नेपाल प्रहरीको भावी आइजीपी को ?

नेपाल प्रहरीको भावी आइजीपी को ?


■ सनत आचार्य

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको सेवा निवृत्त हुन अब दुई साता पनि बाँकी छैन । ज्ञवाली सेवा निवृत्त हुने दिन जति–जति नजिकिँदै छ, भावी आइजीपीको जिम्मेवारी कसलाई दिइएला ? भन्ने विषयले प्रहरी संगठनभित्र र सचेत नागरिक तप्कामा चासो अनि चर्चा हुन थालेको छ ।

यही असार २४ मा आइजीपी ज्ञवाली र पहिलो नम्बरमा एआइजी बढुवा भएका तारिणी लम्साल पनि सेवा हदका कारण सेवानिवृत्त हुँदैछन् । त्यसपछि शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्ने छन् ।

ज्ञवाली सेवानिवृत्त भएपछि नेपाल प्रहरीले २८औँ प्रहरी महानिरीक्षकको रूपमा अर्को एउटा नयाँ नेतृत्वकर्ता पाउने छ भने अब हुने आइजीपीको सेवावधि करिव २२ महिनाको हुने छ ।

प्रहरी सङ्गठनभित्र सामान्यतया मौजुदा एआइजीबाट नै महानिरीक्षक छनोट गर्ने प्रचलन छ । यो पटक एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालबीच कडा प्रतिष्पर्धा हुने निश्चित छ । हालसम्म यी दुवै नै एआईजी पदका लागि प्रत्यक्ष रूपले मैदानमा छन् । त्यस्तै, एक जना अति महत्वाकाङ्क्षी डिआइजी पनि मौजुदा एआइजीहरूलाई उछिन्दै आइजीपी बन्न कसरत गरिरहेका बुझिएको छ । यी उच्च महत्वाकाङ्क्षी उम्मेदवार पनि आन्तरिक भेटघाट र छलफलमा दौडिरहेका स्रोतको दाबी छ ।

थापा र पाल दुवै ०४९ साल बैसाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरूसँगै निरज शाही र प्रद्युम्न कार्की गत असोजमा डिआइजीमा बढुवा भएका थिए भने वरिष्ठताको आधारमा थापा र पाल गत फागुन १५ गते क्रमशः दोश्रो र तेस्रो नम्बरमा एआइजीमा बढुवा भएका थिए ।

सँगै प्रहरी सेवामा प्रवेश गरेका निरज शाही, प्रधुम्न कार्की, प्रकाशजंंग कार्की, ईश्वरबाबु कार्की, घनश्याम अर्याल अहिले डिआइजी छन् भने गणेश ऐर, पुरुषोत्तम कँडेल, दिलिप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, उमेश रञ्जितकारलगायतका सहकर्मीहरू अझै एसएसपी नै छन् ।

थापा र पालमध्ये एक जना आइजीपीमा बढुवा भए बाँकी एक सिनियर एआइजी पदमै रहने छन् । त्यसपछि यसै समुहका डिआइजी मध्येबाट दुई जना एआइजी बन्ने छन् । अबको एआइजीमा निरज शाही र प्रद्युम्न कार्कीको सम्भावना प्रवल देखिन्छ ।

त्यसपछि रिक्त हुने दुई डिआईजीमा एसएसपीको व्याजबाट दुई जना डिआईजीमा बढुवा हुने छन् । यसपटकको डिआईजी बढुवामा गणेश ऐर, पुरुषोत्तम कँडेल र दिलिप चौधरी मध्येबाट दुई जना पर्ने सम्भावना बढि देखिएको छ । यी सबै थापा र पालकै सहकर्मी समुहका हुन् ।

गत चैत्रको अन्तिम साता प्रहरी प्रधान कार्यालयले तयार गरेको बढुवा सूचीमा गणेश ऐर एक नम्बरमा थिए, तर उनी बढुवा सिफारिसमा पर्न सकेनन् । कँडेल दोश्रो नम्बरमा छन् भने दिलिप चौधरी तेस्रो नम्बरमा । ऐर गत २ वर्षदेखि राष्ट्रिय सुरक्षा परिषद्मा छन् । कँडेल आर्थिक प्रशासन महाशाखा र दिलिप चौधरी लागुऔषधमा ।

