नेपाली राष्ट्रिय काङ्ग्रेसको प्रथम महाधिवेशनमा सभापतिको मन्तव्य

नेपाली राष्ट्रिय काङ्ग्रेसको प्रथम महाधिवेशनमा सभापतिको मन्तव्य


साथी हो,
हाम्रो यस सभाले जति कुरामा विचार गर्नुपर्ने थियो, तपाईंहरू सन्मुख विभिन्न प्रस्तावका र सबै उपस्थित भइसके र तपाईंहरूले तिनीहरूमाथि आफ्नो स्वीकृति पनि दिइसक्नुभयो । वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अङ्ग रहेको देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र छ ।

भारतलाई दासताको जुवा बोकाउने ब्रिटिस शासनले सन् १८५७ को भारतीय जनक्रान्तिपछि हिन्दुस्तानमा उसको राज्य केवल फुटले मात्र कायम हुन सक्छ भन्ने अनुभव गऱ्यो । यसको प्रत्यक्ष दृष्टान्त ब्रिटेनले नेपाली र शिखहरूको सहायताबाट त्यस महान् आन्दोलनलाई विफल पार्न सक्नु थियो । त्यस आन्दोलनबाट ब्रिटिस राजनीतिज्ञहरूले शिक्षा लिएर ब्रिटिस राज्यमा भारतका साना–साना राज्यलाई गाभ्ने आफ्नो नीति छाडे । त्यसको परिणाम के भयो भने आजसम्म पनि हाम्रा साथी नेपालीहरू भारतवर्षका आफ्नै दाजुभाइहरूको स्वतन्त्रताको बाटोमा मूढो तेस्र्याउँदै छन्, उनीहरूमाथि शत्रुझैँ गोली चलाउँदै छन् । आफ्नै देशका दुई थरी दाजुभाइले मारकाट गर्नु र त्यसबाट विदेशीले लाभ लिनु लज्जाको कुरो हो ।

नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, बरू यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठूलो स्वार्थसिद्ध हुन्छ । भनौँ, यसैमा उनीहरूको अस्तित्व कायम रहन्छ । उनीहरूले भारतभन्दा भिन्न घोषित गरेर नै अशिक्षा र अज्ञानतामा राखिएका आफ्ना सोझा प्रजालाई मूर्ख बनाउँदै भारतवर्षमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट अलग राख्न र त्यसको बाधक बनाउन पनि सक्छन् । यसरी अलग हुँदा नेपालका प्रजा पनि उत्तरोत्तर बलवान् हुँदै गइरहेका आफ्ना भारतीय दाजु–भाइ, दिदी–बहिनीहरूको सहयोग र सहायताबाट वञ्चित हुनेछन् ।

तर, हामी त्यति सजिलै ठगिने छैनौँ । ज्ञानको प्रखर ज्योतिले हाम्रा आँखा पनि बिस्तारो–बिस्तारो उघ्रन लागेका छन् । हामीहरूलाई यति चाँडै यतिका सहयोगी प्राप्त हुन् त्यसैको प्रमाण हो । हामील अब अझै सङ्गठित भएर–

१. नेपालमा अहिंसात्मक साधनद्वारा जनताको सहयोगले उत्तरदायी शासनको स्थापना गर्ने र,

२. भारतीय स्वतन्त्रता–सङ्ग्राममा पनि पूर्ण सहयोग दिने आफ्नो संस्थाका यी उद्देश्यलाई प्रत्येक नपाली दाजु–भाइ, दिदी–बहिनीको कानसम्म पुऱ्याएर उनीहरूको सहानुभूति र सहयोग प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ । किनभने, जनताको राज्य स्थापित गर्नका लागि जनताकै सहायता चाहिन्छ । यो काम सम्पन्न गर्न लुकेर वा गुप्त सङ्गठनद्वारा त्यति सजिलो हुँदैन । नेपाल प्रजापरिषद्को विफलता र भारतमा क्रान्तिकारी दलको असफलताले यो कुरा सिद्ध गरिसकेको छ । म मान्दछु, नेपालको वर्तमान शासनप्रणाली शिथिल भइसकेको छ । सुधारवादीहरूको साधारणभन्दा साधारण कामले पनि अपराधी शासकहरू तर्सन्छन् र उनीहरूलाई बलपूर्वक हटाउन गाह्रो छैन । तर, त्यस अवस्थामा मात्र यो काम सफल हुनसक्छ, जब ब्रिटिस शक्ति आफ्ना सहायक यी कठपुतली शासकहरूको सहायताका लागि जनतालाई दमन गर्न तोप र तरबार लिएर हाजिर हुने छैन । यही कारणले हामीले भारतमा ब्रिटिस शासनको अन्त्य गर्नका निमित्त भारतीय स्वतन्त्रता–सङ्ग्रामलाई पनि पूर्ण सहयोग दिने’ उद्देश्य राख्नु आवश्यक भएको हो । यसका अतिरिक्त एउटै उद्देश्य लिएर अग्रसर हुँदा भारत र नेपालका साथीहरूलाई पारस्परिक सहायताले पनि निकै बल दिनेछ र जर्जर भइसकेको ब्रिटिस शासनको नास अझ छिटो गरिदिनेछ । निःसन्देह, यो काम अखिल भारतीय काङ्ग्रेस महासभाले लिएको अहिंसाको साधनबाटै हुनेछ । त्यसको अभेद्य शक्ति, सुरक्षित प्रयोग र स्थायी प्रभाव कसैको दृष्टिबाट लुकेको छैन ।

