बही बुझ्ने व्यवस्थाको स्थापना

बही बुझ्ने व्यवस्थाको स्थापना


अरबी भाषामा ‘बयाज’ शब्दको अर्थ हुन्छ हस्तलिखित कविताको पत्र सङ्ग्रह । श्री ५ राजेन्द्रका समयमा लेखिएका सबै कागजपत्र नेपाली काँचा कागजका बन्द माडले गाँसेर लेखिएका हुन्थे र यिनै बही कहिन्थे । तर, धेरै बन्द गाँस्दा असम्भार हुने हुनाले कौसीतोशाखाना आदिका स्याहाहरू पत्र खप्टेर राखिन्थे । यी पनि बहीमा गनिन्थे । यसको सम्बन्ध अरबी शब्द ‘बयाज’सँग मानिन्छ । यसै ‘बही’ शब्दमा खरिदार शब्दको अनुकरण गरेर फारसीको ‘दार’ प्रत्यय जोडेर बनेको ‘बहीदार’ शब्दले बहीपत्र लेख्ने कर्मचारीको अर्थ प्रकट गर्दछ । बहीपत्रको ‘स्रेस्ता’ शब्दसँग निकट सम्बन्ध रहेको छ । फारसीको ‘सरिश्त’ शब्द अधिकरण (अड्डा) का अर्थमा व्यवहार हुन्छ । हाम्रो भाषामा आएर बिग्रेको रूप स्रेस्ता शब्द अड्डाखानाका लेखापढीका अर्थमा व्यवहार हुन्छ ।

स्रेस्तासँग नित्य सम्बन्ध राख्ने ‘स्याहा’ शब्द हाम्रो भाषामा प्रचलित छ । फारसीका ‘सियाह’ शब्दको अर्थ नगद र जिन्सीको आय–व्यय लेखिएका बहीका अर्थमा व्यवहार हुने हुनाले सियाह शब्दकै विकृत रूप स्याहा देखिन आएको छ । बही बुझ्ने शब्दको अर्थ बहीपत्र बुझी हेरी जाँच्ने काम देखिन्छ । अरबी भाषाका ‘फारिग’ शब्दको अर्थ तोकिदिएको काम सक्ने कर्मचारी र अरबी ‘खत’ शब्दको अर्थ लेख हुनाले फारिग खत ‘फारखत’ को अर्थ गरेको काम सिध्याई दाखिल गरेका स्याहा स्रेस्तासमेतका बहीपत्र जाँची गरिदिएको मुक्तिपत्र हुन्छ । यिनै शब्द कोटकरीमा ‘फारख’ प्रयोग गरिएको पनि देखिन्छ ।

बही बुझ्ने विषयका बहीलगायत सबै शब्द अरबी–फारसीका देखिएका हुनाले बही बझ्ने र फारखती दिने कामसमेत मुगलशाहीको अनुकरण गरी मकवानपुरदेखि विजयपुरसम्म सेनराजाहरूले चलाएका हुनाले श्री ५ पृथ्वीनारायण शाहले पनि बही बुझ्ने व्यवस्थाको आरम्भ गरेको देखिन्छ ।

सेनराजाहरू लगत ठीक भएका जग्गाको मालपोत तहसील गर्ने काम सानासाना जमीनदार र चौधरीहरूका जिम्मा सौंपन्थे र तिनैलाई सयकडा पाँच जति असूलतहसील गर्ने खर्च हटाई बाँकी चौधरीसँग र चौधरी नभएका मौजाहरूको जमीनदारबाट लिन्थे । लगत ठीक नभएका मौजाहरूमा अलगअलग कामदारकारिन्दा पठाई रैतीसँग रहेको जमीनको र उब्जनीको लेखाजोखा गरी नगद वा जिन्सी असूल गरी राजकोषमा दाखिल गराउँथे । चौधरी–जमीनदारहरूले मालपोत तहसील गर्दा लगतभन्दा बढी पनि सकेसम्म उठाउँथे र रैतीउपर टन्टा लगाई गाउँ उजाड पनि गर्दथे । सरकार र रैतीका बीचमा रहेर जमीनदारहरूले ठेक्का लिँदा बीचमा बसेर धन उडाएको देखी श्री ५ पृथ्वीनारायण शाहले ठेक्का लगाउने काम नै बन्द गरिदिए । असूलतहसील गर्ने विषयमा मात्र होइन खर्च गर्ने विषयमा पनि मुगलको अनुकरण गरी सेनराजाहरू ठेक्का लगाउँथे । अब खर्च गर्ने विषयमा इस्पात र बन्दुक चलाउँदा उपयोग गर्नुपर्ने पत्थर आफ्ना राज्यमा तयार हुन नसकेका हुनाले मुगलानातिर आफ्ना मानिस पठाई रूपैयाँ खर्च गरेर माल झिकाउनुपर्दथ्यो ।

