नेताहरूबाट के सिक्ने ?

■ बबिता बस्नेत

मुलुकमा कोरोना महामारीले क्वारेन्टिनमै मानिसको मृत्यु भइरहेको, लकडाउन पूर्ण रुपमा नखुलेका कारण सर्वसाधारणले आवतजावतमा दुःख पाइरहेको र विभिन्न ठाउँमा पहिरोबाट मानिसको मृत्यु तथा बेघरबार भइरहेको बेला राजधानीमा नेताहरूको दौडधुप ब्यापक छ । खुमलटार, बालुवाटार, झम्सिखेल, कोटेश्वरस्थित नेता–निवासहरूमा बडो ‘टफ मिटिङ’हरू चले । शीतल निवासलाई समेत एकाएक ब्यस्त हुनुपर्ने अवस्था आइलाग्यो । तर ती ब्यस्तताहरू कोभिड नियन्त्रण, क्वारेन्टिन सुधार, तीन महिनाको लकडाउनका कारण विभिन्न क्षेत्रमा परेको असरबाट उन्मुक्तिलगायतका जनताका पीर–मर्कालाई लिएर भएका थिएनन् । मुलुकमा तमाम बेथिति र महामारीकाबीच सत्ता परिवर्तन ती मिटिङहरूको प्रमुख लक्ष्य थियो । जसका लागि अलिकति पनि भौतिक दूरी नराखिकन नेताहरू झुरुप्प भेला भएर दिमाग खियाइरहेका थिए । आफ्नै दलभित्रका प्रतिपक्षीलाई गलाउन ‘यो नभए त्यो’ प्रधानमन्त्रीको आफ्नै रणनीति जारी रह्यो ।

यसैबीच चलिरहेको संसद् बन्द गरियो । केही मन्त्रीले कुनै बिजनेस नै नभएकाले संसद् बन्द गर्नु परेको तर्क दिएर दिउँसै रात पार्ने काम गरे । एकपछि अर्को विधेयकहरू लाइनमा थिए । संसदको बिजनेश सकिएको थिएन । एक जना मन्त्रीले त ‘संसद् रत्यौली खेल्ने ठाउँ हो र ?’ समेत भन्न भ्याउनुभयो । संसद् त के राज्यका कुनै पनि संरचनाहरू रत्यौली खेल्ने ठाउँ होइनन् । ‘रत्यौली’ बिहेघरबाट दुलाहा अन्माएपछि महिलाहरू जम्मा भएर मनमा लागेको जे पनि (अश्लिल शब्दहरू समेत) बोल्दै खेलिने साँस्कृतिक परम्परा हो । ‘रात’ र ‘यौली’ जोडिएर रत्यौली शब्द बनेको हो । पहिला–पहिला राति विवाह हुने हुँदा रत्यौली पनि राति नै खेलिन्थ्यो । जे बोल्न पनि छुट भएका कारण रत्यौली आफैमा हल्काफुल्का शब्द बन्न पुगेको हो ।

कुशल नेतृत्वले सम्भावनाहरूलाई रूपान्तरण गर्न सक्नुपर्छ । नेतृत्व रूपान्तरित हुने कुरा हो । तर, अहिले हाम्रा नेताहरूमा जे–जस्ता गुणहरू देखिएका छन्, त्यसबाट नयाँ पुस्ताले के सिक्ने ? नेतृत्व पद होइन, क्षमता हो । तर, यहाँ त पदलाई मानिसहरूले नेतृत्व मान्दै हिँडेको अवस्था छ ।

प्रजातन्त्रका लागि लामो लडाइँ लडेका नेताहरूको कार्यशैली हेर्दा नेतृत्वमा हुनुपर्ने गुण खासै देखिँदैन । मुलतः आममानिस भन्दा फरक दृष्टिकोण राख्न सक्ने भएपछि मानिस नेता बन्छ । राजनीतिमा मात्र होइन विभिन्न क्षेत्रमा नेतृत्वको आवश्यकता पर्छ । अरुले नदेखेको ‘भिजन’ नेतामा हुनुपर्छ । आफ्नो जीवन र ब्यक्तिगत लाभ–हानीलाई केन्द्रमा राख्ने मान्छे नेता बन्न सक्दैन । तर हामीकहाँ जति पनि खिचातानीहरू हुने गरेका छन् ती ब्यक्तिगत लाभकै लागि भएका छन् । जनताले दिएको दुई तिहाइको म्याण्डेटलाई आफ्नो निहित स्वार्थका लागि लत्याउने काम गिरिजाप्रसाद कोइरालाकै पालादेखि भएको हो । २०४६ सालदेखि अहिलेसम्म नेताहरूबीच एकर्कामा शक्ति अभ्यास गर्दागर्दै मुलुकमा हुनुपर्ने धेरै कामहरू हुन सकेका छैनन् ।

