पृथ्वी राजमार्गमा दुर्घटना बढ्यो : लेन अनुशासनको उल्लंघन मूख्य समस्या

पृथ्वी राजमार्गमा दुर्घटना बढ्यो : लेन अनुशासनको उल्लंघन मूख्य समस्या


■ विकास रौनियार, धादिङ

देशको मुख्य सडक पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटनाको सङ्ख्या बढेको छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने बजारका अधिकांश क्षेत्रमा नोओभर टेक लेन हुँदाहुँदै पनि धामाधम साना तथा ठूला सवारीसाधन ओभर टेक लेनको बेवास्ता गरेको भेटिन्छ । बजार क्षेत्रमा गति सीमित नहुँदा दुर्घटना बढेको प्रष्ट देखने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टका अनुसार तीव्र गतिका कारण पृथ्वी राजमार्गमा सवारीसाधन दुर्घटनामा वृद्धि भएको छ ।

‘चालकलाई ट्राफिक ज्ञान नहुँदा राजमार्गमा दुर्घटना बढेको हो’, उनी भन्छन्, ‘सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर र नो ओभर टेक लेन राख्नेलगायत काम गर्दै आएको छ ट्राफिक प्रहरीले। यसका बाबजुद लापर्वाहीका कारण दुर्घटना हुनेगरेको छ ।’

किन हुन्छ दुर्घटना ?

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको बताए । श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताउँछन् ।

दुर्घटना कि अपराध ?

सडक र सवारी साधनसँग सम्बन्धित विभिन्न घटनाहरुलाई हामीले दुर्घटनाका रुपमा हेर्ने गरेका छौँ । सवारी साधन सडकबाट तल खस्नु, दुई सवारी साधन आपसमा ठोक्किनु, सवारी साधनको ठक्करबाट मृत्यु हुनुलगायतका घटनाहरुलाई हामीले दुर्घटनाका रुपमा लिने गरेका छौँ । दोषी सवारी चालकलाई दुर्घटना सम्बन्धमा कानुनमा गरिएको व्यवस्थाअनुसार कारवाही हुने गरेको छ ।

यस्ता सबै प्रकारका घटनालाई ‘दुर्घटना’भित्र समेटेर कारवाहीको व्यवस्था हुँदासम्म हामी दुर्घटना न्यूनीकरणको लक्ष्य हासिल गर्न सक्दैनौँ । हामीले दुर्घटना र अपराधमा फरक छुट्याउन जरुरी भइसकेको छ ।

उदाहरणका लागि चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा दुर्घटना भएको छ वा तीव्र गति, ओभरलोड, लेन अनुशासन उल्लंघन गरेको जस्ता कारणले दुर्घटना भएको छ भने त्यसलाई दुर्घटनाका रुपमा मात्र नभई अपराधका रुपमा लिएर दण्ड र जरिवानाको व्यवस्था गर्न जरुरी छ ।

जरिवाना मात्रले अब ट्राफिक नियम पालनामा चालकहरुलाई गम्भीर र जिम्मेवार बनाउन सम्भव नहुने अवस्था देखिएको छ । किनकि, सम्पन्न परिवारमा सुविधाका लागि जति पनि पैसा खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । निश्चित रकम तिरेर घर बसीबसी एजेन्टमार्फत पानी–बत्तीको बिल भुक्तानी गर्ने जस्ता प्रवृत्ति बढेको समाजमा हामीले निश्चित रकम तिरेकै आधारमा ट्राफिक नियम उल्लङ्घन गर्न पाउने सुविधा मात्रले सडक अनुशासन कायम राख्न सम्भव हुँदैन । दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालना नै हाम्रो मुख्य ध्येय हो भने हामीले सडक अनुशासन उल्लंघन गर्नेलाई जरिवानाका साथसाथै सजायको व्यवस्था पनि गर्नुपर्छ ।

उदाहरणका लागि सडक लेन उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घनकर्तालाई न्यूनतम दुई साताको जेल सजाय भएमा लापरवाही गर्ने क्रम अन्त्य हुन्छ । दुर्घटना ‘भवितव्य’ हो तर लेन अनुशासन उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेजस्ता घटना चालकको गम्भीर लापर्वाही हो । यस्तो लापरवाही गर्ने चालकलाई जरिवानाले मात्र नियन्त्रण गर्न सकिँदैन, उनीहरुलाई लापरवाहीको कसुरमा निश्चित समय जेलको व्यवस्था गर्न जरुरी देखिन्छ ।