जनमतको कदर गरौँ -रामचन्द्र पौडेल

जनमतको कदर गरौँ -रामचन्द्र पौडेल


शान्ति र संविधान निर्माण कार्यलाई उपेक्षा गरेर सत्तालाई नै सर्वोपरी ठानी माओवादी दलले गरेको जनप्रदर्शनका विरुद्ध पेसाकर्मी तथा नागरिक समाजका आमतप्काले स्वत:स्फुर्त रूपमा जुन र्‍याली आयोजना गरे, त्यसबाट एउटा ‘प्रचण्ड’ र ‘स्वस्थ’ जनमत छर्लङ्गिएको छ । देशभर बन्द र हडतालका विपक्षमा जनलहर पैदा भयो । शान्तिको दिशा र मार्गमा बाह्रबुँदे सम्झौताबाट अगाडि बढेको हाम्रा पाइला त्यो दिनबाट एककदम अगाडि बढेको छ । लोकतन्त्रका पक्षधर शान्तिकामी नागरिक यसका लागि धन्यवादका पात्र छन् ।
म युरोपलगायतका बाह्य मुलुक जाँदा पनि र स्वदेशमा बुद्धिजीवीहरूसँग कुरा गर्दा पनि जब माओवादीको सन्दर्भ उठ्थ्यो मैले जहिल्यै पनि के भन्ने गरेँ भने माओवादीलाई एउटा कुराले प्रभाव पार्छ, त्यो हो- जनमत । मैले अनुभव गरेको छु, माओवादीहरू जनमतको दबाबमा ठीक निर्णयमा आइपुग्छन्, उनीहरू पछाडि हट्छन् । उनीहरूसँग जुझ्ने हिसाबमा सैनिक समाधान, प्रशासनिक समाधान, पुलिसको बलजस्ता कुरा मैले कहिल्यै पनि सोचिनँ । मैले व्यक्तिगत अनुभव गरेको यो कुरा नै युरोपमा पनि भनेँ । नेपालमा शान्ति स्थापना गर्ने सवालमा मेरो पहिलेदेखि नै यही विश्वास कायम रहँदै आएको थियो र छ ।
नेपाली जनताले लामो समयदेखि सङ्घर्ष गर्दै आयो । पटक-पटक आन्दोलन गर्नुपर्‍यो । ०७ सालमा नेपाली जनता लडे, ०७ सालपछि पटक-पटक संविधानसभाको मागमा भद्रअवज्ञा हुँदै नेपाली जनताले लोकतान्त्रिक अधिकारका लागि अनेक प्रकारका आन्दोलन गरे । म विद्यार्थी हुँदा कोही थिएन हामीलाई सल्लाह र बुद्धि दिने ।
त्यसरी पनि हामीहरूले तीस वर्ष लड्यौँ । त्यो लडाइँ कायमै रह्यो । त्यसमा फेरि दबाबको बाटोमा जनताले सन्त्रासमा बाँच्नुपर्‍यो । त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर छलफल गर्‍यौँ, हामी एउटा बाह्रबँदे सम्झौतामा पुग्यौँ ।
माओवादीहरूले जुझारू सङ्गठनको दुरुपयोग गरे । शक्तिको दुरुपयोग उहाँहरूले गर्नुभयो । कार्यकर्ता राजधानी ल्याएर बाटो बन्द गर्ने माओवादीको यो कालिदास बुद्धि हो । यहाँ आफू बस्ने अनि आपूरि्त बन्द गर्ने, के हो त यो ? त्यो किसिमको उल्टो बाटो उहाँहरू पटक-पटक हिँड्नुभयो । मैले समयमै उहाँहरूलाई भनेको थिएँ- होइन है तपाईंहरूले गलत बाटो रोज्नुभयो, कालिदास शैलीको आन्दोलन गर्नुभयो, यो पार लाग्दैन है । आखिर अहिले यो जनमतबाट प्रकट भयो । त्यसबाट माओवादीले पाठ सिकेर गल्ती करेक्सन गरेको छ । र, समयमा नै उहाँहरूले आमहडताललाई स्थगित गर्नुभएको छ । यो सकारात्मक छ ।
अब हाम्रोअगाडि जारी शान्तिप्रक्रियालाई कसरी टुङ्गोमा पुर्‍याउने, ६ बुँदे प्याकेज प्रोग्रामलाई कार्यान्वयन गर्ने बेला आएको छ । अब नेपालमा साँच्चीकै शान्तिको स्थापना, साँच्चीकै भयमुक्त समाजको स्थापना, खुला समाजको स्थापना गर्न जुन नयाँ जनमत आएको छ त्यसलाई उपयोग गर्नुपर्छ । शान्तिको पक्षमा त्यसलाई उपयोग गर्नुपर्छ । पदको पछाडि नदगुरौँ । मुलुकले समस्या भोगिरहेको छ । नेपाल किन विपन्न हुने ? नेपाल किन दु:खित हुने ? नेपाल किन पीडित रहने ? समस्याकेन्द्रित बनौँ, विषयकेन्द्रित बनौँ हामी । विषयकेन्द्रित बनेर समस्याको समाधानको बाटो लागौँ । देशलाई निकास दिऔँ । हाम्रो पुस्ताको परीक्षा छ भनेर म एमाले माओवादी र अरू पार्टीका साथीहरूलाई पनि भन्ने गर्छु यो जेनेरेसनकै टेस्ट छ र हामीले खरो उत्रनुपरेको छ । मेरो त सधैं यही कोसिस रह्यो । त्यसैले म यसतर्फ ध्यान आकरि्षत गर्न चाहन्छु ।
