सार्वजनिक सेवामा उत्रियो मयुर यातायात

सार्वजनिक सेवामा उत्रियो मयुर यातायात


यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपछि पछिल्लो चरणमा चर्चामा आएको मयुर यातायात प्रालिले सार्वजनिक बस सेवा शुरु गरेको छ ।

सोमबार (२९ असार) देखि तीन वटा बसबाट सेवा शुरु गरिएको सो प्रालिले जनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि मयुरले बस चलाउन थालेको हो ।

यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले जानकारी दिए । पहिलो दिनमा काठमाडौं–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । भण्डारीका अनुसार मयुरले आगामी दिनमा अरु बस थप्ने योजनासमेत बनाएको छ ।

मङ्गलबार र बुधबारदेखि अरु बस थप्दै जाने मयुरले जनाएको छ ।