हामीले सुन्दै, पढ्दै हुर्किएका दुई ‘रोल मोडेल’ नेतृत्व राम र धृतराष्ट्र हुन् । रामायणका राम जनताको सुख र खुशी नै आफ्नो सुख र खुशी हो भन्ने मान्यता राख्ने राम्रो नेतृत्व क्षमताका उदाहरणीय पात्र हुन् भने महाभारतका धृतराष्ट्र राज्य र जनताको पर्वाह नगरी आफ्ना सन्तानका लागि जे पनि गर्न सक्ने खराब नेतृत्वका उदाहरण हुन् । हामी कहाँ ‘एस पर्सन’हरूका लागि धृतराष्ट्रहरूको भीडमा सबैलाई समेट्न चाहने साझा नेतृत्व देख्न पाइएको छैन । आफ्नै दलभित्र गुट–उपगुटमा रमाउनेहरूले सबै नेपालीलाई समान दृष्टिकोण राख्ने कुरा असम्भव जस्तै हुन्छ । कुशल नेतृत्वले सम्भावनाहरूलाई रूपान्तरण गर्न सक्नुपर्छ । नेतृत्व रूपान्तरित हुने कुरा हो । तर, अहिले हाम्रा नेताहरूमा जे–जस्ता गुणहरू देखिएका छन्, त्यसबाट नयाँ पुस्ताले के सिक्ने ? नेतृत्व पद होइन, क्षमता हो । तर, यहाँ त पदलाई मानिसहरूले नेतृत्व मान्दै हिँडेको अवस्था छ ।

नेता हुनुको अर्थ ‘राज’ गर्नका लागि हो भन्ने बुझाई नेतृत्वमा देखिन्छ । खासमा नेता हुनुको अर्थ राज गर्नु नभएर जनताको जीवन सहज बनाउनका लागि सहजीकरण गर्नु हो । नेता जो पनि हुन सक्छ, नेता हुनलाई पद आवश्यक छैन तर यदि उ नेता हो र पदमा पनि छ भने उ नेतृत्वमा रहेको नेता हो, चाहे ‘इलेक्टेट’ होस् या ‘सेलेक्टेट’ । नेता भनेको यस्तो मानिस हो जसले दूर दृष्टि राख्न सक्छ, परसम्म देख्न सक्छ, जनतालाई समान ब्यवहार गर्न सक्छ । भोट जसको लिए पनि निर्वाचित भएर पदमा पुगिसकेपछि उसले जनतालाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ । तर हामीकहाँ नेतृत्वमा पुगेकाहरूको अधिकांश समय आफूइतरलाई गाली गरेर बित्ने गरेको छ । जुन नेतृत्वमा हुनुपर्ने गुण होइन ।

‘मभन्दा राम्रो गर्न सक्ने कोही छ भने आउनुस’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो चुनौती दिँदा दोश्रो पुस्ताका नेताहरूले ‘हामी छौँ, तपाइँभन्दा राम्रो गर्छौं, छोड्नुस्’ भन्न सकेको देखिएन ।