शान्ति र संविधान दुइटा हाम्रा राष्ट्रिय एजेण्डा हुन् । गाउँमा जनता भयग्रस्त छन् । जनतासँग शासक वर्ग डराउने अवस्था नै लोकतन्त्र हो । त्यसकारण हामीले खोजेको लोकतन्त्र कस्तो हो र हामी भौंतारिरहेको विषय के हो मनन गर्नुपर्छ । जतिसूकै हामी यताउता गरौं तर निचोडमा लोकतन्त्र भनेको जनताको सर्वोच्चता नै हो । र, जनता मुक्त वातावरणमा बस्न पाउने अवस्था हो । त्यसो भएको हुनाले लोकतन्तका पक्षमा हामीले भय मुक्त वातावरण निर्माण गर्नैपर्छ । जनताबाट शासक वर्ग डराउने व्यवस्था हामीले गर्नैपर्छ । मैले भनेको छु, नेपाललाई पहिला भयमुक्त समाजमा रूपान्तरण गरौँ । त्यसपछि हाम्रो विकास सुरु हुन्छ । उन्नतिको मार्ग खुल्छ र पहिले शान्ति साकार पार्ने र अनि लोकतान्त्रिक संविधान निर्माण गर्ने ।
संविधानको बारेमा पनि मेरो स्पष्ट धारणा छ । संसारमा लोकतन्त्रका मूल्य मान्यताहरू छन् जुन लामो समयबाट खारिएर स्थापित भएका मान्यताहरू हुन् । हामीले बढी नयाँ आविष्कार गर्छु भनेर भन्नु पनि छैन । विश्वमा खारिएका लोकतन्त्रका मान्यतालाई जीवनमा ढालौँ । हाम्रो समाज र व्यवस्थामा त्यसलाई उतारौँ । र, हाम्रो संविधान त्यो आदर्शबाट मूल्य र मान्यताबाट हामीले संविधान निर्माण गरौँ । त्यो सिद्धान्तलाई मान्नेबित्तिकै, अन्तरिम व्यवस्थामा हामीले सहमति गरेका कुरा र शान्तिसम्झौताका सिद्धान्तलाई स्वीकार गर्नेबित्तिकै संविधान बनिहाल्छ । यसरी खिचातानी गर्नुपर्ने केही कुरै छैन ।
माओवादी सर्वहाराको शासन चाहन्छ । तर, राज्य भनेको सर्वहारा, पुँजीपति र मध्यम सबै वर्गको हो । सबैलाई मिलाएर ठीक ठाउँमा राख्नु नै शासन प्रणाली हो । हामी प्रजातन्त्र सामाजवादीहरू राज्य भनेको सबैको हो भन्छाँै । उहाँहरू राज्य भनेको एउटा वर्गको भन्नुहुन्छ । एउटा वर्गको नाममा एउटा पार्टीले हुकुम चलाउँछ । र, त्यो पार्टीको नाममा एउटा नेताले तानाशाह चलाउँछ । अनि एउटा डिक्टेटर जन्मन्छ । उहाँहरूको यो दर्शनसँग म सहमत छैन । त्यसैले नेपालको राजनीतिमा यो बहस चलेको छ । यो कुरा छर्लङ्ग हुनु जरुरी छ । नेपाली जनताले कस्तो व्यवस्था चाहेका हुन् उनीहरूले थाहा पाउन जरुरी छ । हाम्रो पुस्ताले भावी पुस्तालाई कस्तो व्यवस्था दिने हो, त्यो विषयमा गम्भीर छलफल हुनु जरुरी छ । त्यसमा खुलेर बहस हुनुपर्छ कि एक्काइसौं शताब्दी कस्तो शासन-ब्व्वस्था चाहिन्छ । अग्रगमन केहो बीसौ शताब्दीमा फेल भइसकेको व्यवस्था नेपालमा जबर्जस्ती थोपर्ने अग्रगमन हो । यो प्रश्न सबैलाई चुनौतीका साथ सोध्ने गर्छु बीसौ शताब्दीमा जुन व्यवस्था फेलियर भयो आज नेपालमा त्यसैलाई इम्पोज गर्नु के प्रगतिशीलता हो ? के अग्रगमन यही हो ? त्यसैले साँच्चिकै अग्रगमन हो भने फ्रिडम, सोलिडारिटी हुनुपर्छ त्यसका लागि प्याकेज प्रोग्राममा सहमति हुनुपर्छ ।
प्रधानमन्त्री पदसँग हामीलाई मतलब छैन । हामीलाई निकास र समाधान चाहिएको छ । समाधानमुखी बनाऔँ । सहमति भएन भने बहुमतबाट सरकार बन्छ । यो विधिसम्मत कुरा हो । सर्वसम्मति भएन भने देश जहाँको तही बस्न सक्दैन । बहुमत र अल्पमत खेल होइन । यो डेमोक्रेसीको सुन्दर पक्ष हो । सकेसम्म सहमति गर्ने हो नसके विधिमा जाने हो ।
(नेता पौडेलद्वारा व्यक्त विचारमा आधारित)