अमेरिका उत्तर कोरिया वार्ता नहुने

अमेरिका उत्तर कोरिया वार्ता नहुने


उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन् । अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने जोङको यो भनाइपछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताएकी हुन् ।

उनले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगविहीन वार्ता गर्न पनि नहुने उनले बताएको समाचारमा जनाइएको छ । यी दुइ देशले वार्तामा बसेर निष्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भनी उनले तर्क दिएको एएनआईले जनाएको छ ।

अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको जोङको भनाई छ । केही दिन मात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।

उनको सो भनाइको केही दिन मात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राखेकी हुन् । उहाँको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो ।

केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए ।