राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न किन सकिएन ?

राष्ट्रिय सँस्था र नेतृत्व निर्माण गर्न किन सकिएन ?


■ केशवप्रसाद भट्टराई

१. राज्य वा राष्ट्र भनेको कुनै भौतिक अस्तित्व मात्र होइन ।
भूगोल मात्र होइन ।
त्यसमा पनि जीवन, उर्जा र गति हुन्छ ।
प्राण हुन्छ ।
आत्मा हुन्छ ।
राष्ट्रको त्यस्तो आत्मा र प्राणसँग आफ्नो प्राण र जीवनलाई जोड्न सक्नेहरूले मात्रै त्यो राष्ट्रमा स्थायी उपलब्धि र सम्मान आर्जन गर्न सक्दछन् ।
नभए पानीको फोका जस्तै आउँछन्, विलाउँछन् ।
सिंह बनेर आए जस्तो गर्दछन् अनि मुसा र स्याल बनेर जान्छन् ।

२. ‘असली हिन्दुस्तान’ खडा गर्ने उद्देश्यले ‘जय–जय काली जय–जय गोरख’को नारा घन्काउँदै राजाको नेतृत्वमा यो मुलुकको एकीकरण भयो ।
पुस्तौँपुस्ताले त्यसैमा आफूलाई उत्सर्ग र बलिदान गरे ।
त्यसैले ‘जय–जय काली र जय–जय गोरख’ यो मुलुकको एकता र स्थिरताको आन्तरिक उर्जा र शक्ति हो ।
यो राष्ट्र–रक्षाकोको बीज मन्त्र हो ।

३. मुलुकको उक्त आन्तरिक उर्जा र शक्तिको मर्मलाई आत्मसात नगर्ने,
त्यसलाई सम्मान नगर्ने, र
त्यसबाट आफूमा उर्जा भर्न नसक्ने कुनै व्यक्ति, दल र सँस्थाहरूले जतिसुकै ठूलो राजनीतिक शक्ति र वैधता बोकेर आएको दाबी गरेर आए पनि यो मुलुकमा कुनै सुरक्षित र सम्मानित स्थान र हैसियत प्राप्तगर्न सक्दैनन् ।
सकेनन् ।
माथि भनिएजस्तै सिंह जस्तो अभिनय गरेर आउँछन् र मुसा जस्तै भएर जान्छन् ।
गइरहेका छन् ।

४. हिन्दु राज्यको रूपमा र हिन्दु संस्कृतिको केन्द्रको रूपमा मात्रै यो मुलुकले आफ्नो अस्तित्वको औचित्य सावित गर्न सक्दछ भनेर नै नेपालले आफूलाई हिन्दु राज्य भन्दै र मान्दै आएको थियो ।
यो कुनै निजी आस्था, धर्म,कर्म र कर्मकाण्डभन्दा माथिको राष्ट्र र राष्ट्रियताको सवाल थियो ।
देशभक्तिको सवाल थियो ।
प्रगतिशील र प्रतिगामी चिन्तनभन्दा माथिको कुरा थियो ।
राष्ट्रिय सुरक्षाको नीति र रणनीति पनि थियो ।

५. संसारको सबैभन्दा ठूलो प्रजातन्त्र र सबैभन्दा ठूलो साम्यवादी मुलुकबीच,
एसियाका दुई महान सभ्यतामाझ,
फरक पहिचान निर्माण गरेर,
त्यस्तो पहिचान कायम राखेर आफ्नो अस्तित्वको औचित्य सावित गर्ने महत्वपूर्ण राजनीतिक मर्म र चिन्तनको सवाल थियो यो ।
तसर्थ त्यो हिन्दु राज्य नै नेपाल राज्य र राष्ट्रको औचित्य हो ।
नेपाल किन छुट्टै स्वतन्त्र नेपाल राज्य हुनु पऱ्यो भन्ने प्रश्नको सबैभन्दा चित्तबुझ्दो र प्रमाणित उत्तर हो त्यो ।
राजसँस्था स्वाभाविक रूपमा त्यस्तो हिन्दु राज्यको संरक्षक हो ।