लडाइँलाई चाहिने बारुद बनाउनाका निमित्त सोडा महोत्तरीमा तयार हन्थ्यो । आफ्नै राज्यमा रहेका ताँवाखानीबाट गन्धक निकालिन्थ्यो र अंगार तयार गर्नलाई रहरका बोट तलहट्टीमा तयार हुन्थे र बैंसका रूख काठमाडौँ उपत्यकामा तयार थिए । कम्पनीका सैनिकहरूलाई चाहिने कसनतमनका भाँडाबर्तन ललितपुरमा तयार हुन्थे । बोकानीका निमित्त चाहिने कुल्लीभरिया पनि नेपालमा नै तयार थिए । ओखतीमलो पनि नेपालकै वनजङ्गलबाट निस्कन्थ्यो । यस कारण सरकारी कोषबाट खर्च भएको रूपैयाँ नेपाली जनतामा नै फिँजिन्थ्यो । थोरै अंश फेरि भूमिकर र राजअंकका रूपमा राजकोषमा नै दाखिल हुन्थ्यो । यो देखेर नै श्री ५ पृथ्वीनारायण शाहले सारा सरकारी काम अमानतबाट गर्ने व्यवस्था गरेको देखिन्छ ।

अमानतबाट काम गर्दा सानातिना राजकर्मचारीबाट मात्र गराएर निर्वाह चल्दैनथ्यो, खजाञ्ची, कपर्दार र सेनापतितकलाई लगाउनपर्दथ्यो । यिनीी धन देखेर दुराचार फैलेमा भारादारलाई धन जम्मा गर्न नदिने जो नीति पृथ्वीनारायण शाहले बनाएका थिए, त्यो चौपट भई बिग्रने भय पनि थियो । यो भय मेट्नलाई बहीपत्र ठीकठीक तयार गराउने र त्यसमा लेखिएबमोजिम आम्दानी र खर्च भएको ठीक छ–छैन भनी उनले कच्चा बुझ्नेसमेत प्रबन्ध मिलाएका थिए ।

काठमाडौँ उपत्यकाका मल्लराजाहरूका आम्दानी–खर्चको हिसाब राख्ने काम काठमाडौं उपत्यकाका जोशीहरू गर्दथे । दिनदिनको आम्दानी–खर्च लेख्दा वर्ष, महीना र दिनको उल्लेख गर्नुपर्दथ्यो । तर, यी जोशीहरू संवत्, महिना र तिथि लेख्दथे । तिथि टुट्ने र बढ्ने पनि हुनाले गोर्खाली जोशीहरूलाई व्यवहार गर्न कठिन पर्दथ्यो । दरभङ्गातिरका कायस्थहरूको भाषा कैथी थियो तापनि खश भाषा बोल्ने गोर्खालीका समझमा आउन कठिन थिएन । उनीहरू तिथिको व्यवहार नगरेर प्रत्येक महीनाका बहुलपक्ष र शुक्लपक्षको दिनको गणना गर्दथे । दिनको संख्या टुट्ने भए तापनि बढ्ने हुँदैनथ्यो । यस कारण घरेलु व्यवहारका निम्ति गोर्खालीहरूले पनि यस मितिपत्रलाई अपनाएका थिए । गोर्खामा स्याहारोस्ताको चलन नहुनाले गोर्खाली जोशीहरू स्याहा लेख्दैनथे तापनि कायस्थले लेखेका स्याहास्रेस्ता, बही उनीहरू जाँच्न सक्तथे । यस कारण दरभङ्गा जिल्लासँग जोडिएको र नेपालमा मिलेको महोत्तरी जिल्लामा पनि कायस्थहरूको बस्ती भएको हुनाले यिनैबाट स्याहास्रेस्ता र बहीपत्रसमेत तयार गराउने र आफ्नै देखरेखमा बहीपत्र जाँची फारखती दिने नियमको जग श्री ५ पृथ्वीनारायण शाहले २१ मार्च, १७७० मा काठमाडौंलाई राजधानी गराएपछि लगत्तै आरम्भ गरेको देखिन आएको छ । भारादारहरूका कामको बहीपत्र आफ्नै देखरेखमा जँंचाए पनि भारादारभन्दा मनिका कामदार–कारिन्दाहरूले गरेका कामको बहीपत्र भारादारहरूद्वारा जँचाउने गरेको अनुमान हुन्छ ।

