‘सिङ्गै ब्रह्माण्ड एकै सूत्रबाट सञ्चालित’

‘सिङ्गै ब्रह्माण्ड एकै सूत्रबाट सञ्चालित’


■ देवप्रकाश त्रिपाठी

आगो पैदा गर्ने प्रयास उनीहरूले धेरै दिनदेखि गर्दै आएका थिए । उपयुक्त पत्थर नभेटिएकोले होला उनीहरूलाई सफलता प्राप्त भएको थिएन । तर, आज आगो पैदा हुने सम्भावना निकै बढेको छ । सुकेका झ्याँस र पतिङ्गरमाथि राखेर रगडिएको पत्थरले आगोको झिल्का उनीहरूका अघिल्ला प्रयासमा भन्दा बढी नै दिइरहेको थियो । आगोमा पकाएर खान नपाएको वर्षौंको झोँक उनीहरू आजै पोख्दै थिए । पसिनाले दुवै जनाको शरीर निथ्रुक्क भिज्यो, रगड्ने क्रम रोकिएन, झ्याँसमा धुवाँ देखापर्ने र बिलाउने क्रम सुरू भयो ।

उनीहरू झनै रगड्न थाले, नभन्दै आगो निस्कियो, झ्याँसमा आगो सल्कियो । उनीहरू खुसीले नाच्न थाले ।

समुद्रले छोडेको झ्याँस र पात–पतिङ्गरहरू जम्मा पारेर अलिक ठूलै आगो बनाइयो त्यहाँ । खोलामा माछाको कमी थिएन । माछा पक्रनु उनीहरूका लागि कुनै मुस्किल कार्य थिएन । प्रलयपछि उनीहरूले सिकेकै त्यही एउटा मुख्य काम थियो । माछा मार्दै आगोमा पोल्ने काम सुरू भयो । दर्जनौँ माछा पोलिए । आगोबाट बनेको खरानीमा लटपटिएको माछा नुनिलो पनि भयो सायद ! सधैंको भन्दा धेरै बढी खाए उनीहरूले ।

कैयन वर्षपछि आज उनीहरू अलिक बढी नै खुसी भएका थिए । घामले छलाङ्ग मार्न लागिसकेको थियो । उनीहरू वासस्थानतर्फ बढे । आगो पैदा हुन थालेपछि काम बढ्यो । आगो पैदा हुने पत्थर र सल्काउने झ्याँस–पतिङ्गरहरू पनि बोकेर उनीहरू घर पुगे । पाकेको खानेकुरा, त्यसमा पनि नुनिलो स्वादमा, आजको दिन उनीहरूका लागि विशेष दिन बनेको थियो । त्यसैले निदाउनुअघिको आजको संलाप उनीहरूले आगो पुनर्प्राप्तिबाटै प्रारम्भ गरे ।

‘आमा, दुईवटा पत्थर रगड्दैमा कसरी आगो पैदा भयो ?’

‘हरेक विषय वा वस्तुमा क्रियापछि प्रतिक्रिया हुन्छ, प्रतिक्रियापछि परिणाम आउँछ । रगड्दा क्रिया र प्रतिक्रिया हुन्छ, आगो पैदा हुनु त्यसैको परिणाम हो । यो सार्वभौम सिद्धान्त हो छोरा । ताप पैदा गर्नका लागि पत्थर नै रगड्नुपर्छ भन्ने छैन, हात रगड्दा पनि ताप आउँछ, तर तापको उत्कर्ष ज्वाला अर्थात् आगो हो । त्यसका लागिचाहिँ पत्थर या त्यस्तै वस्तु नै रगड्नुपर्छ । पहिले पृथ्वीमा बलिया मानिसहरू एकप्रकारका सुकेका काठ रगडेर पनि त्यसमा आगो पैदा गर्ने काम गर्थे ।’

‘आगो तापको उत्कर्ष हो, त्यसैले ज्यादै तातो हुन्छ, बल्छ ठीकै छ । तर यो उज्यालोचाहिँ किन हुन्छ आमा ? ज्वाला कालो वा अँध्यारो किन भएन ?’

