कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाँदै

कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाँदै


कोरोना भाइरसको स्रोत पत्ता लगाउनको लागि विश्व स्वास्थ्य संगठनले एक विशेष टिम चीन पठाउन लागेको संगठनले जनाएको छ ।

कोभिड–१९ को राजनीतिकरण तथा यसबारे विभक्त विश्वका बीच डब्लुएचओले कोरोना महामारीको अझै डरलाग्दो चरण आउन बाँकी नै रहेको चेतावनी दिएको छ । यही क्रममा आगामी साता आफ्नो विशेष टिम चीन पठाएर वैश्विक महामारी फैलाउने भाइरस आखिर कहाँबाट आएछ भनी अनुसन्धान गर्न लागेको जानकारी डब्लुएचओले गराएको हो ।

गत मे महिनाको आरम्भदेखि नै डब्लुएचओले कोरोना भाइरसको एनिमल सोर्स पत्ता लगाउने कार्यमा मद्दत गर्न आफ्नो विशेषज्ञ समूहलाई चीन बोलाउन आग्रह गर्दै आएको थियो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोमले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भनेका छन्– ‘जब यो भाइरसको बारेमा हामीलाई सबै जानकारी हासिल हुन्छ तब मात्र यसविरुद्ध सही तवरले लड्न सकिन्छ । तसर्थ, यो कहाँबाट कसरी उत्पत्ती भयो भन्ने पत्ता लगाउनु आवश्यक छ ।’

वैज्ञानिकहरूको मान्यता रहँदै आएको छ कि उक्त भाइरस जनावरबाट मानिसमा सरेको हो र सम्भवतः वुहान शहरको एक मासु–बजार नै यसको उत्पत्ति थलो हो ।