आइजीपीको दौडमा रहेका थापा र पालले राजनीतिक भेटघाटलाई गोप्य रूपमा तीब्र बनाएको बुझिएको छ । दुवैले सत्तारुढ दलका प्रभावशाली नेतालगायत केही मुख्यमन्त्रीसँग आफूलाई सहयोग गर्न आग्रह गरेका र आफूले पनि भविष्यमा सहयोग गर्ने बचन दिने गरेको बुझिएको छ । उनीहरू बीच भद्र सहमति भए तापनि दुवैबाट भित्रभित्रै सहमति पालना नभएको देखिन्छ ।

तर, नेपाल प्रहरीका एक जना पूर्वअधिकारी आइजी बन्नका लागि यस प्रकारको भेटघाटलाई उचित भन्न नमिल्ने बताउँछन् । उनको बुझाइमा यस्तो भेटघाटले कालान्तरमा सङ्गठनलाई कमजोर बनाउने र प्रहरी सङ्गठनभित्र राजनैतिक हस्तक्षेप बढ्न सक्छ ।

नेपाल प्रहरीभित्र शैलेश थापा क्षत्रीको पहिचान भद्र, स्वच्छ छवि भएका, सरल, अध्ययनशील, चरित्रवान, नीतिगत निर्णय गर्न सक्ने र आर्थिक प्रलोभनमा नपर्ने कर्मठ अधिकृतको रूपमा रहेको छ । उनीसँग तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेको अनुभव पनि छ । सेवा अवधिको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा समेत चिनिन्छन् । थापाको पारिवारिक पृष्ठभूमि प्रहरी सङ्गठनसँग नै जोडिएको छ । उनका बाबु शम्भु थापा पनि नेपाल प्रहरीको डिआईजी पदबाट सेवा निवृत्त भएका थिए ।

यस्तै, हरिबहादुर पालको पनि नेपाल प्रहरीमा आफ्नै पहिचान छ । प्रहरी सङ्गठनभित्र उनी कडा मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । पालको फिल्ड अप्रेशनमा राम्रो दख्खल रहेको छ । यिनको विभिन्न जिल्लाहरूमा काम गरेको अनुभव छ । यसअलावा आतङ्कवाद तथा प्रतिआतङ्कवाद विशेष रणनीति तथा कारवाही गर्ने विशेष ब्युरोमा पाल कार्यरत रहँदा तराईका भूमिगत र विप्लव समुहमाथि गोप्य निगरानी बढाउन सफल भएका र सोही आधारमा ब्युरोले ठूलो सङ्ख्यामा हातहतियार र विस्फोटक पदार्थ नियन्त्रण गर्न सफलता पाएको थियो ।

थापा र पालमध्ये पाल राजनैतिक पहुँच भएका र प्रधानमन्त्री ओलीसँग निकट रहेका बताइन्छ । यिनी राजनीतिकर्मीहरूसँग बढि हिमचिम बढाउने अधिकारीका रूपमा पनि चिनिन्छन् । उता थापाको रैथाने घर भक्तपुर भएकोले उनी पनि प्रधानमन्त्री ओलीका निकट नै रहेका र किचन क्याबिनेटका सदस्यहरूसँग उनको पनि खास सम्बन्ध रहेको बताइन्छ । यी दुवैको राजनीतिक पहुँच पनि सामान्य नरहेको स्रोतको दाबी छ ।

आइजीपि बन्न फोहरी खेल खेल्न नहुने

विगतमा आइजीपी बनाउन प्रहरी सङ्गठनभित्र नै पक्ष–विपक्षमा खुलेर लागेका अस्वस्थ खेल यो पटक प्रहरीमा देखिँदैन । सङ्गठनका अधिकांश प्रहरी अधिकृत अहिले मौन देखिन्छन् । उनीहरू कसैको पक्षमा बोल्न रुचाउँदैनन् । किनभने, विगतमा विभाजित प्रहरी सङ्गठनका अधिकृत आफूअनुकुल नेतृत्व नआएपछि पेलानमा परेको नजिरका कारण पनि यो पटक सङ्गठन मौन देखिन्छ । प्रहरी सङ्गठनभित्र यस्तो मौनता देखिनुलाई सकारात्मक रुपमा हेरिनु पर्दछ ।