हाम्रा वर्तमान शासकहरूले ‘हाम्रो देश नेपाल त अझै स्वतन्त्र छ’ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्षण यही हो ? यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रता छैन, हिँड्ने स्वतन्त्रता छैन, विचार गर्ने स्वतन्त्रता छैन, रूने–हाँस्ने स्वतन्त्रता छैन । जनताको मान, इज्जत, जीवन, परिवार, धन, यश केही सुरक्षित छैन ।

स्वेच्छाचारी शासक वर्गको मर्जी र हुकुमको अगाडि सबै निरीह छन् । यहाँ कानुन भनेको केही पनि होइन, केवल प्रभुको हुकुम मात्र ठूलो कुरा हो । यो स्वतन्त्रता हो कि स्वतन्त्रताको उपहास ? जापान र टर्की पनि नेपालजत्रै राष्ट्र हुन् । तर, नेपाल र उनीहरूमा तुलना गर्नै मिल्दैन । उनीहरूभन्दा हामीहरू कुनै कुरामा हीन थियौँ ? तर, किन हाम्रो यस्तो अवस्था छ ? प्रजालाई स्वतन्त्रताको धोकामा राख्ने नेपालका शासकहरूले यसको उत्तर दिऊन् । हामीहरूले निकै पछि चेत्यौँ । संसार हामीभन्दा निकै अगाडि बढिसक्यो, उसलाई हामीहरूले दगुरेर भेट्टाउनुपऱ्यो । अब हामीसँग गँड्यौलाको चालले बामे सर्ने समय छैन । नेपाल सरकारले नगरपालिका र अरू त्यस्तै साधारण विभागमा काम गर्ने आफ्ना चाकरियालाई ‘जनताका प्रतिनिधि हुन्’ भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभई कदापि सन्तुष्ट हुन सक्दैनौँ । नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भने अझै बढी हानी हुनुभन्दा पहिले नै शुद्ध मनले तुरून्तै यस काममा तत्परता देखाओस् ।

यस सम्बन्धमा म एउटा कुरा अझ स्पष्ट पार्न चाहन्छु । हाम्रो कुनै वर्ग वा सम्प्रदायसित कदापि शत्रुता छैन । नेपालमा बस्ने वा उससँग कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु–भाइ हुन् । देशको उपकार र उन्नति नै हाम्रो अभीष्ट र लक्ष्य हो । हामी केवल निरङ्कुश स्वेच्छाचारी शासनप्रणालीका विरोधी हौँ । त्यसकारण कुनै वर्गविशेषले हामीबाट व्यक्तिगत अनिष्ट हुने आशङ्का गर्नु उचित छैन । हाम्रा निमित्त सबैको सहायता ग्राह्य छ र हामी पनि जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबैको सहायक बन्नेछौँ । सम्पूर्ण राष्ट्रको उन्नति र अभ्युदयका लागि नै हामी प्रयत्नशील रहेका छौँ ।

समय थोरै छ, काम ठूलो छ । यसकारण नेपाल राष्ट्रका प्रत्येक दाजु–भाइ, दिदीबहिनीसित यस संस्थाका कुनै सदस्यले व्यक्तिगत रूपमा पुगेर सहयोग र सहायताका लागि प्रार्थना गर्ने बाटो नपर्खी स्वयं नै हामीलाई सहायता गर्न उपस्थित हुनका लागि नेपाली राष्ट्रिय काङ्ग्रेसका तर्फबाट मेरो नम्र निवेदन छ । उनीहरूबाट सहायता प्राप्त गर्ने नै हाम्रो प्रयत्न हो । त्यसकारण उनीहरूले आफ्नो यो संस्थामा अविलम्ब स्वयं आएर यसलाई आफ्नो सहयोग दिँदै यसको शक्ति बढाउनुपर्छ । नेपालमा कनै प्रकारको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध भएका स्त्री–पुरूष यस संस्थाका सदस्य, प्रतिनिधि वा पदाधिकारी बन्न सक्छन् । तसर्थ, यस संस्थाको प्रारम्भ गर्न जनताबाट जस्तो उत्साहजनक सहयोग हामीलाई प्राप्त भयो, त्यो उत्तरोत्तर बढ्दै जानेछ र हामीलाई उत्साह, सहयोग र धनसम्बन्धी सहायताको अभाव कहिल्यै हुने छैन भन्ने आशा मात्र होइन, विश्वास पनि छ ।

‘दाताहरूको सहायतामा नेपाली भाषामै हाम्रो एउटा साप्ताहिक पत्रिका काशीबाट प्रकाशित हुने भएको छ’ भन्ने सूचना दिँदा मलाई हर्ष लागेको छ । यसद्वारा हामीहरू आफ्नो सन्देश, कार्यक्रमको सूचना र आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक विचारहरू आफ्ना दाजु–भाइ, दिदी–बहिनीहरूसम्म अति शीघ्र र सुगमतापूर्वक पुऱ्याउन सक्नेछौँ । यसबीच, हाम्रा सन्देशहरू स–साना पुस्तिका तथा बुलेटिनमार्फत् प्रचारित हुनेछन् । तिनीहरू सुगमतापूर्वक र छिटो प्राप्त गर्नका निमित्त हामीलाई विशेष चन्दास्वरूप कम्तीमा पाँच रूपैयाँका साथ आफ्नो ठेगाना अपेक्षित छ ।

मलाई आदरपूर्वक सभापति बनाएबापत तपाईंहरूलाई पुनः धन्यवाद दिन्छु ।
बन्देमातरम् !

(उद्घाटन भाषण : १९४७, जनवरी २६)
स्रोत : प्रदिप गिरि

विश्वश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख (२०६६)