान्दारीपूर्वक काम गरेनन् भने उनीहरूको मात्रै समय बर्बाद हुँदैन राष्ट्रको समय बर्बाद हुन्छ । प्रधानमन्त्रीका रूपमा केपी ओलीको मुलुकप्रतिको नियत र इमान्दारीमा प्रश्न उठाउन नमिल्ला तर उहाँले जुन प्रकारले मुलुकको समय सदुपयोग गर्न सक्नु्हुन्थ्यो त्यो भइरहेको छैन । सायद उहाँ आफैले पनि यो कुराको आत्मसात गर्नुभएको होला ।

प्रायः जनताको समय आफ्नो गुजाराको लागि खर्च भइरहेको हुन्छ । तर नेतृत्वको समय भने राष्ट्रलाई अर्थपूर्ण बनाउनका लागि खर्च गर्नुपर्ने हुन्छ । मुलुकलाई योगदान दिँदादिँदै आफ्नो ब्यक्तिगत खुशी खोसियो भने त्यसलाई सामान्य मानिन्छ । तर आफ्नो ब्यक्तिगत खुशीका लागि मुलुकलाई बर्बादीतर्फ धकेल्न मिल्दैन, पाइँदैन । हरेक ब्यक्ति निदाएको बेला प्राणी मात्रै हो, जागरुक भएपछि मानिस हो र मानिसमध्ये दूरदृष्टि र स्वार्थरहित बनेपछि उ नेता हो । देश बनाउनका लागि आत्मविश्वास मात्रै भएर पुग्दैन स्पष्टता आवश्यक हुन्छ । अहिलेको नेतृत्वमा आत्मविश्वास छ तर स्पष्टता छैन, देखिँदैन । सदगुरुको शब्दमा– ‘कन्फिडेन्स विद्आउट क्लारिटी इज अ डिजास्टर ।’