नयाँ पुस्ताको सोच कसरी यस्तो भयो ?

नयाँ पुस्ताको सोच कसरी यस्तो भयो ?


■ बबिता बस्नेत

दुई वर्षअघि न्युरोडबाट सार्वजनिक यातायातमा जावलाखेलतर्फ जाँदै गर्दा उन्नाइस–बीस वर्षकी किशोरीले फोनमा भनेको सुनेँ– ‘यसको कार छ, त्यसको मोटरसाइकल, कारवाला हुँदाहुँदै मोटरसाइकलवालासँग के विवाह गर्नु ?’ त्यतिबेला अहिलेजस्तो कोरोना–परिस्थिति नभए पनि मास्क लगाएको अनुहार पछाडि फर्काएर आफ्नो छोराको उमेरकी उनलाई आश्चार्यजनक भावमा हेरेँ । मास्क नलाएकी उनी बेपर्वाह फोनमा कुरा गरिरहेकी थिइन्, ‘ए…मैले त्यसलाई हुन्न भन्दिसकेँ । हेर त, त्यो जाबो सरिताकी काकाकी छोरीले त कारवालासँग विवाह गरी, म त्यस्तो मान्छेसँग बिहे गरुँला त ? मैले नाइँ भनी सकेँ, तर पछि लागेकोलाग्यै छ ।’

उनको सोच देखेर अचम्म लाग्यो । एक त हामी जसरी यात्रा गरिरहेका थियौँ माइक्रो बस त्यस प्रकारका कुरा गर्नका लागि उपयुक्त ठाउँ थिएन । फोन राखेपछि उनलाई भनेँ– ‘बैनी, तपाइँ मलाई चिन्नुहुन्न, म पनि तपाइँलाई चिन्दिनँ । तर तपाइँले अहिले फोनमा गरेको कुराकानी सुनेर मलाई नरमाइलो लाग्यो । तपाइँ र तपाइँजस्ता केटीहरूले कार चढ्ने मान्छे खोज्ने होइन, आफू कसरी कार चढ्ने हुन सक्छु भनेर सोच्ने पो हो । त्यहीअनुसारको काम र मेहेनत गर्ने हो । सबै कुरामा सफल नै भइन्छ भन्ने छैन तर कोशिस त गर्नुपऱ्यो नि ।’ उनी एक शब्द बोलिनन्, उनी गाडीमै थिइन्, म जाउलाखेलमा ओर्लिएँ । सार्वजनिक यातायात भनेको सार्वजनिक स्थल हो । त्यस्तो ठाउँमा कसैको ब्यक्तिगत कुराकानीमा हस्तक्षेप गर्नु सभ्य कुरा अवश्य थिएन तर नगरेको भए पनि हुन्थ्यो जस्तो पनि लागेन । नयाँ पुस्ताकी युवाले त्यस्तो सोच राख्दा नरमाइलो लाग्यो ।

केटा या केटी साथी वा जीवनसाथी र जीवनबीच गहिरो सम्बन्ध भए पनि त्यस्ता कुरा जीवनको एउटा सानो अंश मात्र हो भनेर युवा पुस्तालाई कसरी सम्झाउने ?

केही दिनअघि फरक–फरक ठाउँ र समयमा तीन जना युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरे । ती सबैका पछाडि कुनै न कुनै रूपमा केटा साथीसँगको सम्बन्ध कारण देखियो । विगतमा छोरी पढाउने चलन थिएन । अलि पछि छोरीले पढ्न त पाए तर उक्त पढाईको उद्देश्य विवाह गरिदिन सजिलो हुन्छ भन्ने जस्तो थियो । त्यसैबीच कतिले सङ्घर्ष गरेर आफ्नो खुट्टामा उभिए, आत्मनिर्भर बने । कतिले पढाई सकेर विवाह गरे र प्रमाणपत्र दराजमा थन्काए । सहाना प्रधान, अंगुरबाबा जोशी, चाँदनी जोशीहरूले आत्मनिर्भरता र विवाहलाई सँगसँगै अघि बढाए । महिलाको आफ्नै पहिचान र कमाई हुन्छ, त्यसले आफ्नो छुट्टै अस्तित्वलाई जोगाउन मद्दत गर्छ भन्ने मूल्य–मान्यता स्थापित गर्न त्यो पुस्ताले सकेको कोशिस गऱ्यो । जसको जगमा उभिएर हाम्रो पुस्ता हिँडिरहेको छ । अहिलेको पुस्तालाई बाबुआमाले पढाएका छन्, तिमीहरू आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने सन्देश दिनेहरूको कमी छैन । हाम्रो पुस्ताको हुर्काइभन्दा अहिलेको परिवेश फरक छ । छोरीहरूलाई ‘तिमी अर्काको घर जानुपर्छ, तिमीले घर रिझाएर खानुपर्छ’ मात्र भनिँदैन । तर पनि केटासाथीसँगको सम्बन्धमा तलमाथि हुनासाथ आत्महत्या गर्ने सोच राख्छन् भने हाम्रा बच्चाहरूको हुर्काइमा त्रुटी कहाँ भइरहेको छ ? सोच्नैपर्ने बेला भएको छ ।

