जिन्दगीलाई निरन्तरता दिने अठोट

जिन्दगीलाई निरन्तरता दिने अठोट


■ देवप्रकाश त्रिपाठी

आज पनि निराकारलाई नै निदाले पहिले छोड्यो । उनी बिस्तारै उठिन् । नित्यकर्मपछि अभ्यस्तलाई उठाएर कामका लागि तयार हुन भनिन् । फर्सीका बाँकी टुक्राहरू खाँदै उनीहरू पुनः उत्खननतिर लागे । हिजोको उत्खनन्मा औजारहरू फेला परेकोले आज उनीहरूलाई धेरै सजिलो भएको थियो । केही क्षणमै उनीहरूले घरायसी प्रयोजनमा आउने अनेकौँ वस्तुहरू फेला पारे । खन्ने क्रम जारी थियो । औजार चलाउँदा माटोले छोपिएको फलाममा गएर बज्रियो र आगोको झिल्का निस्कियो । अनि बिस्तारै माटो पन्छाएर हेर्दा त्यो फलामको ठूलो सन्दुक या दराज हुनुपर्छ भन्ने अनुमान उनीहरूले गरे । चारैतिरको माटो पन्छाएर त्यसलाई मुस्किलले निकाले । सन्दुक रहेछ, त्यसमा लागेको ताला त्यहीँ प्राप्त घनले हानेर फुटाए । प्लास्टिकका प्याकेटभित्र थरी–थरीका कपडा, सुनचाँदी र गहनाहरू भेटिए ।

वर्षापछि उनीहरूले नयाँ वस्त्र पहिरन पाउने भए । एउटा सामान्य घरका लागि आवश्यक पर्ने धेरैजसो सामग्री उनीहरूले यो उत्खनन्मा प्राप्त गरे । यतिसम्म कि घर बनाउँदा प्रयोग भएका अग्राखका काठहरूसमेत अर्को घर बनाउन पुग्ने मात्रामा थियो । अब त्यहाँ भएका सामग्रीहरू कसरी आफ्नो वासस्थान भएसम्म पुऱ्याउने र घरलाई अलिक कसरी पक्की रूप दिने भन्ने उनीहरूको प्रमुख चिन्ताको विषय बन्यो । पहिले औजार र सन्दुक लैजाने, त्यसपछि बाँकी सबै सामान क्रमशः लैजाने निर्णय उनीहरूको भयो ।

हरेक दिन खानेकुराको खोजी र त्यसपछि सामग्री ओसार्ने काम कैयन दिनसम्म चलिरह्यो । एक महिनाको अन्तरालमा उनीहरूले उत्खनन्मा प्राप्त सबै सामग्री वासस्थानमा पुऱ्याए । तिनै सामानबाट आफ्नो झोपडीलाई अलिक पक्की रूप दिने काम पनि उनीहरूले गरे । अब खेती गर्न शुरू गर्ने इच्छा निराकारमा पलायो । तर, अन्नको बोटबिरूवा कहीँ देखापरिरहेको थिएन । उत्खनन्को स्थानमा फेलापरेका लहरे तरकारीका बिरूवा ल्याएर घरछेउकै सानो बारीमा सार्ने काम भने उनले गरिन् ।

जिन्दगीलाई अलिक व्यवस्थित गर्ने कार्य प्रारम्भ भएको थियो । अब टाढा–टाढा जङ्गल र विकट क्षेत्रसम्म जाने र आवश्यक नयाँ–नयाँ वस्तुहरूको खोजी गर्ने कामलाई उनीहरूले मुख्य दैनिकी बनाउन थालेका थिए । यसरी घुम्दा जिउँदो मानिस भेटिने झिनो आशा पनि उनीहरूभित्र नभएको होइन, तर त्योभन्दा ठूलो कुराचाहिँ अन्नको बिउ वा बिरूवा कसरी प्राप्त गर्ने भन्ने नै उनीहरूको मुख्य आशाको विषय थियो ।

महिनौँ पश्चिमतिर धाउँदा पनि खाद्यान्नको बिउ–बिरूवा पाउन नसकेपछि उनीहरू पूर्वतिर लाग्न थाले ।

