इथियोपियामा भएको हिंसामा परी मृत्यु भएकाको संख्या २३९ पुग्यो

इथियोपियामा भएको हिंसामा परी मृत्यु भएकाको संख्या २३९ पुग्यो


अफ्रिकी मुलुक इथियोपियामा भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाहरुको संख्या २ सय ३९ पुगेको छ । विभिन्न जातीय समूहका बीचमा अघिल्लो हप्ता भएको हिंसामा परी मृत्यु हुनेहरुको संख्या बढ्दै गएर २ सय ३९ पुगेको प्रहरीले जनाएको छ ।

एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो । हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौँको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुऱ्याएका छन् ।

राजधानीसहित देशका विभिन्न ठाउमा प्रदर्शन भइरहेका र उनीहरुले तोडफोड तथा आगजनी गर्ने गरेको प्रहरीले जनाएको छ । सरकारले गायकको हत्याराका दोषी पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएता पनि प्रदर्शन नरोकिएर हिंसाका घटना भइरहेको जनाइएको छ ।

‘हत्यापछि भएका घटनाहरुमा परेर नौ जना प्रहरी, पाँच जना लडाकू र २१५ जना आम नागरिकले जीवन गुमाएका छन्,’ एक प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।