सुकिला प्रचण्डको मैलो आक्रोश-बबिता बस्नेत

सुकिला प्रचण्डको मैलो आक्रोश-बबिता बस्नेत


एक हप्ता लामो आमहडताल समाप्तिको घोषणासँगै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजधानी सहरवासी र विभिन्न पेसाकर्मी तथा व्यवसायीहरूप्रति भयङ्कर आक्रोश पोख्नुभएको छ । आमहडतालका बेला ‘सहरवासी’ले सहयोग नगरेको र पेशागत व्यवसायीहरूले माओवादीलाई साथ नदिएको भन्दै उहाँले यसबीचमा कसले के भन्यो र के लेख्यो आफूले हिसाब-किताब राखेर बसेको पनि बताउनुभयो । राजधानीका विभिन्न स्थानमा स्थानीयवासीद्वारा भएका प्रतिकारका घटनालाई उहाँले गुण्डाहरूको हमलाको संज्ञा दिनुभयो भने विभिन्न पेशा तथा व्यवसायीहरूलाई सुकिला लुगा लगाउने ‘गैरजिम्मेवार’ । बुद्धिजीवी र मिडियालाई लक्षित गर्दै धेरैपल्ट मजैले गाली गर्नुभयो । त्यसकै परिणाम हो शायद सिंहदरबार घेराउका क्रममा समाचार सङ्कलन गर्न गएका पत्रकारहाई उहाँका कार्यकर्ताले मौखिक दुर्व्यवहार मात्र गरेनन्, कुटपिटसमेत गरे । उहाँको आक्रोशपूर्ण भाषणलाई ‘जनता’ले निर्देशनका रूपमा ग्रहण गर्दै भोलिपल्टदेखि नै पत्रकारमाथि कुटपिट गरेर व्यवहारमा ‘शालीनता’ प्रस्तुत गरे । माओवादी नेताहरूका दृष्टिमा उहाँहरूका समर्थक मात्रै जनता हुन् र अरू सबै गुण्डा र भिजिलान्ते । अध्यक्ष कामरेडले भन्नुभो- काठमाडौंमा एउटा घर बनाएर, सुकिला लुगा लगाएर हिँड्दैमा जनतालाई हेप्ने, अपमान गर्नेÒ खै के-के के-के !! खुल्ला मञ्चमा त्यति धेरै मानिस र सारा मिडियाका अगाडि उहाँले प्रस्तुत गर्नुपर्ने राष्ट्रप्रति संवेदनशील एजेण्डा शायद अरू नै हुन सक्थे । एउटा प्रतिपक्षी दलको नेताको हैसियतमा सनसनीपूर्ण तरिकाले उहाँको परिभाषामा परेका ‘जनता’ र जनताको परिभाषाभित्र नपरेका करोडौं मानिसको ध्यान खिच्नका लागि प्राप्त एउटा अत्यन्तै महत्त्वपूर्ण फोरम उहाँले राजधानीवासी, बुद्धिजीवी र पेसाकर्मी तथा व्यवसायीहरूलाई गाली गरेर बिताउनुभयो । गालीको भाषा शायद उहाँका कार्यकर्ताकै लागि पनि त्यति सहज थिएन त्यसैले गालीमा खासै ताली पनि आएन । अनिश्चितकालीन भनेर गरिएको आमहडताल बिनाउपलब्धि बीचैमा फिर्ता लिनुपर्ने कारण सुन्न इच्छुक दर्शक तथा श्रोताहरूले बिनातर्कको अनावश्यक गाली सुनेर समय गुजारे ।
नेकपा माओवादी शान्तिप्रक्रियामा आउँदा असाध्यै ‘रोमान्टिसाइज’ तरिकाले प्रस्तुत गरी मिडियाले हिंसात्मक गतिविधिलाई उचाइमा राखेर ठूलो गल्ती गरेको थियो भन्ने कुराको बोध अहिले आएर मिडियाकर्मीहरूलाई भएको छ । त्यतिबेला यसरी प्रस्तुत गरियो मानौँ मिडियामा हदैसम्मको स्थान प्राप्त गर्नका लागि हतियार नै उठाउनुपथ्र्यो र त्यो सहास माओवादीले गरेर ठूलो बहादुरी गरेको थियो । प्रचण्डले गत शनिबार खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘कसले के लेख्यो हामी हिसाब-किताब गरेर बसेका छौं ।’ कुनै पनि कुराको आलोचना या समर्थन विषयवस्तुले निर्धारण गर्छ र व्यक्तिको सवालमा उसले निर्वाह गर्ने भूमिकामा भर पर्छ । यसपटक माओवादीले गरेको आमहडताल कस्तो थियो, कति मान्छे थिए भन्दा पनि किन थियो, के उद्देश्यले गरिएको थियो त्योचाहिँ महत्त्वपूर्ण कुरा हो । विभिन्न उद्देश्यले विगतमा हामीकहाँ धेरैपटक आन्दोलनहरू भए तर आफ्नो नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने माग राखेर गरिएको यसप्रकारको आन्दोलन भने यो पहिलो थियो । राष्ट्रका लागि, स्वतन्त्रताका लागि भएका आन्दोलनमा झैं यस आन्दोलनमा सबै जनताको समर्थन नहुनुको एक मात्र कारण पनि यसको उद्देश्य नै हो । अन्य जनआन्दोलनको झैं विशाल उद्देश्य नरहेकाले नाम मात्र तेस्रो जनआन्दोलन राखेर त्यहीअनुरूपको परिणाम खोज्नु माओवादीको आफूप्रतिको भ्रम मात्रै थियो । एउटा पार्टीले सत्ताका लागि गरेको आन्दोलनलाई महत्त्वका साथ प्रत्यक्ष प्रसारण गरेर मिडियाले यसपल्ट ठूलो गल्ती गरेको छ ।
