दोषी राजेश हमाल ?

दोषी राजेश हमाल ?


  • राजन घिमिरे

राजेश हमालले कुन दिन वा कुन समारोहमा आफूलाई ‘महानायक’को रूपमा प्रस्तुत गरे ? आफ्नो नाम लेख्दा मेरो नामको अगाडि महानायक लेख भनेर कुन मिडियालाई थर्काए ? या म महानायक हो, मलाई महानायककै रूपमा सबैले कदर गर्नुपर्छ भन्दै दम्भ देखाएर कुन दिन उभिए ? कसैले उदाहरण दिन सक्छ ? सक्दैन । किनकि उनी महानायक उनको स्वघोषणा होइन, उनलाई मन पराउने प्रशंसक र चाहनेहरूले हमाललाई दिएको सम्मान हो ।

राजेश तीन दशकदेखि निरन्तर रूपमा चलचित्रकर्ममा लागि नै रहेका छन् । उनको यो यात्रा रोकिएको छैन र, हामी कामना गर्दछौँ कि कहिले नरोकियोस् पनि । यो यात्राको क्रममा उनको खिल्ली उडाउने, उनलाई वदनाम गर्न वा उनको उपस्थितिप्रति असहमति जनाउने पक्ष वा चलचित्रकर्मीहरूको सङ्ख्या पनि बाक्लै थियो । हमालसँगै एउटै सिनेमामा काम गरेर उनकै पछाडि कुरा काट्नेहरूको जमातको लाइन लामै थियो । तर, पनि कसैप्रति उनको सोच र ब्यवहार नकारात्मक भएन ।

यही र यस्तै ब्यबहारका कारण पनि राजेश हमालले आफ्नो उचाई उच्च बनाए । अरूको बारेमा टीका–टिप्पणी गर्नुभन्दा बरू प्रतिक्रिया नै नदिने उनको यही गजबको शैली र रिजर्भ बस्ने संस्कारले नै उनलाई शालीन, भद्र र सभ्य कलाकारको रूपमा नेपाली चलचित्र क्षेत्रमा स्थापित गरायो ।

नेपाली चलचित्र क्षेत्रको ब्याबसायिक बजारलाई बिस्तार गर्ने मामिलामा अन्य कलाकारहरू जस्तै राजेशको पनि योगदान र भूमिका कम रहेन । जीवनमा अरू क्षेत्र वा बिधाहरूमा लागेर मालामाल हुने थुप्रै अवसरहरू पनि हमालको पोल्टामा नआएका होइनन्, तर पनि चलचित्रकर्म नै उनको पहिलो रोजाइमा पर्यो र उनि लागि नै रहे । चलचित्रकर्ममा राजेशले पाएको उचाई र वाहवाहीलाई केही थोरै चलचित्रकर्मीहरूले इन्कार गरेता पनि दर्शकहरूको साथ र हमालले दर्शकहरू माझ छोडेको क्रेजले नै हो उनी महानायक भएको ।

यसमा न त चलचित्रकर्मीहरूको हात छ न त चलचित्रकर्मीहरूको हो र होइन भन्ने कुराले अर्थ नै राख्ने छ । राजेश स्वयम्ले कहिले पनि आफूलाई महानायकको रूपमा घोषणा गरेको सुनिएको छैन । एक सिनेमासम्बन्धी कार्यक्रम र नेपाल चलचित्र प्राविधिक सङ्घले कार्यक्रमको आयोजना गरेर हमाललाई महानायक घोषणा गरेको तथ्य एकातिर ज्यूँकात्यू छ भने सबैभन्दा ठूलो कुरा त दर्शकहरूले नै प्रमाणित गरिसकेका छन् ।

राजेश हमाललाई दर्शकहरूले महानायक बनाउँदा वा सम्बोधन गर्दा कहाँनेर हमालको दोष देखिन्छ ? उनी आफैले कहिले म महानायक हो भनेर फलाकेर हिँडेका छन् त ? कि सामाजिक सन्जालमा आफूलाई महानायक होइन भन्नेलाई गाली गर्नु भनेर उनले भन्नै लगाए ? यसमा हमालको कहाँ कमजोरी छ ।

अहिले त बजारमा उनले नै आफूलाई महानायकको रूपमा स्थापित गर्न क्याम्पेन चलाएजस्तो गरेर पो हल्ला पिटाइएको छ । उनलाई दर्शकहरूले महानायक भनेर सम्बोधन गरिरहँदा उनको यो महानायकको कुरालाई लिएर चलचित्रकर्मीहरू बीच चलेको तर्कवितर्क अनि क्रिया–प्रतिक्रियाले खासै अर्थ राख्छ जस्तो लाग्दैन । भनिन्छ नि चुनावमा जनताको भोट र चलचित्रकर्मीहरूलाई दर्शकहरूको साथ– यिनै हुन् न्यायाधीश । जबसम्म चुनावमा जनताको भोट र चलचित्र कलाकारहरूलाई दर्शकहरूको साथ मिल्छ तबसम्म कसैले उसको बारेमा तर्कवितर्क गरेर टाउको फुटाए पनि केही हुनेवाला छैन, देखिँदैन पनि ।