काङ्ग्रेसले जुनी फेर्न खोजेकै हो त ?

काङ्ग्रेसले जुनी फेर्न खोजेकै हो त ?


गिरिजा शंकरबाट

काठमाडौं । नेपाली काङ्ग्रेसले आफ्नो इतिहासमा नगरेको काम यसपटक गऱ्यो, अर्थात् कुनै विषयमा गम्भीरताका साथ छलफल गरी निर्णयमा पुग्ने परम्पराको थालनी काङ्ग्रेसले यसपटकदेखि गरेको छ । उपचुनावको पराजयपश्चात् काङ्ग्रेसले आफ्नो छविमा सुधार ल्याउने कदम विशेष गम्भीरताका साथ चाल्न थालेको छ । यद्यपि काङ्ग्रेस अहिले जसरी हिँड्न खोज्दैछ यसरी हिँड्ने प्रयास प्रजातन्त्र स्थापना हुनेबित्तिकैदेखि नै गरेको भए सम्भवतः आज त्यस पार्टीको हविगत यस्तो हुने थिएन । ढिलै भए पनि सुधारका निम्ति प्रयत्न गरेबाट काङ्ग्रेस का कार्यकर्ताहरूमा नयाँ उत्साह पैदा भएको छ ।

पिछडिएका विभिन्न जनजातिको आर्थिक स्तर सुधार, शिक्षित बेरोजगारहरूका लागि रोजगारीको विभिन्न प्रभावकारी उपायहरू अवलम्बन, प्रत्येक गाविसमा स्थानीय १० जना महिलाहरूलाई शिक्षण पेशामा संलग्न गराउने, नागरिकता प्राप्तिको समस्यालाई तत्काल समाधान गर्ने, माओवादी आतंकवाद तथा अन्य अपराधजन्य असुरक्षाबाट जनतालाई सुरक्षा दिने, किसानहरूका हितका लागि प्रत्येक गाविसमा पशुस्वास्थ्य चिकित्साको व्यवस्या तथा गाविसमा लेखापालको व्यवस्था गर्नका निम्ति काङ्ग्रेसले दर्शाएको तदारुकतालाई सरकारले कार्यान्वयन गर्न–गराउन सक्ने हो भने काङ्ग्रेसको लोकप्रियता बढ्ने नै छ, त्यसबाहेक प्रजातन्त्रस्थापना पश्चात् जनतामा देखापरेको नैराश्य अन्त्य गर्न पनि काङ्ग्रेसको यो बैठकको निर्णय कामयावी हुने देखिन्छ ।

मन्त्रिमण्डलको आकार र स्वरूप घटाउन सरकारलाई निर्देशन दिएर काङ्ग्रेसले जनताको मन जित्न खोजेको छ । त्यसैगरी भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न सार्वजनिक रूपमा चर्चामा आएका भ्रष्टाचार र अनियमिततामाथि छानविन गर्न सरकारलाई निर्देशन दिने काम काङ्ग्रेसले गरेको छ । स्थानीय निकायहरूलाई बढ्ता जनमुखी र प्रभावकारी बनाउन विकेन्द्रीकरण आयोगले दिएको प्रतिवेदनका आधारमा ऐन–कानुनको तर्जुमा गरी स्थानीय चुनाव सम्पन्न गरिनुपर्दछ भन्ने अडान पनि काङ्ग्रेसले प्रस्तुत गरेको छ ।

समाधान खोज्ने काङ्ग्रेसको निर्णय त्यस्तै वर्तमानमा देखापरेको विकृत एवम् विसंगतिहरूको निरूपण गर्नका लागि प्रतिपक्षीहरूसँग छलफल गरी उपयुक्त समाधान खोज्ने काङ्ग्रेसको निर्णयले वर्तमान समस्याहरूप्रति काङ्ग्रेस निश्चित रहेको कुराको परिपुष्टि गरेको छ । समग्रमा भन्नुपर्दा काङ्ग्रेसको वर्तमान निर्णयहरू अत्यन्त महत्वपूर्ण, सामयिक र जनपयोगी देखिएका छन् । निर्णयहरूको कार्यान्वयनमा पनि त्यनिकै तदारुकता लिन सक्यो भने मुलुकले निकै राहत पाउने विश्वास गर्न सकिन्छ ।