रुकुम घटनालाई हेर्दा हामीलाई सन्तान हुर्काउनभन्दा हुर्किसकेपछि बचाउन ठुलो चुनौती देखिन्छ । सानो छउन्जेल अनेक हण्डर खाएर हुर्काएका नवराजका बाबुआमाले ठुलो भएपछि आफ्नो छोरो बचाउन सकेनन् । साथमा अन्य युवाहरू जसको नवराजसँगै देहान्त भयो, उनीहरूका बाबुआमाको पनि नसोचेको तवरबाट संसार अध्यारो भयो । यता, सन्तानकै कारण मल्लपरिवार र गाउँलेहरू जेलमा छन् । केटा या केटी साथी वा जीवनसाथी र जीवनबीच गहिरो सम्बन्ध भए पनि त्यस्ता कुरा जीवनको एउटा सानो अंश मात्र हो भनेर युवा पुस्तालाई कसरी सम्झाउने ? शारीरिक हर्मोनका कारण उत्पन्न हुने आकर्षण र जीवनका विविध पाटाहरूलाई स्पष्ट हुने खालको विषयबस्तु हाम्रा बच्चाहरूले प्राप्त गर्ने शिक्षामा कसरी सामेल गर्ने ? अहिले विकसित हुँदै गएका घटनाहरूले ठुलो चुनौती खडा गरिदिएका छन् । अहिलेका लागि अविभावकको मात्रै समस्या झैँ देखिए पनि प्रविधि र सामाजिक सञ्जालका कारण भोलिका दिनमा यो राज्यकै समस्या बन्ने निश्चित छ । घर–परिवार र समाज मात्र होइन भोली देश सम्हाल्ने पुस्ता पनि यही हो ।

विगतमा राज्यको विभिन्न ओहदामा बसेर अनुभव हासिल गरिसकेका कतिपय मानिसले पनि सामाजिक सञ्जालमार्फत समाजलाई गलत निर्देश गरिरहेको देखिन्छ । नयाँ पुस्तालाई दोष दिएर मात्र पनि हुँदैन, पुरानो पुस्ताले के सिकाइरहेको छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।

सामाजिक सञ्जाल अहिले मानिसहरूले सम्वाद गर्ने, आफ्ना कुरा राख्ने सबैभन्दा सहज माध्यम हो । यसको प्रयोग देशब्यापी रूपमा बढ्दो छ । एकार्काले गरेका कामको प्रशंसा, गाली जे गर्नुपर्ने हो सामाजिक सञ्जालबाटै गरिन्छ । हिजोआज दोसल्ला ओढाउन कुनै विशेष मञ्च चाहिँदैन न त कसैलाई निर्वस्त्र बनाउन धृतराष्ट्रको नेतृत्वमा चलिरहेको भारी सभा नै चाहिन्छ । यी सबै कामका लागि सामाजिक सञ्जाल काफी छन् । सामाजिक सञ्जालमा के सकुनी, के दुशासन, को युधिश्ठिर, बिदुर, द्रोपदी या कुन्ति अलिकति तलमाथि भयो कि ती सबैको बस्त्र उतार्न मानिसहरू तल्लिन भएका देखिन्छन् । नयाँ पुस्तालाई दुशासन र भीष्म पितामहबीचको फरक कसले बुझाएको छ र ? भन्ने तर्क यदि कसैले गऱ्यो भने त्यो पनि जायज हुन सक्ला । यस प्रकारको शिक्षाको पहल गरिदिए राम्रो हो तर यदि कसैले गरेनन् भने पनि ज्ञानको अथाह भण्डारमा के खोज्ने, के पाउने, के हासिल गर्ने, के पन्छाउने ? हाम्रै हातमा छ ।

हालै महानायक काण्डमा चलचित्र क्षेत्रभित्र र बाहिरबाट बर्सिएको अस्वस्थ गाली र टीका–टिप्पणी हेर्दा हामी कुन संसारमा छौँ ? भनेर आफूले आफैलाई प्रश्न गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ जस्तो लाग्छ । जुनसुकै स्थानमा होस् हामीले प्रयोग गर्ने भाषा, प्रस्तुति र शैलीले हामीभित्रको सोच र मूल्य–मान्यतालाई उजागर गरिरहेको हुन्छ । युवाको मात्र कुरा होइन विगतमा राज्यको विभिन्न ओहदामा बसेर अनुभव हासिल गरिसकेका कतिपय मानिसले पनि सामाजिक सञ्जालमार्फत समाजलाई गलत निर्देश गरिरहेको देखिन्छ । नयाँ पुस्तालाई दोष दिएर मात्र पनि हुँदैन, पुरानो पुस्ताले के सिकाइरहेको छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । जोश, जाँगर, विचार भएको नयाँ पुस्ताले आफ्नो सपनालाई ब्यवहारमा लागु गर्न पाएको छैन । सायद त्यो फ्रष्ट्रेसन सामाजिक सञ्जालमा पोखिएको पनि हुन सक्छ । हो, हाम्रो जस्तो राजनीतिक स्थिरता र दुरदृष्टिवाला नेतृत्व नभएको मुलुकमा जिन्दगीका फ्रष्ट्रेसनहरू धेरै छन् । तर जिन्दगीको लक्ष्य कम्तिमा आफूले आफैलाई धान्ने, सम्हाल्ने र सके अरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने नसके अरुलाई दुख नदिने हुनुपर्छ ।