केहरसिंह, अभिमानसिंह र धोकलसिंह तीन जना बस्न्यातभाइहरूले लडाइँको काम गर्दा खर्चको काम मात्र गरेका हुनाले बहीपत्र तयार गर्न उत्तिको कठिन पर्दैनथ्यो । तर, खजाञ्ची वीरभद्र उपाध्यायले नगदी आम्दानी–खर्चको र कपर्दार कालिदास खड्काले जिन्सी आम्दानी–खर्चको काम गर्नुपर्ने भएकोले लडाइँका कामलाई र राजदरबारका खर्चलाई चाहिएको नगदी–जिन्सी राजकोषमा नभएमा बिर्तावाल र व्यापारीहरूबाट सरसापट लिई काम चलाउनुपर्दथ्यो र पछि बही बुझाउँदा हिसाबकिताब देखाई, जँचाई फारख लिनुपर्दथ्यो । खजाञ्ची वीरभद्र उपाध्यायले सिंधुलीको लडाइँको निमित्त लगेका रूपैयाँले नपुग्दा मन्थलीका उदयनारायणसँग लिएका सापटी फाँट पनि बहीपत्र बुझाउँदा देखाएका हुनाले नै श्री ५ पृथ्वीनारायण शाहले उदयनारायण घिमिरेको रूपैयाँ भर्ना गर्न नपर्ने देखेर त्यस रूपैयाँबापत उनको किनुवा बिर्ताको थमौती गरिदिएको कुरा माथि लेखिसकिएको छ ।

कपर्दार कालिदास खँड्का कपर्दारीको काममा नियुक्त भए तापनि जस्तो खजाञ्ची वीरभद्र उपाध्याय सिँधुलीका लडाइँमा स्वयम् लडेका थिए, कपर्दार कालिदास खँड्का पनि बराबर लडाइँमा सम्मिलित हुन्थे । यिनले इ. सं. १७७२ मा लमजङ्गको रागिनासगढी दखल गर्न खोज्दा नसकेकाले श्री ५ पृथ्वीनारायण शाहले ‘डुंगा फोर्नालाई दश बाह्र रूपैयाँ खर्च गर्नु । पछि मोजरा गरिदिउँला’ भनेर बही बुझ्दा मोजरा दिउँला भन्ने सङ्केत गरेका थिए । तमाम जिन्सी मालको बन्दोबस्त र आम्दानी–खर्च गर्दा पनि नपुगेमा सरसापटी लिएर खर्च चलाउनुपर्दथ्यो र बही बुझाउँदा सापटी देखाएर भर्ना लिनुपर्दथ्यो । यस तरहसँग संवत् १८२८ सालको बही बुझ्दा कालिदास खँड्काले सरसापटी गरी सरकारी काममा लगाएको ‘सुन तावो सीसा गैह्र नगद जिनिस लेखा गर्दा’ ४१५३ रूपैयाँ चानचुन देखिएको र उस समयमा राजकोषमा रूपैयाँ जम्मा नभएर होला ‘अघाउ वापति मांहा बिन्ति गर्नु र बक्सौँला’ भन्ने लालमोहर श्री ५ पृथ्वीनारायण शाहले गरिदिएका थिए ।

पर्सिपल्ट फूलपातीका दिन बाँकीबक्यौता फास्र्याइदिने नियम भएकोले सो दिन फास्र्यादिइएको पनि होला । जो भए पनि श्री ५ पृथ्वीनारायण शाह आफ्ना भारादारतकको बही बझ्दा खुब जाँच गरेर मात्र फारखती दिन्थे, यस कुरामा सन्देह छैन ।

(श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’बाट)