प्रचण्डको चौथो प्रयास पनि ‘असफल’

प्रचण्डको चौथो प्रयास पनि ‘असफल’


प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउन प्रचण्डले गरेको चौथो प्रयास पनि तत्कालका लागि असफल भएको छ । यसअघि गत वर्षको असार–श्रावण, मंसिर र गत चैत–वैशाखमा पनि केपीलाई पदमुक्त गराउने प्रयास भएको थियो । माधवकुमार नेपाललाई आफ्नो पक्षमा मिलाएपछि प्रचण्ड निकै उत्साहका साथ सरकार परिवर्तनको गृहकार्यमा जुट्नुभएको थियो । गत वर्षको असारमा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई विश्वासमा लिन सफल भएपछि आफू प्रधानमन्त्री बन्ने, माधव नेपाललाई एउटा अध्यक्षको जिम्मेवारी दिने, झलनाथ खनाललाई राष्ट्रपति बनाउने र वामदेव गौतमलाई उपयुक्त समयमा प्रधानमन्त्री या पार्टीअध्यक्ष बनाउने ‘सहमति’का साथ प्रचण्ड सरकारको नेतृत्व बदल्न कस्सिनुभएको थियो । केपी ओलीले प्रचण्डको चाल बुझेर रातारात ‘काउण्टर एट्याक’ शुरु गरेर अन्त्यमा घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाइदिएपछि प्रचण्डको पहिलो योजना असफल भएको थियो ।

त्यसपछि मंसिरमा पनि प्रचण्डले सरकार बदल्ने प्रयास गर्नुभएको थियो । सचिवालयबाट प्रधानमन्त्रीलाई राजिनामा दिन निर्देशन दिने, स्थायी समिति र केन्द्रिय समितिबाट पनि केपीलाई हटाउन निर्णय लिने र राजीनामा नदिए संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर पदमूक्त गर्ने तयारी प्रचण्डको थियो । आन्तरिक द्वन्द्व चर्किंदै गएको त्यस स्थितिमा केपी स्वास्थ्यका दृष्टिले पनि थप कमजोर बन्नुभएको थियो । अन्त्यमा प्रचण्डलाई ‘सभामुख र कार्यकारी अध्यक्ष’ दिएर केपी आफ्नो प्रतिरक्षा गर्न दोस्रो पटक सफल हुनुभएको थियो ।

सभामुखमा अग्नि सापकोटाको चयन भएपछि पनि प्रचण्ड केपीलाई पदमुक्त गराउने खेलामा निरन्तर लागिरहनु भएको थियो । मन्त्री मण्डलबाट गोकुल बास्कोटा हट्ने परिस्थिति बनाउन प्रचण्डको मूख्य भूमिका थियो र गोकुललाई हटाएपछि केपी थप रक्षात्मक हुने विश्वासमा प्रचण्ड हुनुहुन्थ्यो । प्रधानमन्त्री बदल्ने गृहकार्य भित्रभित्रै चलिरहँदा केपी ओली दुई पटकसम्म गम्भीर प्रकृतिको शल्यक्रिया गराउन अस्पताल भर्ना हुनुभएको थियो । यसरी केपी ओली अस्पताल भर्ना हुनाले पनि सरकार बदल्ने प्रचण्डको योजनालाई बाधा पुऱ्याइरहेको थियो । दोस्रो पटकको मृगौला प्रत्यारोपणसमेत सफल भएर केपी काममा फर्कनुभएपछि प्रचण्डको धैर्य टुटेको र त्यसपछि संसदीय दलमा बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउने तयारी गर्नुभएको थियो ।

एक वर्षभित्र प्रचण्ड चौथो पटक असफल हुनुभएको छ, केपीलाई हटाउन अब अर्को पटक कहिले प्रचण्डको तयारी हुने हो सो यकिन गर्न सकिँदैन । तर अर्को तीन महिना बित्दानबित्दै प्रचण्ड केपीका विरुद्ध पुनः सक्रिय हुने निश्चित छ । यसरी केपीको कार्यकाल प्रचण्डबाट आफ्नो सरकारको रक्षा गर्दागर्दै बित्ने खतरा बढेको छ ।

माधव नेपालको साथ लिएर आफूलाई हटाउन प्रचण्डबाट निर्णायक प्रयास भइरहेको जानकारी केपीले पाउनुभएपछि उहाँ नेकपाको एमाले कित्तालाई एकजुट बनाउने, तत्कालिक राष्ट्रिय जनता पार्टी (१७ सांसदसहितको) लाई सरकारमा सहभागी गराउने र बहिर्गमनका निम्ति प्रचण्डलाई सजिलो बनाइदिन अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी संशोधित कानून जारी गर्ने कार्ययोजना बनाउन लागिपर्नुभएको थियो । त्यसैक्रममा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन भएर आउने एघार सांसदहरूलाई आफ्नो समर्थनमा ल्याउने योजना पनि केपीले बनाउनुभएको थियो । तर राजपालाई सरकारमा सहभागी गराउने र समाजवादी पार्टीका सम्भावित विभाजित सांसदको समर्थन प्राप्त गर्ने योजना कार्यान्वयन हुन सकेन ।