‘उज्यालो ज्वालाको गुण हो । ताप उत्कर्षमा पुग्दा उज्यालो बन्छ भने त्यही ज्वालाले कालो निसृत गरिरहेको पनि हुन्छ । ब्रह्माण्डमा हरेक वस्तुहरू आ–आफ्नो गुणअनुसार क्रियाशील हुन्छन् र त्यसैअनुसारको प्रभाव वा परिणाम दिइरहेका हुन्छन् । तिमीलाई म एउटा सानो उदाहरण दिऊँ, प्रलयअघिको पृथ्वीको कुरा हो । कागती, निबुवा, सुन्तला, जुनार, भोगटे आदि नामका भिन्न–भिन्न स्वादका तर एउटै प्रजातिका बिरूवा हुन्थे । तिनको बनावटमा आधारभूत रूपले धेरै समानता हुन्थ्यो । ती बिरूवाहरू फेरि पनि पैदा हुने विश्वास मलाई छ, खोज्दै हिँड्ने हो भने कतै पैदा भइसकेको पनि भेटिएला । तिनको बिउमा त यति समानता हुन्छ कि कुन केको बिउ हो छुट्याउन पनि सकिँदैन । सबै फलका बिउहरू एकै ठाउँमा लगेर रोप्ने हो भने बिरूवा पैदा हुँदा हेरेर कुनचाहिँ केको भन्ने थाहा पाउन पनि मुस्किल हुन्छ । एउटै माटोमा रोपिएका ती बिरूवाहरूले ठूलो भएर फल दिँदा एकै प्रकारका दिँदैनन् । कुनैले विशुद्ध अमिलो, कुनैले गुलियो र कुनैले मिश्रित स्वादका फल दिन्छन् । माटोमुनिको एकै प्रकारको रस पिएर हुर्किएका बिरूवाले ठूलो भएपछि दिने फलको स्वाद एउटै नहुनुको कारण बिरूवाको आफ्नो गुणका कारणले हो । त्यही माटोको रस लिएर खुर्सानीले ‘पिरो’ दिइरहेको हुन्छ । फूलको रस पिएर भँवराले ‘बिष्टा’ दिन्छ, तर माहुरीले मह । एकै किसिमका रूपरङ्गमा देखिने मानिसको जन्मने काइदा, जीवन–प्रक्रिया र खानपान पनि एकै प्रकारका हुन्छन्, तर तिनीहरूमध्ये कोही ज्ञानी, गुणी र कोही दुष्ट, पटमूर्ख हुन्छन् । यो सब प्राणीको गुण या स्वभावका कारणले हुने हो । त्यसैले ज्वाला या आगोको गुणअनुसार उसले उज्यालो पैदा गर्छ’– निराकारले दार्शनिकझैँ कुरा गरिन् ।

तैपनि अभ्यस्त रोकिएन । ‘यो गुण वा स्वभावचाहिँ केले निर्धारण गर्छ नि आमा ?’

‘पहिले पृथ्वीमा धेरै मानिस यसैको खोजीमा थिए । कसैले प्रकृतिले नै यो निर्धारण गरेको हुन्छ भन्थे, कोही ईश्वरले । ब्रहमाण्ड गतिशील छ, जहाँ गति हुन्छ त्यहाँ जिन्दगी हुन्छ, गति नै परिवर्तनको स्वभाव र प्रगतिको कारण पनि हो भन्ने धारणा मानिसले बनाएका थिए । बगिरहेको नदीमा जुन सुगन्ध र ज्यान हुन्छ नबग्ने पानीमा त्यस्तो हुँदैन, दुर्गन्ध हुन्छ । ब्रहमाण्डका यावत् कुराहरूको स्वभाव कसले निर्धारण गरेको हो भन्ने निष्कर्षमा पुग्न सक्नु भनेको सत्यको सत्ता पत्ता लगाउनु हो र जीवनको सम्पूर्ण रहस्यबारे जानकारी पाउनु हो । यो विषयमा पृथ्वीका मानिसहरू एकमत हुन सकेका थिएनन् । हिजो पनि यो खोजीकै विषय थियो र अहिले पनि । जगत र जीवनको सृष्टिको आधार पदार्थ हो या चेतना भन्ने विवादमा मानिसहरूले हज्जारौँ वर्ष खेर फालेका हुन्, तैपनि मानिस एकमत हुन सकेनन् सत्य यही नै हो भनेर । स्वभाव वा गुण निर्धारण गर्न सक्ने त्यही शक्ति हो, जसले यो सुन्दर मानवबस्तीलाई प्रलयको बिन्दुसम्म पुऱ्याएर आज यस अवस्थामा ल्याइपुऱ्याएको छ । त्यो के हो या को हो, खोजीकै विषय बनिरहेको छ अझै पनि ।’

