को हुन् फत्तेजङ्ग शाह ?

को हुन् फत्तेजङ्ग शाह ?


रणजङ्ग पाँडेलाई पदमुक्त गरेपछि राजा राजेन्द्रविक्रम शाहले चौतारिया फत्तेजङ्ग शाहलाई मुख्तियार पदमा नियुक्त गरे । यस मन्त्रिमण्डलमा गुरूप्रसाद शाह, रङ्गनाथ पौडेल, चौतारिया पुष्कर शाह, दलभन्जन पाँडे, कालु शाही आदि सामेल गराइएका थिए । रणजङ्ग पाँडेलाई पदमुक्त गरेपछि जेठी रानी साम्राज्यलक्ष्मीदेवी अत्यन्तै रिसाएकी थिइन् । यिनी रणजङ्ग पाँडेको सहयोग लिएर राजा राजेन्द्रविक्रम शाहलाई राजगद्दीबाट निकाली आफ्नो छोरा सुरेन्द्रलाई राजा बनाउन चाहन्थिन् । तर रणजङ्गलाई पदच्यूत गरेपछि क्रोधित बनेकी यिनी भारत जाने भनी हिँडिन् । तर बाटैमा बिरामी परिन् । हेटौँडाबाट रानीलाई बिरामी हालतमा काठमाडौं ल्याइयो । पशुपति आर्यघाटमा सन् १८४० अक्टुबर ६ मा यिनको निधन भयो ।

जेठी रानीको मृत्युपछि पाँडेहरूको शक्ति कमजोर हुन थाल्यो भने कान्छी रानी राज्यलक्ष्मीदेवी क्रमशः शक्तिशाली बन्न थालिन् । राजा राजेन्द्रविक्रम शाहकी जेठी महारानी साम्राज्यलक्ष्मीदेवी तर्फबाट सुरेन्द्रविक्रम शाह र उपेन्द्रविक्रम शाह तथा कान्छी महारानी राज्यलक्ष्मीदेवी तर्फबाट रणेन्द्रविक्रम शाह र वीरेन्द्रविक्रम शाह गरी चार छोराहरू थिए । उत्तराधिकारीको नियमअनुसार जेठा छोरा सुरेन्द्रविक्रम शाह नै राजाको शेषपछि राजगद्दीको उत्तराधिकारी थिए । तर जेठी महारानीको मृत्युपछि शक्तिशाली बनेकी कान्छी महारानी त्यस नियमलाई मिचेर आफ्ना छोरा रणेन्द्रविक्रम शाहलाई राजगद्दीको उत्तराधिकारी बनाउन चाहन्थिन् ।

यता आफ्नी मुमाको मृत्युपश्चात् युवराज सुरेन्द्रविक्रमले ठूलो उत्पात मच्चाउन थाले । बटुवाहरूलाई हात्तीको खुट्टामा बाँधी घिसार्न लगाउने, कर्मचारीहरूलाई ध्वाँसो दली गधाको पिठ्युँमा चढाइ सहर घुमाउने इत्यादि उटपट्याङ कार्यहरू उनका मनोरञ्जनका दैनिकी बन्न थाले । यही मौका छोपी कान्छी रानीले सम्पूर्ण भारदरहरूलाई युवराज सुरेन्द्रको उपद्रोको सम्बन्धमा राजासमक्ष उजुरी गर्नका लागि उचाल्न थालिन् । परिणामस्वरूप ६ डिसेम्बर १८४२ मा चौतारिया फत्तेजङ्ग शाहको नेतृत्वमा ६७५ जनाको भारदारीसभाले देशको अवस्था सुधार गर्ने र युवराजको उपद्रोमाथि नियन्त्रण गर्ने सम्बन्धमा एउटा मागपत्र तयार पाऱ्यो । राजा राजेन्द्रले त्यस मागपत्रलाई ग्रहण गरे । यथार्थमा राजा राजेन्द्र केही अधिकार आफ्नो हातमा र केही युवराज सुरेन्द्रको हातमा सुम्पन चाहन्थे तर राज्यका प्रायः सबै भारदारहरू कान्छी रानीका पक्षमा थिए । त्यसैले बहुमतका अगाडि बाध्य भएर राजा राजेन्द्रविक्रम शाहले एउटा घोषणा जारी गर्दै राजकाजसम्बन्धी सम्पूर्ण अधिकार कान्छी रानीलाई सुम्पिदिए ।

जेठी रानी र राजाका लागि पाँडे खलक र चौतरियाहरू अत्यन्तै प्यारा थिए भने कान्छी रानी थापा खलकलाई मन पराउँथिन् । अब त कान्छी रानीको हातमा राज्यको सम्पूर्ण अधिकार आइसकेको थियो । आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउनेबाहेक उनको अरू कुनै अभीष्ट थिएन । तर आफू स्वयम्बाट यो कार्य सम्पन्न हुन नसक्ने देखेपछि सिमलामा प्रवासी जीवन बिताइरहेका भीमसेन थापाका भतिजा माथवरसिंह थापालाई झिकाई प्रधानमन्त्री बनाएर उनैमार्फत् आफ्नो इच्छा पूरा गर्ने योजना बनाइन् । माथवरसिंह थापा अप्रिल १७,१८४३ मा काठमाडौं आइपुगे तर आफ्ना काका भीमसेन थापामाथि थोपरिएको अपराधको छानबिन, सत्य–तथ्य सार्वजनिक र दोषीलाई कारबाहीको माग पूरा भएपछि मात्र माथवरसिंह थापाले प्रधानमन्त्री पद स्वीकार गर्न राजी भए । तत्पश्चात् आफ्ना सम्पूर्ण दुस्मनहरूसँग मीठो बदला लिएर सन् १८४३ को डिसेम्बर २५ मा उनी नेपालको मिनिष्टर एण्ड कमान्डर इन चिफ बनाइए । तर कान्छी रानीले आफ्नो छोरो रणेन्द्रलाई उनीमार्फत् राजा बनाउन असम्भव देखेपछि विभिन्न षड्यन्त्रको तानाबुना बुन्न थालिन् । अन्ततः भानिज जङ्गबहादुर कुँवरलाई प्रयोग गरी २७ मे, १८४५ का दिन माथवरसिंह थापाको हत्या गरियो ।

माथवरसिंह थापा मारिएपछि पुनः फत्तेजङ्ग शाहलाई सेप्टेम्बर २३, १८४५ मा मुलुकको प्रधानमन्त्री नियुक्त गरियो । तर उनी सत्ता राजनीतिको खतरनाक खेल कोतपर्वको जालमा परे । दोस्रो पटक प्रधानमन्त्री बनेका फत्तेजङ्ग शाहको पनि हत्या भयो ।

(‘नेपालका प्रधानमन्त्री’बाट)