माओवादी आन्दोलनको प्रतिकार गर्ने कुनै भिजिलान्ते या गुण्डाहरू नभएर नितान्त सर्वसाधारण थिए भन्ने कुरा उनीहरूका कुराकानी र प्रतिकारको तौरतरिकाबाट प्रस्ट हुँदाहुँदै पनि अध्यक्ष प्रचण्ड र अन्य नेताहरूले जसरी गाली-गलौज गर्नुभो त्यसबाट उहाँहरूको प्रतिष्ठामा ठूलो क्षति पुर्‍याएको छ । विभिन्न पेसाकर्मी बुद्धिजीवी र उद्योगी-व्यवसायीलाई गरिएको गालीले प्रचण्डको कद एकाएक घटाएको मात्र छैन, उहाँप्रतिको दृष्टिकोणलाई नै बदलिदिएको छ । । पेसाकर्मीहरू सुकिला लुगा लगाएर हिँड्नुमा उनीहरूको दु:ख र मिहिनेत सँगसँगै गाँसिएको छ । उनीहरूले कसैलाई लुटेर, चन्दा मागेर, अरूलाई धम्क्याएर सुकिला लुगा लगाएका होइनन् । वकिल होस् या पत्रकार, परामर्शदाता वा उद्योगी कुनै पनि पेसाकर्मीको दिन कतिबेला घाम लाग्यो र कति बेला बादल लाग्यो थाहा नपाईकन बित्ने गर्छ । रातदिन पसिना बगाएर आफ्नो मिहिनेतले कसैले घर बनाउँछ, गाडी चढ्छ र सुकिलो लुगा लगाएर हिँड्छ भने दु:खअनुसारको उसको सफलतामा खुसी व्यक्त गर्नुपर्छ । कहिलेकाहीँ दु:ख गर्दागर्दै पनि, पसिना बगाउँदाबगाउँदै पनि छाक टार्न र जीवन धान्न धौधौ पर्न सक्छ त्यस्तो बेलामा खुसी हुनुभन्दा कसरी जीवनस्तर उकास्ने भन्नेबारेमा चिन्तित हुनु स्वाभाविक मानिन्छ । व्यवसायी र पेसाकर्मीहरूले लगाएको सुकिलो लुगाभित्र जोडिएको मिहिनेतको शृङ्खला र बगाएको मिहिनेतको पसिनाको अदृश्य कथा प्रचण्डको सोचभन्दा फरक छ । राजनीतिकर्मीको जस्तो बिहान-बेलुका गफै मात्र गरेर पेसाकर्मीको परिवारमा चुल्हो बल्दैन । राजनीतिकर्मीलाई झैं आफू र आफ्नो परिवारलाई प्रयोग गर्नका लागि कतैबाट फुत्त ड्राइभर र पेट्रोलसहितको गाडी व्यवसायीहरूलाई आउँदैन । उनीहरूले ती सब गर्नका लागि पसिना नै बगाउनुपर्छ । पेसाकर्मीहरू कहीँ गएर सित्तैमा एक छाक खान पाउँदैनन् पैसै तिर्नुपर्छ । तर, राजनीतिक कार्यकर्ताहरू हजारौँको सङ्ख्यामै किन नहुन् अरूबाटै पालिन सक्छन् । हामीकहाँ हँदै आएको आश्चर्यजनक केही कुरामध्ये एउटाचाहिँ कतिपय राजनीतिकर्मीहरूको जीवनशैली पनि हो । साप्ताहिक, मासिक या वारि्षक कुनै आम्दानी नहुने राजनीतिकर्मीको जीवनशैली वारि्षक राम्रै आम्दानी हुनेहरूको भन्दा कैयन गुणा माथि देखिन्छ । बिनाकाम र आम्दानीमै उनीहरूको परिवार चलेको मात्रै हँदैन आमनेपालीको त के कुरा राम्रै आम्दानी गर्ने व्यवसायीको भन्दा माथिकै देखिन्छ । तर पनि राजनीतिकर्मीहरूलाई कुनै व्यवसायी या पेसाकर्मीले अहिलेसम्म प्रश्न गरेको छैन कि ‘तपाईं यस्तो गाडी चढ्नुहुन्छ, तपार्इंका छोराछोरीको जीवनशैली त्यत्तिकै असाधारण छ, तपाईंले लगाउने लुगा, घडी, जुत्तालगायत अन्य सामान र खानेकुरा, परिवार, इष्टमित्र, कार्यकर्ता र आफ्नो खर्च यो सारा कहाँबाट आइरहेको छ ? पुख्र्यौली सम्पत्ति पनि त्यति देखिँदैन, घरमा कमाउने कुनै सदस्य छैन, जीवनशैली निकै उच्च छ, तपाईंको आम्दानीको स्रोत के हो नेताज्यू ?’