‘आमाले त पहिले मानिसहरूले भनेका र किताब पढेर पनि कति कुराहरू बुझ्नुभएको होला, ब्रह्माण्डमा यो सब गराउने को हो या के हो भन्ने अलि–अलि अनुमान त गर्न सक्नुभएको होला नि ?’

‘त्यही सत्यको खोजी गर्दागर्दै निष्कर्षमा नपुगिसकेकै अवस्थामा प्रलय भएको हो । भन्नलाई त मानिसहरू भन्थे– यो ब्रह्माण्ड एउटै सूत्रमा आधारित छ । ईश्वरले सृष्टि गरेका भए पनि र प्रकृति नै सृष्टिको परम् आधार भए पनि सूत्रचाहिँ एउटै छ भन्ने उनीहरूको विश्वास थियो । बाह्य आँखाले हेर्दा यति धेरै विविधता देखिने पृथ्वी एउटै सूत्रमा आधारित छ भन्दा पत्याउन मुस्किल हुन्छ र त्यसबेला पनि यो कुरा नपत्याउनेहरू थिए ।’

‘कस्तो सूत्र आमा ?’

‘सूत्रबारे त मैले कसरी थाहा पाउनु बाबु, तर एकै सूत्र हो कि भन्ने सङ्केतहरू चाहिँ देखिन्छन् र म त्यसका केही सङ्केतहरूबारे बताउन सक्छु ।’

‘त्यस्तो के छ आमा ?’

‘ब्रह्माण्डका हरेक वस्तुहरू गोलाकारका छन् । ती सबै गोल चक्कर लगाउँछन् । हाम्रा आँखा पनि गोला छन्, देख्छौँ पनि गोलाकारमै, कुनै पनि पदार्थलाई टुक्र्याउँदा अन्तिम टुक्रा गोलाकार नै हुन्छ । पानीको थोपा मात्र होइन, काठ र पत्थरका अन्तिम टुक्रा पनि गोला हुन्छन् । संसारमा जति पनि फल छन् ती पनि सबै गोलाकारकै छन् ।’

‘अनि !’ बडो उत्साही भए अभ्यस्त ।

‘हाँस्नु भनेको खुसी वा आनन्दको अभिव्यक्ति हो, रूनु दुःखको अभिव्यक्ति । हाँस्दा हाम्रो ओठ माथि जान्छ । जिन्दगीमा खुसी वा आनन्द पाउन पनि माथि नै जानुपर्छ वा माथि गएपछि मात्रै खुसी वा आनन्द पाउन सकिन्छ । रूँदा हाम्रा ओठहरू तलतिर झर्छन् । जिन्दगीमा पनि धेरै वा सबै कुरामा तल पर्दा दुःख हुन्छ । त्यसैगरी पहाड चढेर माथि जान पनि गाह्रो हुन्छ र जिन्दगीमा माथि पुग्न पनि धेरै सङ्घर्ष गर्नुपर्छ । जसरी पहाडमा तल झर्न सजिलो हुन्छ त्यसैगरी जिन्दगीमा तल झर्न पनि सजिलो हुन्छ, त्यसका लागि खासै मेहनत गरिरहनुपर्दैन । त्यस्तै बुद्धि र ज्ञानले जति रित्तो हुन्छ मानिस त्यति नै कर्कस र ठाडा हुन्छन् । बिनाफलको रूख पनि ठाडो हुन्छ । ब्रह्माण्ड निरपेक्ष छ, सिर्जना र विनास दुवै उसका गुण हुन् । ब्रह्माण्ड मोहरहित देखिन्छ, आफ्नै सिर्जनाप्रति पनि ऊ मोह राख्दैन । त्यस्तै परमज्ञानी मानिस पनि सिर्जना र बिनास दुवैप्रति निरपेक्ष रहन्छन् । ज्ञानी र ध्यानी मानिसलाई कसैले गाली नै गरे पनि प्रतिक्रिया तीतो हुँदैन, भरी गाग्रीलाई ठटाउँदा पनि कुनै कर्कस आवाज नदिएजस्तो । तर, ज्ञान र बुद्धिहीन मानिस सानोतिनो कुरामा पनि यस्तो तिक्त र चर्को प्रतिक्रिया व्यक्त गर्छ, जसरी धातुका रित्तो भाँडामा ठक्कर खाँदा चर्को आवाज आउँछ ।’

