प्रवासमा परिवार साथ हुँदाको मिठास र नहुँदाको पीडा

प्रवासमा परिवार साथ हुँदाको मिठास र नहुँदाको पीडा


आचार्य प्रभा (कोलोराडो, अमेरिका)

केही नलेखी चुप बस्न मन नलाग्ने बानीले मनमा त्यसै उथलपुथल ल्याउँदो रहेछ । विषय बग्रेल्ती छन् तर लेखुँ भन्दा विषय पाउँदिनँ । राजनीतिक विषय कोट्याउँ भने अनभिज्ञ छु राजनीतिको पोको फुकाउँन । देशको बारेमा केही लेखुँ भने आफै प्रवासमा छु । साहित्यको ब्याख्या गरुँ भने आधा गाग्रो पानी छु यो विषयमा । देश छुटेको ब्यथा पोखुँ भने त्योभन्दा अझ शोक, सन्ताप मनमा गडेको छ । अहिलेको परिस्थितिमा कहाँ पो शान्ति र सुरक्षा छ ? कोरोनाको बिलौना पोखुँ या गाऊँ भने कहाँ र को पो यो पापी किटाणुबाट अछुत छ र ? त्यसैले आज मैले छुट्टै विषय छानेँ जुन आफ्नै ब्यवहारिकता र आफ्नै मनको सुख, दुःख, हाँसो, खुशीमिश्रित भावना पोख्न उद्वेलित बन्दैछु स्वीकार्य होला नै ।

विशेष आज मैले पोख्न खोजेको विषय हो– प्रवासमा पनि खुशी र चित्तबुझाइको एक पाटो । हो, हुन त सबैलाई आफ्नै माटो, घर, आँगन प्रिय लाग्छ । झोपडी नै किन नहोस्, आफ्नै परिवेश आफ्नै भाषा, भेष राम्रो लाग्छ । तर पनि कतिपय बाध्यता या अवसरका कारण मान्छेले आफूलाई आफ्नो घर र परिवेशबाट अलग्याउन बाध्य बन्नुपर्छ । जसरी आज हामी प्रवासमा अल्मलिइरहेका छौँ सब परिवार ।

परदेशमा पनि कसरी रमाउन सकिन्छ ?– आज मैले मनको गाँठो फुकाउन खोजेको विषय हो यो । अर्थात्, परदेशमा पनि मन बुझाउने वा बुझ्ने तत्व के–के हुन् त ? भन्ने हो भने नेपालका धेरै युवा–युवती अर्थात ‘परिवार’हरू विदेशिएका छन् । कोही कहाँ, कोही कहा, जो जहाँ–जहाँ पुगेका छन् सबैले त्यही ठाउँ, परिवेश, आफ्नो कार्य, सहजताअनुसार आ–आफ्ना जीवन गुजारिरहेका होलान् । कतिलाई सहज होला कतिलाई असहज र कष्ट होला !

झन् अहिलेको यो कष्टप्रद कोरोना–पीडाले त संसारभर नै दुःखद परिस्थिति ल्याइदिएको छ । कतिको जीवन तहसनहस बनाइदिएको छ । कतिका आशाहरूमा निराशाका ग्रहणले छोपिदिएको छ । कतिका सपना भताभुङ्ग पारिदिएको छ तथापि बाँच्नै परेको छ । जुनसुकै अवस्थामा पनि । कतिलाई परदेशमा जीवन गुजारा गर्न गाह्रो परेको छ । कति एक्लो बनेर छट्पटिइरहेका छन् । कतिको रोजगारी गएको छ । कति भोकभोकै तड्पिएर बाँच्नु परेको होला । देशअनुसारको सुविधा र सुरक्षा कतिले पाएका छन् भने कति सडकमा पुगेका होलान् ।

सबैले आ–आफ्नै भोगाइहरू यो समयमा भोग्न विवश छन् । कतिलाई आफ्नो देश पुगेर पनि निम्न स्तर भएको कारणले के गर्ने, कसो गर्ने ! भन्ने पीडाले गलाएको होला । देश फर्कुं देशभित्रै युवाहरूको रातदिनको नारा, जुलुश, विद्रोह, देख्दा परदेशमा भएका युवाहरूको अझ नौनाडी गलेका होलान् । भनुँ संसारकै मान्छेहरूमा निराशा र विक्षिप्तता छाएको बेला यो घडी कोही पनि असन्तुष्टिको पीडाबाट अछुत छैनन् सायद ।