तर काङ्ग्रेसका निर्णयहरू कार्यान्वयन तहमा आउन सक्लान् भन्ने कुरामा जनमानस शेरबहादुर देउवाको ‘हल्काफुल्का शैली’ र बेजिम्मेवार प्रवृत्तिले जनतामा त्यस किसिमको आशंका उत्पन्न गराएको हो भन्ने कुरामा सायद शंका गर्नुपर्ने ठाउँ पनि छैन । मन्त्रिमण्डलको आकार र स्वरूपमा ‘परिवर्तन ल्याउने कदम प्रधानमन्त्रीका तर्फबाट चाल्न सकिने सम्भावना पनि अत्यन्तै क्षीण मात्र देखिएको छ । सरकार बचाउनका लागि मात्र काम गर्ने वर्तमान प्रधानमन्त्री शैलीमा परिवर्तन भएसम्म जनताले विशवास गरिहाल्ने स्थिति छैन ।

प्रजातन्त्र र काङ्ग्रेसप्रतिको नकारात्मक भावना जो विकास हुँदै गइरहेको छ, त्यसको लागि प्रमुख जिम्मेवार भनेको काङ्ग्रेसकै कार्यशैलीमा रहेको खोट हो, आफूमा रहेको कार्यशैलीगत खोटको उपचार गर्नेतर्फ काङ्ग्रेस को यो बैठक त्यति संवेदनशील रहेको देखिएन । बैठकमा आमन्त्रित सदस्यहरूबाट नाममा ठूलो भीड जम्मा गरेर काङ्ग्रेस नेतृत्वले वास्तविक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको कार्यक्षमतामाथि नै प्रश्नचिन्ह लगाइदिएको छ । केहीलाई छोडेर अधिकांश केन्द्रीय सदस्यहरूको क्षमतामाथि त्यसै पनि शंका उत्पन्न भइरहेको बेला बैठकमा यसरी आमन्त्रित सदस्यहरूको भीड जम्मा गर्नाले उक्त आशंकालाई नै पुष्टि गर्ने काम गरेको छ । केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्ताहरूको आचरण, काम, कर्तव्य र अधिकारको स्पष्ट बोध गराउन नसक्ने हो भने काङ्ग्रेस कुनै ठोस परिवर्तन गराउन नसक्ने हो भने काङ्ग्रेस मा ठोस परिवर्त हुने कुरामा विश्वास गर्न सकिन्न । यसपटकको बैठक सरकारको अलोकप्रियताको अप्रेशन गरी ठोस निष्कर्षमा पुग्न जसरी समर्थ भयो, त्यसैगरी पार्टीभित्रको समस्याहरूमाथि पनि गम्भीर विचारविमर्श गरी समाधानका उपायहरू पत्ता लगाओस् भन्ने जोड कार्यकर्ताहरूको रहेको देखिन्छ ।

समग्रमा भन्नुपर्दा काङ्ग्रेसमा देखापरेको परिवर्तन आफैंमा सकारात्मक छ । केही समयअघिसम्म गणेशमान सिंह, बेनीबहादुर र महेन्द्रनारायण निधिको स्वास्थ्य तथा बनारसको पानको विषयमा मात्रै चर्चा हुने काङ्ग्रेसको बैठकमा अहिले मुलुक, प्रजातन्त्र र काङ्ग्रेस र पार्टीको स्वास्थ्यको बारेमा चिन्ता र चर्चा हुन थालेको छ, यो आफैमा स्वागतययोग्य छँदैछ, अब भविष्यमा पनि यही प्रक्रिया अरु दृढताका साथ अघि बढाउन सके काङ्ग्रेसको भविष्य सुन्दर हुने कुरामा शंका गर्नुपर्ने देखिन्न, काङ्ग्रेसले जुनी फेर्न सक्छ ।

(घटना र विचार साप्ताहिक, २०५३ माघ २३ गते बुधबार)