‘यति मात्र होइन छोरा, खुसी हुँदा मनभित्रदेखि बाहिरसम्म उज्यालोको अनुभूति हुन्छ, अनि बाह्य उज्यालोले पनि मानिसलाई खुसी नै तुल्याइरहेको हुन्छ । अँध्यारो अज्ञानी र दुःखी हुन्छ, अज्ञानी र दुःखीको मनमा पनि अन्धकारकै अनुभूति हुन्छ । खस्रो वस्तुमा स्पर्श गर्दा जसरी बिझाउँछ, बान्की नपरेका दृश्य आँखामा र लय नमिलेका आवाज कानमा पनि त्यसरी नै बिझाउँछ । चेतनाले गर्ने अनुभूति र भौतिक रूपमा देखिने बेग्लाबेग्लै पक्षबीच समानताका यस्तै सङ्केतहरूले नै सिङ्गै ब्रह्माण्ड एकै सूत्रबाट सञ्चालित भइरहेको कुराको सङ्केत दिएको महसुस मैले गरेकी छु,’ निराकारले कुरा टुङ्ग्याइन् ।

‘यस्तै धेरै कुराहरूको अनुभूति गर्न सक्ने मानिसचाहिँ गजबकै प्राणी हो, होइन आमा ?’

निराकार बोलिन्, ‘प्राणीहरूमध्ये मानिस अलिक बढी नै फरक हो । जसरी एउटा वृक्षले आफ्नो पूर्ण गुण र क्षमता बिउमार्फत व्यक्त गर्दछ, त्यसैगरी ब्रह्माण्डको परम्तत्वमा निहित गुणहरूको सार अभिव्यक्तिचाहिँ मानिस हो कि जस्तो लाग्छ । परम्तत्व जहिले पनि गतिशील रहन्छ, आफ्नो स्थितिप्रति त्यो कहिल्यै स्थिर र सन्तुष्ट रहँदैन । असन्तुष्टिले गति पैदा गरिरहेको हुन्छ र गतिले परिणाम दिन्छ । मानिस पनि सधैं असन्तुष्ट रहन्छ । मानिस, जो–जहाँ जुन रूपमा छ, त्यो त्यहीँ असन्तुष्ट हुन्छ । यो सृष्टिकै पनि स्वभाव हो । मानिसको असन्तुष्टि नै प्रगतिको वा उसको जीवनमा प्राप्त गर्ने परिणामको कारण बन्छ । परम्तत्वको रूप र गुणको निर्णायक र सर्वमान्य व्याख्या आजसम्म हुन सकेको छैन, मानिस पनि एउटा यस्तो प्राणी हो जसको एकै प्रकारले व्याख्या गर्न सकिँदैन । एउटै परिभाषाले समेट्न नसकिने प्राणीको नाम मानिस हो । यो
ब्रह्माण्डरूपी वृक्षमा लागेको फल हो । प्रलय हुनुअघि पृथ्वीमा लाखौँ किसिमका प्राणी थिए । अर्बौं मानिसका अनुहारको मूल बनाओट एउटै भए पनि अनुहारमा यति विविधता थियो कि कसैको रूप कसैसँग मिल्दैनथ्यो । जसरी अनुहारमा विविधता थियो, त्यसैगरी, सोच र स्वभावमा पनि आश्चर्यजनक विविधता थियो । सृष्टिको विभिन्न गुण विभिन्न प्राणीले अभिव्यक्त गर्दथे भने मानिसमा चाहिँ सिङ्गै ब्रह्माण्डको गुण झल्कन्छ भन्ने विश्वास मलाई छ ।’

‘आमा, तपाईंको विचारमा मानिस ब्रह्माण्डको समष्टि अर्थात् वृक्षको समष्टि बिउ भनेजस्तै नै होलान् त ?’

