मुलुकका समस्या समाधान गर्न ‘भिजन भएको काङ्ग्रेस’ आवश्यक : रामचन्द्र पौडेल

मुलुकका समस्या समाधान गर्न ‘भिजन भएको काङ्ग्रेस’ आवश्यक : रामचन्द्र पौडेल


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जोड–घटाउ गर्दै सत्ताप्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने धारणा अघिसारेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार वाग्मती प्रदेशका काङ्ग्रेस नेता–कार्यकर्ताहरूसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने तर्क गरे ।

कम्युनिष्टहरू विभाजन भएर सत्ता प्राप्ति गर्ने काङ्ग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै नेता पौडेलले मुलुकका सबै समस्या समाधान गर्ने मिशनका लागि ‘भिजन भएको काङ्ग्रेस’ आवश्यक रहेकामा जोड दिए । उनले काङ्ग्रेसको आगामी १४औँ महाधिवेशनले त्यो मिशनका लागि भिजन भएको काङ्ग्रेस बनाउने दाबी गरे ।

अहिले कम्युनिष्टहरूले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकको समस्या समाधानका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उनले मुलुकमा सङ्कट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु शोभनीय नभएको बताए ।

विश्वका पूँजीवादी र कम्युनिष्ट देशहरू पनि उपभोक्तावादी भइसकेको जिकिर गर्दै नेता पौडेलले विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्नेमा जोड दिए ।