शुक्रबार मात्रै २३ को मृत्यु, ३४ बेपत्ता

शुक्रबार मात्रै २३ को मृत्यु, ३४ बेपत्ता


भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् भने अन्य ३४ जना बेपत्ताभएका छन् ।

कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ ।

हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिएका छन् । स्थानीय तह, रेडक्रम, स्थानीय प्रशासनलगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम जारी रहेको जनाइएको छ ।

प्राप्त विवरणानुसार म्याग्दीको धवलागिरि गाउँपालिकालगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीलाई उद्धृत गर्दै राससले जनाएको छ । प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेको प्रहरी प्रवक्ता शाहीको भनाई छ ।

जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा सातको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

लम्जुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा विपद्मा परेर तीन जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट तीन जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा ठूलो भेलपहिरो खस्दा दुई जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।

pict: rss