‘मलाई त्यही लाग्छ अभ्यस्त, मानिस आफैँ लघु ब्रह्माण्ड हो ।’

‘त्यसो भए आगामी केही वर्षपछि यो पृथ्वी त ब्रह्माण्डको समष्टिहीन हुने भयो, होइन ?’

‘हो, हाम्रो मृत्युपछि यो सृष्टिलाई आत्मानुभूति र अभिव्यक्त गर्ने कोही हुने छैनन् ।’

‘त्यसो भए यो पृथ्वीको के अर्थ भयो त आमा ?’

‘मैले पहिले पनि भनिसकेकी छु, पृथ्वीलाई त हामी हुनु र नहुनुले के फरक पार्छ र ? पृथ्वी र हाम्रोबीचमा अन्योन्याश्रित सम्बन्ध छ । हामी कति भ्रममा छौँ भने एक–अर्काबिना हाम्रो अस्तित्वको कुनै अर्थ नै रहन्न भन्ने ठान्छौँ । तर, वास्तविकता त्यस्तो होइन । प्राणी पृथ्वीका गहना हुन्, त्यसको अनुभूति हामीले गर्ने कारणले मात्र । पृथ्वीलाई कोही हुनु–नहुनु, कसैले अनुभूति गरिदिनु या नगर्नुसँग कुनै सरोकार रहन्न । अनुभूतिको गुण र संयन्त्र नै ऊसँग छैन ।’

‘मानिसविहीन पृथ्वीको कल्पना गर्नुभएको छ तपाईंले ?’

‘गरेकी छु बाबु, प्राकृतिक रोमाञ्चकता, सुन्दरता, विभत्सता, जे हामीले देख्ने गरेका छौँ यी सबै चिज पृथ्वीमा हुन्छन्, त्यसमा अनुभूति गर्ने हामी मात्र हुँदैनौँ, जसका कारणले प्रकृतिको गतिलाई कुनै प्रकारको प्रभाव पर्ने छैन ।’

‘तपाईंको विचारमा मानिसमा अन्य त्यस्तो रोचक प्रवृत्ति के हुन्छ आमा ?’

