त्रिशुली नदीमा ‘जीप’ खसेको आशङ्का, प्रहरी टोली घटनास्थलमा

त्रिशुली नदीमा ‘जीप’ खसेको आशङ्का, प्रहरी टोली घटनास्थलमा


विकास रौनियार, धादिङ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोलानजिकैबाट त्रिशूली नदीमा गाडी खसेको आशंका गरिएको छ। मुग्लिङबाट काठमाडौंतर्फ जाँदै गरेको स्कार्पियो जिप खसेको जानकारी स्थानीयले गराएपछि प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।

जवाङखोलाकै एक स्थानीय महिलाले गाडी खसेको कुरा बताएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरी धादिङका प्रमुख नेत्र भट्टले बताए । स्थानीयको सूचनाको आधारमा हामी घटनास्थलमा अनुसन्धान कार्य गरिरहेका छौँ, दुर्घटना भएको भनिएको ठाउँमा खसेको पुष्टि हुने बलियो प्रमाण छैन, खसेको भनिएको ठाउँबाट त्रिशुली नदी सिधा पर्ने भएकाले गाडी त्रिशुलीमा बेपत्ता भएको पनि हुन सक्ने भट्टले बताए ।

भट्टका अनुसार दुर्घटनाको प्रकृति हेर्दा मुग्लिन तर्फबाट काठमाडौंतर्फ आएको देखिन्छ । अहिले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका गोताखोरको टोली र धादिङ प्रहरीले समेत खोजी कार्य तीव्र पारेको छ ।

गाडी खसेको देख्ने महिलाको बारेमा प्रहरीले सबै विवरण खुलाएको छैन । ‘उहाँ हामीसँगै हुनुहुन्छ’ भट्टले भने, ‘उहाँले दिएको विवरणअनुसार अनुसन्धान र खोज तलास गरिरहेका छौँ ।’ गाडी खसेको भनिएको ठाउँमा तत्काल सशस्त्रका प्रहरी बलका जल उद्दारकर्मी परिचालन गरिएको भए पनि केही पत्ता लागेको छैन । घटनास्थलतर्फ धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पनि पुगेका छन् ।