नेतृत्व महत्वकाङ्क्षाबाट आउनु हुँदैन भनिन्छ । तर हाम्रो समस्या के हो भने नेतृत्वमा आउनेहरू आफ्नो महत्वकाङ्क्षाका कारण आएका छन् र आफ्नो महत्वाकाङ्क्षाका लागि जे गर्न पनि तयार देखिन्छन् । नेता हुनका लागि जनतालाई सकारात्मक बाटोतर्फ डोऱ्याउने दृष्टिकोण चाहिन्छ । जनताका अगाडि शान लगाएर हिँड्ने नभइ विनम्रताका साथ प्रस्तुत हुने क्षमता आवश्यक हुन्छ । अरुलाई राम्रो देख्नका लागि आफू मनभित्रैबाट राम्रो बन्नुपर्ने हुन्छ । मुलुकलाई सकरात्मक बाटोमा हिँडाउनका लागि आफू सकरात्मक सोचबाट निर्देशित हुनुपर्छ । अहिले हाम्रो राजनीतिमा जति पनि नेतृत्वमा छन् तीमध्ये धेरै म किन नेतृत्वमा छु भन्ने थाहै नपाई नेतृत्वमा पुगेका कारण समस्याहरू आएका हुन् । मानिसको जीवनमा सफलताको अर्थ पद होइन, प्राप्त पदलाई उसले कसरी सदुपयोग गऱ्यो र कतिको जीवनमा सकरात्मक परिवर्तन ल्याउन मद्दत गऱ्यो भन्ने हो । जस्तो, अहिले नेतृत्वमा भएकामध्ये इश्वर पोख्रेललाई समयले आफ्नो क्षमता देखाउने ठूलो अवसर दिएको थियो । कोभिड–१९ को सन्दर्भमा गर्नुपर्ने उचित ब्यवस्थापनले उहाँलाई उपप्रधानमन्त्रीबाट साँच्चिकै नेता बनाउन सक्थ्यो । पारदर्शितालाई मुख्य आधार मानेर कामहरू अगाडि बढाइएका भए उहाँलाई नेता बन्नबाट कसैले रोक्न सक्ने थिएन, तर उक्त अवसरको सदुपयोग गरेको देखिएन । पद, प्रतिष्ठा र सफलता फरक कुरा हुन । पद प्राप्त गर्ने कुरा हो, प्रतिष्ठा आर्जन गर्ने कुरा हो । हामीकहाँ पदमा पुग्नासाथ सफलता प्राप्त गरेको ठान्ने चलन छ, जुन सही होइन । आफ्नो नजरमा सफल हुनु र अरुको नजरमा सफल हुनु फरक कुरा हो ।



विगत केही दिनदेखि नेतृत्व तहमा हाम्रो मुलुकमा जे भइरहेको छ, त्यसबाट नयाँ पुस्ताले के सिक्ने ? नागरिकले के सन्देश लिने ? एकर्कालाई निर्वस्त्र बनाउनका लागि आफ्नै कार्यकर्तामार्फत सामाजिक सञ्जालको प्रयोग गरिएको छ । पक्ष, विपक्ष भएर एकर्कालाई गाली गलौज गरिएको छ । एकैछिनमा प्रधानमन्त्री निवास बालुवाटार, एकछिनमा राष्ट्रपति भवन, केही समयपछि प्रचण्ड निवास, अनि माधव नेपाल निवास । दौडधुपको उद्देश्य सत्ता र पद । सत्ता हस्तान्तरणको औपचारिक थलो संसद एकाएक बन्द, कोसँग के सिक्नु ? राजनीतिमा नयाँ पुस्ता सरकार चलाउन सक्षम बनिसकेको रहेनछ भन्ने कुरा पनि यस पटक पुष्टि भएको छ । ‘मभन्दा राम्रो गर्न सक्ने कोही छ भने आउनुस’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो चुनौती दिँदा दोश्रो पुस्ताका नेताहरूले ‘हामी छौँ, तपाइँभन्दा राम्रो गर्छौं, छोड्नुस्’ भन्न सकेको देखिएन । आफ्नो झगडा छिमेकीका राजदूतले मिलाइदिएको दृष्य हेर्ने नयाँ पुस्ताले अहिलेको नेतृत्वबाट के सिक्नु ? हिजो पनि यही परिस्थिति थियो, आज पनि उस्तै छ । फरक यति हो कि हिजो भारतको ठाउँ अहिले चीनले लिएको छ । नेताहरू आफ्नै विवेकले चाहिँ कहिले काम गर्ने ? जनतालाई ‘प्रो–छिमेकी’ होइन ‘प्रो–नेपाल’वाला नेता चाहिएको छ ।

प्रतिक्रिया