६. स्वर्ग र नर्कको बारेमा सोचेर होइन,
जीवनपछिको मोक्ष र मुक्तिको सवाल पनि होइन ।
हिन्दु संस्कृतिको रक्षाले मात्रै राष्ट्रको रक्षा हुन्छ भनेर हिन्दु राष्ट्रको पक्षमा रहेका लाखौँ लाख नेपालीहरू नै यो राष्ट्रको केन्द्रमा छन् ।
अनि व्यक्तिगत रूपमा राजाहरूसँग कुनै सम्बन्ध नरहेका,
राजा र राजसँस्थासँग कुनै स्वार्थ र सरोकार नभएका,
तर राजसँस्थाले मात्र भारत र चीन जस्ता विशाल मुलुकहरूको बीचमा रहेको यो मुलुकको राजनीति र कूटनीतिमा आवश्यक संयम र सन्तुलन कायम गरेर राष्ट्रको अश्मिताको रक्षा पनि गर्न सक्दछन् र यसको स्वतन्त्रता, सम्मान र समृद्धिलाई सुनिश्चित गर्न सक्दछन् भनेर राजतन्त्रको पक्षमा रहेका लाखौँ नागरिक पनि यहाँ छन् ।

७. तार्किक आधारमा उनीहरूको राजनीतिक मूल्य र आस्थामा राजा नटाउलान्,
हिन्दु राष्ट्र नसमेटिएला,
तर नेपालको स्वतन्त्रता र अखण्डतालाई अक्षुण्य राख्न, राजाको संरक्षकत्वको हिन्दु राष्ट्र र राज्यको लागि त्यो सम्झौता गर्न तयार हुने पनि लाखौँलाख नेपालीहरू यहाँ छन् ।

८. ती हुन् नेपाली आत्मा भनेका ।
त्यसैले तिनलाई प्रतिनिधित्व गर्ने राजनीति आजको आवश्यकता हो ।
नेतृत्व तिनलाई चाहिएको हो ।

९. जुन मूल्य र विश्वासको बलमा राष्ट्र खडा भयो, गरियो,
तिनै मूल्य र विश्वासमा अडिएर मुलुकका विकास र समुन्नतिका नवीन आधारशिलाहरू निर्माण गर्नु नै राष्ट्रियता र राष्ट्र भक्ति हो ।
अब आएर त सबैलाई स्पष्ट भैसकेको हुनु पर्दछ– वर्तमान स्वरूप र चरित्रमा नेपाल बाँच्न सक्दैन,
उन्नति र प्रगति गर्न सक्दैन ।
यही अवस्थामा रहे हाम्रा लागि सिक्किम र तिब्बतको नियति धेरै टाढा नहुन सक्दछ ।

१०. क्रान्तिकारी बन्ने होड र रहरमा हामीले जसैगरी राष्ट्रको बीज मूल्य र सँस्थालाई सजिलै भत्काउन सकिँदो रहेछ ।
बाह्य शक्तिको बल र भरमा, लोभानी र पपानीमा बिकेर त्यसो गर्न कठिन रहेनछ ।
तर एउटा सम्मानित र सबैले विश्वास गर्ने सँस्था र संरचना बनाउन कत्तिको कठिन मात्रै होइन, असम्भव जस्तै रहेछ भन्ने कुरा त अब बडे–बडे कथित क्रान्तिकारीहरूलाई पनि प्रष्ट भयो होला ।
बुझ्नु पर्दछ ! विश्वका अनेकौँ राज्य र राष्ट्रहरू क्रान्तिकारिताको नाउमा लुप्त भएका छन्, नष्ट–भ्रष्ट भएका छन् ।
सवाल त्यो सूचीमा नेपाललाई पार्ने कि नपार्ने भन्ने मात्रै हो ।

११. मुलुक भनेको जनताका सँस्थाहरू हुन् ।
संरचना हुन् ।
विश्वास र संस्कृति हुन् ।
रहनसहन र परम्परा हुन् ।
संविधान, नियम, कानुन र राजनीतिक व्यवस्थालाई तिनैमा उनेर खडा गर्ने हो ।
कुनै कपीपेस्ट होइन त्यो ।

त्यसैले प्रश्न हो– प्रजातन्त्रको पुनर्स्थापनापछिको तीन दशक र गणतन्त्र भिराइएपछिको डेढ दशकमा आमनेपालीले विश्वास र सम्मान गर्ने यौटै पनि नेतृत्व र सँस्था किन खडा हुन सकेन ?
विश्वास र संस्कृति किन निर्माण गर्न सकिएन ?

र, उत्तर हो– जे–जति देखिए र बने ती राष्ट्रको बीज मूल्य र चेतनामा निर्माण भएका थिएनन् !
तिनलाई जनताको विश्वास, चेतना र संस्कृतिमा खडा गरिएनन् ।
खडा भएनन् ।

OOO

यो पनि हेर्नुहोस्–

हामीलाई स्वतन्त्र राज्यको रूपमा नेपाल किन चाहियो ?
नेपाल-भारत-चीन सम्बन्धको परिप्रेक्ष्यमा वीपी र राजा महेन्द्रका एकाध प्रसङ्ग