पूर्वतिर एकै दिनको हिँडाइमा समुद्र भेटियो, बीच बाटोमा कतै केही भेटिएन । उनीहरू समुद्रको किनारैकिनार उत्तरपूर्वतर्फ लागे । डेढ दिनको बाटो हिँडेपछि एउटा रमाइलो ठाउँमा पुगे । जहाँ धान, मकै र गहुँका बोटहरू यत्रतत्र उम्रिएका भेटिए । एकरात त्यहीँ बसेर भोलिपल्ट अन्नका केही बिरूवाहरूसहित उनीहरू आफ्नो वासस्थान फर्किए । घरछेउकै बारी, जहाँ उनीहरूले नजिकैको झरनाबाट कुलो बनाई पानी ल्याएर अन्नको बिरुवा रोपे । केही समयपछि नै उनीहरूको जीवनले नयाँ मोड लिने स्थिति बन्यो । घाँसपातका कलिलो मुना र खोलाको माछा मात्र खाएर बस्नुपर्ने अवस्थाको निकट भविष्यमा नै अन्त्य हुँदैछ भन्ने विश्वास उनीहरू दुवैलाई भइरहेको थियो ।

सुन्दर भूमिमा एउटा सुन्दर घर, घरको आँगनमा उभिएर हेर्दा स्वर्गको छेउमै पुगे जस्तो लाग्ने दृश्य, अनि भावी जीवनलाई व्यवस्थित गर्ने सुन्दर अनेकौँ योजनाका साथ निराकार र अभ्यस्त क्रियाशील हुन थाले । उनीहरू दुवै जनालाई झस्काउने कुनै सम्झना छ भने उही प्रलयकै क्षणका दृश्यहरू । त्यसपछि कहिलेकाहीँ प्रलयले भन्दा पनि एउटा अर्को प्रश्नले उनीहरूलाई नराम्रोसँग तर्साउने गर्छ– ‘मानवजीवनलाई धर्तीमा निरन्तरता दिने या नदिने ?’ जति–जति समय जाँदो छ, जति उमेर ढल्कँदो छ, त्यति–त्यति यो प्रश्नले निराकारलाई सताउन थालेको छ । मानवजीवनको निरन्तरता रहोस्, उनी यो चाहन्छिन्, तर मूल्य भङ्ग नहोस्, यो पनि उनको प्रतिबद्धता छ । मूल्य भङ्ग नगरी मानवजीवनको सम्भावना देखिएको छैन, यो कार्य नै प्रलयभन्दा ठूलो त्रासदीपूर्ण हुने ठान्छिन् उनी । मानवजीवनको समाप्ति वा मूल्य भङ्ग दुईमा एउटा विकल्प रोज्नैपर्छ निराकार र अभ्यस्तले । मूल्य कायम गर्ने निर्णयलाई निरन्तरता दिइरहे पनि कालान्तरमा ‘निराकारले मूल्य तोडिनन् भनेर स्मरण गरिदिने यो धर्तीमा कोही हुने छैनन् भन्ने कुरा उनलाई थाहा नभएको होइन । तर, नयाँ समाज सिर्जना गर्ने दायित्व पाएकी निराकार पुरानो समाजले बनाएको रीतिस्थिति र मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्ध छिन् । उनमा कुनै विचलन आएको छैन । धर्तीको रूप पूरै बदलिएको छ, तर निराकारको सोच र संस्कारमा कुनै फेरबदल आएको छैन । नासिएको समाजको त्रासले जबर्जस्ती बास गरेको उनको मन–मस्तिष्कमा ।

उता अभ्यस्तचाहिँ दुई कुराबाट पीडित छ । ऊ मनमा केवल दुई कुरा मात्रै खेलाइरहने गर्छ । एउटा उमेरजन्य आवश्यकताका कुरा अर्को आमाको देहावसानपछि आफू एक्लिने र आफ्नो शेषपछि पृथ्वी मानवरहित बन्ने कुरा । उसको मनमा कहिले उमेरजन्य कमजोरीले प्रभाव पार्ने गर्छ त कहिले मानवजीवनको निरन्तरताको प्रश्नले । कहिले त ऊ यतिसम्म सोच्छ कि ‘यो आइमाई मेरी आमा नै भन्ने के ग्यारेन्टी छ !’ तर, आमा नमान्नका लागि पनि ऊसँग कुनै प्रमाण हुँदैनन् । त्यसैले आमा नै हुन् भन्ने मान्न बाध्य हुन्छ ।

एक साँझ । हातमा औजार लिएर निराकार घरवरिपरिको सानो बगैंचामा रोपिएका फूलहरू गोडमेल गर्दै थिइन् । अभ्यस्तचाहिँ आँगनको डिलैमा बसेर उनले काम गरेको हेर्दै थियो । अभ्यस्तले मुख खोले– ‘आमा !’

