मानवअधिकारवादीलाई आतङ्कवादीको अभियोग लगाएको भन्दै एम्नेस्टीद्वारा दुःख व्यक्त

मानवअधिकारवादीलाई आतङ्कवादीको अभियोग लगाएको भन्दै एम्नेस्टीद्वारा दुःख व्यक्त


टर्कीका दुई पूर्वनेतालगायत चार जना मानव अधिकारकर्मीलाई इस्तानबुलको एउटा अदालतले आतङ्कवादी क्रियाकलापमा जोडिएको अभियोगमा दोषी ठहर गर्ने निर्णयले दुःखी बनाएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

एम्नेस्टी नेपालका अध्यक्ष विक्रम ढुकुछुलगायतले जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार रक्षकलाई कैद गर्ने टर्कीको अदालतको फैसलाप्रति आपत्ति जनाउँदै यो निर्णयले दुःखी बनाएको उल्लेख छ ।

गत शुक्रबार इस्तानबुल अदालतले अहिले ‘बुयुकादा ट्रायल’ भनेर चिनिएको मुद्दामा एम्नेस्टी टर्कीका पूर्वअध्यक्ष टानर किलिकलाई ‘आतङ्कवादी संस्थाको सदस्यता लिएको’ आरोपमा र त्यस्तै एम्नेस्टी टर्कीका पूर्वनिर्देशक इडिल एसर र एम्नेस्टी इन्टरनेशनलका सदस्यहरू ओज्लेम दलकिरण र गुनाल कुर्सुनलाई ‘फेथुल्लाह गुलेन नामको आतङ्कवादी संस्थालाई सहयोग गरेको’ आरोपमा दोषी ठहराएको थियो ।

किलिकलाई ६ वर्ष ३ महिना र अन्य तीन जनालाई २५ महिनाको जेल सजाय सुनाएको छ । अन्य सात प्रतिवादीलाई भने अदालतले निर्दोष रहेको ठहर गरेको छ । अधिकारकर्मी र स्वतन्त्र अभियन्तालाई चुप गराउने उद्देश्यका साथ यो मुद्दा राजनीतिक रूपले प्रेरित रहेको शुरुदेखि नै प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ ।


सन् २०१७ मा मुद्दा दायर भएदेखि अभियोजनकर्ताले यी मानवअधिकार रक्षकहरूका विरुद्ध उनीहरूलाई आरोप लगाइएको गलत कामकारवाहीसम्बन्धी विश्वसनीय प्रमाणको एउटा पनि अंश प्रस्तुत गर्न सकेका छैनन् । अदालतमा भएका थुप्रै सुनुवाईका क्रममा उनीहरूविरुद्ध लगाइएका हरेक आरोपहरू आधारहीन आक्षेपको रूपमा उजागर भएका छन् ।

‘हिरासतमा लिने समय यी अधिकार रक्षकहरू एउटा मानव अधिकारसम्बन्धी कार्यशालामा सहभागी भइरहेका थिए, जसलाई टर्कीका अधिकारीहरूले ‘गोप्य बैठक’का रूपमा लिएका थिए’– विज्ञप्तिमा भनिएको छ, ‘एउटा कार्यशालामा भाग लिएकै आधारमा मानवअधिकार रक्षकलाई आतङ्कवादीको आरोप लगाइएपछि चार जनालाई अभियुक्त सावितसम्म गर्ने कार्य दुःखद् र अस्वीकार्य छ ।’

मानव अधिकार रक्षकहरूले कुनै अपराध गरेका छन् भने त्यो भनेको अरूको न्याय र अधिकारका लागि उभिनु भएको र अदालतको निर्णयबाट गम्भीर रूपमा चिन्तित भएकाले फैसलाविरुद्ध पुनरावेदनको तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।