मुगुस्थित महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण

मुगुस्थित महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण


नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ३ करोड ५१ लाख १० हजार लागतमा निर्माण गरिएको मुगु जिल्लाको रातापानीस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गरिएको छ ।

गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुद्वारा बुधबार (२४ असार) भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरिएको हो ।

सन् २००७ मा स्थापना भएको उक्त क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ । क्याम्पसले चारवर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ ।

हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरू अध्ययनरत सो क्याम्पसमा योग्य विद्यार्थीहरूका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको बताइएको छ ।
नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको सम्बद्ध पक्षको भनाई छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्न सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा खुशी लागेको सन्देश भारत सरकारका तर्फबाट सम्प्रेषण गरिएको छ ।