‘तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू’ : मेलम्ची खानेपानी आयोजना

‘तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू’ : मेलम्ची खानेपानी आयोजना


मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ ।

आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबार (२१ असार) देखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो ।

परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर गर्न पनि स्थानीयवासीलाई आग्रह गरिएको छ ।

मेलम्ची सुरुङमा पानी भर्न थालियो

यसैबीच तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको दाबी गरिएको छ । लामो प्रतीक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पुऱ्यााउने प्रतिबद्धता खानेपानी मन्त्रालयले जनाएको छ । आइतबारदेखि आयोजनाले कूल २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको जानकारी दिँदै सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी मन्त्री बिना मगरले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएकी हुन् ।

बताइएअनुसार सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात्, १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्ति नै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्नेछ । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय रहेको छ ।

यसअनुसार आगामी भदौको दोस्रो साताभित्र काठमाडौंमा नियमित रुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिँदै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री मगरले भनिन्, ‘मेलम्चीको पानी अझै डेढ वर्ष आउँदेन, काम नै सकिएको छैन, सरकारले पटकपटक ढाँटिरहेको छ भन्ने जस्ता जनमानसमा उठिरहेको आरोपकोसमेत अब खण्डन भएको छ, लामो प्रतिक्षाको घडी अब सकिएको छ ।’

pict: rss