गत वैशाखमा भएको एउटा सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर प्रतिकुल परिस्थितिलाई केपीले अनुकुल बनाइदिनुभएपछि प्रचण्डको योजना केही साताका निम्ति बिथोलियो, तर प्रचण्डले केपीलाई पदमुक्त गर्ने इच्छा र योजना परित्याग गर्नुभएको थिएन । भड्किएका वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र माधवकुमार नेपालको साथ लिएर सरकार बदल्ने खेल भइरहँदा केपीले लिम्पियाधुरा क्षेत्र समेटिएको ‘नयाँ’ नक्सा जारी गरेपछि केपीलाई हटाउने खेल केही साताको लागि पुनः स्थगित गर्न प्रचण्ड बाध्य हुनुभएको थियो । आफ्नो पक्षमा जनसमर्थन बढेको र प्रचण्डहरू रक्षात्मक अवस्थामा पुगेको मौका पारेर केपी ओली पार्टी स्थायी समितिको बैठक बोलाउन तयार हुनुभएको थियो । चालु स्थायी समितिको बैठकबाट नै आफ्नोविरुद्ध निर्णय हुने ‘षडयन्त्र’को सुइँको पाएपछि प्रधानमन्त्री ओली कुनै पनि जोखिम उठाउने तर पार्टीअध्यक्ष र प्रधानमन्त्री पद परित्याग नगर्ने दृढ अठोटका साथ प्रस्तुत हुनुभयो ।

बैठक चल्दाचल्दै निर्वाचन आयोगमा उदाउँदो सूर्य चुनाव चिह्नसहितको नेकपा एमाले पार्टी दर्ता भयो । प्रचण्डका हातमा पार्टी सुम्पिनुभन्दा नेकपा एमालेको पुनर्गठन गरेर अघि बढ्नु नै उपयुक्त हुने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको र सोहीअनुरुपको गृहकार्यसमेत शुरु गर्नुभएको सूचनाहरू चुहिन थालेपछि नेकपाको युवापुस्ताका नेताहरू पार्टीएकताको निम्ति सक्रिय भए र नेताहरूमाथि सोहीअनुरुपको दबाब पर्न थाल्यो । यसैबीच चिनियाँ राजदूतले पनि नेकपा नेताहरूको घर–घरमा पुगेर पार्टीएकताको पक्षमा वातावरण बनाउन थालिन् । पार्टी विभाजन हुने तर प्रधानमन्त्री ओलीले निर्वाचित कुनै पनि पद नछोड्ने र त्यस्तो स्थितिमा काङ्ग्रेससँग केपीको सत्ता गठबन्धन बन्ने स्थिति देखिएकोले प्रचण्ड केपीसँग सक्नेजति लिएर पछि हट्ने मानसिकतामा पुग्नुभएको छ । स्थायी समितिका चार सदस्य सम्मिलित कार्यदलले जस्तोसुकै प्रतिवेदन दिए पनि केपी र प्रचण्डबीच अध्यक्ष तथा प्रधानमन्त्रीको पदबाहेकका विषयमा ‘गिभ एण्ड टेक’ गरी सहमति बन्ने सम्भावना बढेको छ ।

यसरी, प्रचण्डको जालबाट केपी ओली एकपटक फेरि उम्कने परिस्थिति बनेको छ, तर प्रचण्डप्रति केपी विश्वस्त रहने र सरकार बदल्ने आफ्नो योजना सधैंका लागि प्रचण्डले परित्याग गर्ने अवस्था बनेर दुई नेताबीच सहमति हुन लागेको चाहिँ होइन । दुबैले एकअर्कालाई सिध्याउन नसक्ने भएकोले मात्र ‘सहमति’ खोज्न उहाँहरू बाध्य हुनुभएको हो । एक वर्षभित्र प्रचण्ड चौथो पटक असफल हुनुभएको छ, केपीलाई हटाउन अब अर्को पटक कहिले प्रचण्डको तयारी हुने हो सो यकिन गर्न सकिँदैन । तर अर्को तीन महिना बित्दानबित्दै प्रचण्ड केपीका विरुद्ध पुनः सक्रिय हुने निश्चित छ । यसरी केपीको कार्यकाल प्रचण्डबाट आफ्नो सरकारको रक्षा गर्दागर्दै बित्ने खतरा बढेको छ ।