नेकपा नेतृत्वबीच असमझदारी कायमै, स्थायी कमिटी बैठक पुनः स्थगित

नेकपा नेतृत्वबीच असमझदारी कायमै, स्थायी कमिटी बैठक पुनः स्थगित


आन्तरिक किचलोका कारण पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ ।

केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते बुधबारसम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आज (२२ असार) सम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको हो । पार्टीमा देखिएको समस्या समाधानका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का प्रचण्डबीच थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको बताइएको छ ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी), संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।

अब पार्टीभित्र देखिएको विवाद समाधान गरेर मात्र बैठक बस्ने तयारी गरिएको बुझिएको छ ।

अध्यक्षद्वय केपी र प्रचण्ड पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफलमा रहे पनि सहमतिमा पुग्न सकेका छैनन् । हिजो आइतबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो भने आज पनि दुई अध्यक्षबीच विवाद समाधानका लागि छलफल हुने प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिएका छन् ।

नेकपामा विवाद मत्थर हुनुको साटो बढ्दै गएको परिवेशबीच आइतबार साँझ नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेकपाका प्रभावशाली नेता माधव नेपालसँग भेट गरेको सन्दर्भ यतिबेला चर्चामा छ ।