त्यस्तै, विगतमा मिडियाको गलत प्रयोग गरेर एकआपसमा हिलो छ्यापाछ्याप गर्ने, चरित्र हत्या गर्ने फोहरी खेल भएका तमाम उदाहरण छन् । आइजीपी बन्ने होडमा मिडियाको गतल प्रयोग गर्ने, एकअर्काको चरित्र हत्या गर्ने, सङ्गठनको बदनाम हुने गरी प्रचारप्रसार गर्ने, एकआपसमा झुठा आरोप–प्रत्यारोप लगाउने जस्ता अमर्यादित कार्य नगर्न पनि नेपाल प्रहरीका शुभचिन्तकहरू आग्रह गर्दछन् । प्रतिष्पर्धीहरूले यस्तो फोहरी खेललाई सदाका लागि अन्त्य गर्न आवश्यक छ । यस्तो फोहरी खेलबाट कुनै एक जना व्यक्ति सङ्गठनको नेतृत्वकर्ता त बन्ला तर यसले समग्र सङ्गठनको नै बदनामी र उपहास बनाउनुका साथै सङ्गठनलाई कमजोर बनाउँछ । यसबारे पनि प्रतिष्पर्धीले सोच्न जरुरी छ ।

त्यस्तै, भावी आइजीपी कसलाई बनाउने भन्नेमा सरकार, सत्तापक्ष, प्रतिपक्ष, उद्योगी–व्यापारी र अवैध कारोबारीहरूका लागि समेत विशेष चासो रहने विगतको अनुभवले देखाउँछ । विगतमा उच्च राजनैतिक व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिई आइजी बन्ने गरेको सङ्गठनका पूर्वअधिकारीको आरोप छ । मैदानमा उत्रिएकाहरूले आर्थिक चलखेल गर्ने, राजनैतिक नेतृत्वलाई जथाभावी आश्वासन दिने जस्ता बाध्यताबाट गुज्रनु पर्दछ । सङ्गठनको नेतृत्व पावर र पैसाबाट भन्दा पनि आफ्नो पेशागत क्षमता–योग्यतालाई प्रस्तुत गर्दै अगाडि बढेमा यसको गरिमा चुलिँदै जान्छ ।

त्यस्तै, विगतमा नेपाल प्रहरीभित्र महानिरीक्षक बन्ने होडबाजीमा आर्थिक चलखेल र लगानीका कुराहरू पनि नआएका होइनन् । सरकार तथा राजनैतिक नेतृत्वसँग पैसामा यो पद किन्दा यसले प्रहरीको व्यावसायिकता क्षमता र सङ्गठनको सुदृढीकरणमा प्रत्यक्ष असर पर्न सक्ने हुन्छ । यसतर्फ पनि आकाङ्क्षीले ध्यान जरुरी छ । कालान्तरमा आर्थिक प्रतिबद्धता पूरा गर्न अवैधानिक कारोबारी तथा भ्रष्ट व्यापारीसँग हात थाप्नु पर्दा देश तस्कर र भ्रष्टकै हातमा जाने हुन सक्छ । यतातर्फ पनि सजगता अपनाउन जरुरी छ ।

आइजीपी जो बने तापनि स्वस्थ प्रतिष्पर्धाबाट बन्नुपर्छ । आइजी बन्नका लागि एउटा उदाहरण प्रस्तुत गर्न सके यसले प्रहरी सङ्गठनको शीर उँचो बनाई आमनागरिकमा बेग्लै आस्था र विश्वास जार्गत गराउँछ । प्रतिष्पर्धीले यसतर्फ विशेष ध्यान पु¥याइ सोच्न आवश्यक छ ।