‘किन अभ्यस्त ?!’

‘यो सब सिर्जना, यी सब दुःख केका लागि गर्दै हुनुहुन्छ तपाई ?’

‘भविष्यका लागि ।’

‘तपाईंको भविष्य नै के छ र ? एक दिन पृथ्वी मानवरहित हुनेछ । तपाईंले यत्रो दुःखका साथ सिर्जना गर्नुभएका यी कुनै पनि कुराले कसैको संरक्षण पाउने छैनन् । यी फूलहरू फुल्नेछन्, फलहरू फल्नेछन् तर तिनको परख गर्ने कोही हुने छैनन् । मानवरहित पृथ्वीमा यिनको महत्व र गरिमा बुझिदिने को हुन्छन् र ?’

निराकार आफ्नो हातमा रहेको कुटो केही पर सार्दै उभिइन् र भनिन्, ‘जबसम्म हामी हुन्छौँ, तबसम्मको जिन्दगी त खुसीसाथ नै बाँच्नुपऱ्यो नि ! भविष्यमा मरिन्छ भनेर अहिल्यैदेखि भोकै बस्नु पनि त भएन । तिमीलाई एउटा कुरा मैले बताउनुपर्ला ।’

‘के आमा ? कुन कुरा ?’

‘डायनोसरको कुरा ।’

‘हो, मलाई यसको बारेमा केही भन्नुभएको छैन ।’

‘कुनै समय पृथ्वीमा डायनोसरहरूको साम्राज्य थियो । हजारौँ, लाखौँ वर्षसम्म पृथ्वीमा जहाँतहीँ उनीहरूकै मात्र राज छायो । अन्य प्राणीहरू सबै निरीह थिए डायनोसरको तुलनामा । ती आकारमा पनि साना–ठूला सबैखाले थिए । कुनै–कुनै त अति भयङ्कर नै हुन्थे । मानिसहरूको साम्राज्य छाउने बेलासम्ममा पृथ्वीमा कहीँ–कतै डाइनोसरको अस्तित्व थिएन, सम्पूर्ण रूपमा नामेट भइसकेको थियो ।

‘डाइनोसर पनि मान्छेजत्तिकै बुद्धिमान थियो कि ?’

‘थिएन । उनीहरू कसरी नष्ट भए थाहा हुन सकेन । वैज्ञानिकहरूले खानेकुराको अभावका कारणले उनीहरू लोप भएको अनुमान गरेका थिए । कुनै प्राकृतिक विपत्तिका कारण प्रलय भएर लोप भएको पनि हुन सक्छ । डाइनोसरको बारेमा प्रलय हुनुअघिसम्म मानिसहरू खोजबिन गर्दै पनि थिए ।’

‘अनि के भयो त ?’

‘म बताउँदै छु । जतिबेला पृथ्वीमा डाइनोसरको रजगज थियो, त्यतिबेला मानिसजस्ता प्राणीहरू भविष्यमा देखा पर्लान् भन्ने कसैलाई पनि लागेको थिएन । त्यस्तै पृथ्वीबाट मानिसको अस्तित्व लोप भएपछि पनि यहाँ मानिसभन्दा उन्नत या राम्रा प्राणीको उत्पत्ति हुन सक्दैन भन्ने के छ र ?’

‘होइन आमा, परिस्थितिले नै लोप हुनु एउटा कुरा हो, आफ्नो अस्तित्व रक्षाका लागि अन्तिम प्रयास गर्नु पनि त प्राणीको स्वाभाविक धर्म हो नि ।’

‘त्यसो भए के गर्नुपऱ्यो त ?’– निराकारले सोझो प्रश्न गरिन् ।

‘म तपाईंलाई यस विषयमा गम्भीरतापूर्वक सोचेर निर्णय लिइदिन आग्रह मात्रै गर्न सक्छु ।’

‘ठीकै छ त, मैले गम्भीरतापूर्वक सोचेर नै यस विषयमा निर्णय लिइसकेकी छु ।’

‘हामी अब पृथ्वीमा मानव–जीवनका अन्तिम अवशेष हौँ ?’