‘अभ्यस्त, मैले तिमीलाई भनेकी छु ‘एउटै परिभाषाले नसमेटिने प्राणीको नाम मान्छे’ भनेर । आममानिसमा देखिने तर कहिल्यै कसैले व्याख्या नगरेको दुःखद् तर रोचक प्रवृत्तिको रूपमा मैले के पाएकी छु भने मानिसको हरेक पुस्ता शून्यबाट जीवन सुरू गर्छ र समय गुज्रिएपछि मात्र अघिल्ला पुस्ताहरूको अनुभव र भनाइप्रति सहमति जनाउँदै मर्छ । अघिल्लो पुस्तालाई नयाँ पुस्ताले पुरानो, रूढीग्रस्त, अज्ञानी र समग्रमा असान्दर्भिक ठान्छ । यदि त्यसो नभएर अघिल्लो पुस्ताको अनुभव र ज्ञानसँग जोड्दै नयाँ ज्ञान र अनुभवप्राप्तितिर पछिल्लो पुस्ताले जीवन जिउन सकेको भए मानव–सभ्यताले अहिलेसम्म कैयन गुणा फड्को मारिसकेको हुन सक्थ्यो । अघिल्लो पुस्तालाई होच्याउँदै जीवन सुरू गर्ने र पछिल्लो पुस्तालाई सिकाउँदै अघि बढ्ने, तर अघिल्लो पुस्ताका कुरालाई अस्वीकार गर्दै नयाँ पुस्ताले शून्यबाट जीवनयात्रा सुरू गर्ने प्रक्रिया आदिकालदेखि चल्दै आएको छ । विज्ञानका केही आविष्कारहरू जुन अकाट्य प्रमाणित भए त्यस्ता तथ्यहरूलाई मात्र मानवले स्वीकार गऱ्यो । तर, पिता पुस्ताको अनुभव र ज्ञानसँग आफूलाई जोड्दै जीवन बिताउने चाहनाचाहिँ पुत्र पुस्तामा प्रायः देखिँदैन । मलाई मानिसमा विद्यमान यस्तो प्रवृत्तिले चकित र एक अर्थमा दिग्दार पनि तुल्याएको छ । अर्को एउटा रोचक प्रवृत्ति के हो भने एउटै मानिस कुनै खास अवस्थामा आफूलाई सबैभन्दा महान् र सर्वेसर्वा ठान्छ, त्यही म कुनै निश्चित अवस्थामा आफू ‘केही पनि नभएको’ ठान्छ । जीवनको प्रारम्भिक अवस्थामा मानिस आफूभन्दा अघिल्लो पुस्ता सबैजसोलाई कुनै न कुनै रूपमा महान् र पृथक देख्छ । कसैलाई गुरूका रूपमा, पिताका रूपमा, कसैलाई अभिभावक र मार्गदर्शकका रूपमा आफूभन्दा योग्य र महान् देख्ने त्यही मानिस कालान्तरमा आफूलाई कुनै पनि अर्थमा कमजोर नठान्ने मात्र होइन कि सबैभन्दा योग्य र बलवान ठान्न थाल्छ । हरेक मानिस आफैँले जस्तै खानुपर्ने, नित्यकर्म गर्नुपर्ने र शारीरिक सुख तथा आनन्द प्राप्तिका निम्ति व्यग्र रहने हुन्छन् भन्ने थाहा पाएपछि मानवजीवनको सम्पूर्ण जटिलतालाई उसले बुझेको ठान्छ, अनि त्यसअघि सधैं ‘महान्’ देखिरहेको मानिसलाई पनि ‘उसले’ सामान्य देख्न थाल्छ । धर्तीमा आफ्नो उदयको कारण बुझेपछि व्यक्तिमा पिताप्रतिको आस्था र सम्मान घट्छ । धेरै कम मानिस मात्र त्यस्तो सोच राख्दैनन् । प्राकृतिक रूपमा सबै उस्तै हुँदाहुँदै पनि कर्मले, ज्ञानले, अनुभवले कोही महान् र असाधारण हुन सक्छन्, तर अधिकांश मानिसले प्राकृतिक समानताका आधारमा मात्र अर्काको मूल्याङ्कन गरिरहेका हुन्छन् । सबै मानिस ‘म जस्तै’ हुन् भन्ने ठान्न थाल्नेबित्तिकै व्यक्तिका दृष्टिमा अन्य सबैको उचाइ घटिसकेको हुन्छ । अर्काको उचाइ नाप्न पनि मानिसमा उचाइदार क्षमता र ज्ञानको आवश्यकता हुन्छ, तर, मानिस आफू रित्तो भए पनि अर्काको उचाइ नाप्ने जमर्को गर्छन् ।’

‘अनि मानिसमा अर्को एउटा रोचक प्रवृत्ति के हुन्छ भने उनीहरू आफूलाई गाली या आलोचना गर्नेजति सबैलाई शत्रु ठान्छन्, कोही कसैको शत्रु हुन पनि योग्यता चाहिन्छ भन्ने सोच्दैनन् मान्छेहरू । आफ्नो शत्रु बन्न ‘त्यस’ व्यक्तिमा योग्यता पुगेको छ कि छैन भन्ने जाँच्दै नजाँची जसले गाली गर्छ उसैलाई शत्रु ठान्ने प्रवृत्ति अधिकांश मानिसमा हुन्छ । ‘योग्यता पुगेका’हरूलाई मात्र शत्रु ठान्न थालियो भने मानिसको शत्रु घट्छन् र शत्रु घटेपछि तनाव पनि स्वतः घटिहाल्छ । धर्तीमा जब मान्छेहरू थिए, त्यसबेला मानिसका बारेमा मैले बुझेको एउटा पक्ष यही हो बाबु । … मैले तिम्रो जिज्ञाशा मेट्न सकेँ कि सकिनँ ?’

प्रश्नको विराम लगाउँदै निराकारले जवाफ टुङ्ग्याइन् । अभ्यस्तले सन्तुष्टिको सङ्केतसूचक टाउको मात्र हल्लायो ।

अभ्यस्तले केही प्रश्न गर्ने जमर्को गर्दै थियो, निराकारले बीचैमा भनिन्, ‘अब सुतौँ ।’
(क्रमशः)

पहिलेको खण्ड हेरौँ–

मानवजीवनको निरन्तरता या पूर्णविराम : द्विविधामा निराकार