‘यो सत्य हो ।’

‘त्यसो भए त्यही दिन, जुन दिन प्रलयको आखिरी दिन थियो, त्यसैबेला हामीले मृत्युसँग सम्झौता गरेनौँ । बाँचेर के नै गर्नुपर्ने रहेछ त हामीले ?’

‘त्यतिबेला त अरू कोही पनि बाँचेका छन् कि भन्ने लागेको थियो ।’

‘ठीक छ, अब त तपाईंलाई पक्का भइसक्यो, पृथ्वीमा हामी मात्र छौँ । अब गरौँ न त मृत्युवरण । यस्तो कष्टसाथ आगामी केही वर्ष बाँच्नु र अहिले नै मृत्युवरण गर्नुका बीच कुनै तात्विक या गुणात्मक अन्तर छैन । मात्रात्मक अन्तरले के नै फरक पार्ने हो र ?’

‘तिम्रा कुरा ठीकै हुन् बाबु अभ्यस्त, म पनि सोचौँला यस विषयमा । तर, तिमीले मात्रात्मक अन्तरको बारेमा जुन धारणा व्यक्त गऱ्यौ त्योचाहिँ गलत हो । मात्रात्मक अन्तरले गुणात्मक परिणामलाई प्रभावित गर्छ भन्ने कुरा तिमीले बुझ्न जरूरी छ ।’

‘मात्राले के फरक पार्छ आमा ? हामी अब पचास वर्ष बाँचे हामीले केही थाल बढी खानेकुरा खान्छौँ, केही रात बढी सुत्छौँ, केही दिन बढी मिलाप या झगडा गर्छौं, केही अन्य कुराहरू बढि गर्छौं । त्यसले हामीलाई के फरक पार्छ ? अबको हाम्रो जीवनमा मात्रा धेरै कुराको बढ्ला तर गुणात्मक रूपमा कुनै नयाँ परिणाम आउने छैन ।’

‘मात्राले गुणलाई असर गर्छ बाबु । मात्रा मिल्नुपर्छ, मात्रा मिल्नु भनेको सन्तुलन राख्नु पनि हो । अहिले पृथ्वी जुन गतिमा घुम्छ, अर्थात् जुन मात्रामा घुमेको छ, यो ठीकै छ । यसको मात्रा घट्यो या बढ्यो भने पृथ्वी र यो ब्रह्माण्डमै कुन किसिमको हलचल पैदा होला भन्ने सोच्न पनि सकिँदैन । एउटै वस्तुको मात्रान्तरले रात र दिनजत्तिकै अन्तर गरेर परिणाम दिन सक्छ । संसारलाई जति पनि रङ्गमा हामी देख्छौँ त्यसको प्रारम्भिक रूप भनेको तीनवटा मात्र हो– रातो, नीलो र पहेँलो । यी तीन रङ्गको मात्राअनुसारको मिश्रणले नयाँ–नयाँ रङ्ग–परिणाम दिन सक्छ । यतिसम्म कि सेतो र कालो हेर्दा दुई विपरीत रङ्ग पनि ती तीनै रङ्गको मात्रात्मक अन्तरको मिश्रणको परिणाम हो । मात्राले गुणलाई प्रभावित गर्छ र गुणले मात्रालाई । त्यसैले अहिले नै कुनै निर्णय लिइहाल्नु ठीक हुन्न, आत्महत्या गरेर मर्न त हामी जतिबेला पनि सक्छौँ, त्यो आफ्नै हातको कुरा हो । हामी अरू केही मात्रा बाँचेर हेरौँ, कतै गुणात्मक फड्को जिन्दगीमा मारिहालिन्छ कि । आश्वस्त पार्दै निराकारले भनिन् ।’

‘त्यसो भए हाम्रो जिन्दगीलाई अरू केही समय निरन्तरता दिऊँ, होइन त आमा ?’

‘हो, दिऊँ । दिएर केही बिग्रँदैन ।’
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस् –

पृथ्वी पूर्ववत् अवस्थामा फर्कने आशा