कति कोरोनाको शिकार बनेर अझ गहिरो समस्यामा गुज्रिरहेका छन् । कतिका आफ्नै देशमा आफ्ना परिवारलाई यो रोगले गाँजेकोले अरु समस्या थपिएको छ । साँच्चै भनुँ भने जो एक्लो ज्यान विभिन्न मुलुकमा रोजगारीमा गएका छन् र थिए उनीेहरूलाई परदेशिनुको पीडा मात्र होइन, अब त त्योभन्दा त्रासयुक्त पीडा र कहरले छोपेको छ । के भनुँ ? त्यस्ता विह्वल पात्रहरूलाई सम्झिँदा मन कटक्क खान्छ । न कतैबाट राहत छ न कसैको सहयोग छ । आफ्नै देशको सरकारबाट ठगिन पुगेका छन् देश फर्किन्छु भन्नेहरू पनि । यस्तोमा पराइ देशलाई त के मतलव ? यस्ता सारा कष्टमय भोगाइहरू सम्झिँदा लाग्छ– मान्छे नै संसारको सबैभन्दा दुखी र बिचरो प्राणी रहेछ !

हो हामी पनि प्रवासमै छौँ । परदेशीमै गनिन्छौँ । तर, म एक्लै यसो सोंच्ने गर्छु र अहिलेसम्म आफुलाई भाग्यमानी प्रवासी नै ठानेर चित्त बुझाउँछु । कारण हामी स–परिवार नै अमेरिकाको डेनभर शहरमा छौँ । तीन छोरीेहरूमा कान्छी छोरी आफ्नो परिवारसहित अष्ट्रेलियामा छिन् । उनको पनि आफ्नो जीवन मेहेनत र पारिवारिक भोगाइमा बितिरहेकै छ । यहाँ हामी दुई छोरीेहरूसँग छौँ । यो दुःखद परिस्थितिमा पनि अहिलेसम्म ईश्वर दाहिना हुनुहुन्छ, जोगिएकै छौँ वा बिहानबेलुकाको मानो खाएर सन्तुष्टसँग बाँच्ने अवसर जुरेकै छ ।

हामी दम्पती बेरोजगार छौँ । ६–७ वर्ष नै भयो रोजगारीमा नलागेको । शरीरलाई दाउमा राखेर डलरको प्रलोभनले हामीलाई फँसाउन सकेन । बस् ! परदेशमा आफ्नो परिवारसँग बसेर दुःख–सुखको मानो खान पाउनु नै सौभाग्य ठानेका छौँ । यहाँ बिरामीको औषधी उपचारमा आफुले एक पैसा खर्च गर्नु पर्दैन हामीले । सरकारले यो सुविधा दिएकै छ । आजसम्म बाँचेको हाम्रो परदेशी जीवन सायद घर–देशका कतिपय जनतोहरूले भोग्नु परेको पीडा र समस्या सम्झँदा निको नै होला भन्ने ठान्दछौँ ।

तर अर्को तर्फबाट सोंच्ने हो भने देशको बेरोजगारी अवस्था, राजनैतिक खिचातानी, महँगीको मारले रहर मात्र नभएर कर र बाध्यताले पनि हरेक युवोहरू विदेशिन विवश छन् र अकस्मात संसारभर नै आएको परिवर्तनले सबैलाई आश्चर्यचकित बनाएको छ । कसैले सोच्न सकेकै थिएन यस्तो भुमरी आइलाग्छ भनेर । तर, जे नहुनु थियो त्यही भयो, हुँदैछ ।

यो दुःखद पलले स्वदेशका भन्दा रोजगारीमा जाने युवोहरूलाई धेरै मर्का परेको छ । जसका एक चपरी माटो छैन, नोकरी छैन, ब्यापार ब्यवशाय गर्ने पुँजी छैन त्यस्तोहरूलाई त यो अपराधी समयले घर न घाटको बनाउने निश्चित देखिन्छ । तर यस्तै परिवेश र परदेशको कुरा गर्दा मैले अहिलेसम्म अनुभव गरेको सत्य भोगाई भन्नु पर्दा हामीले भने त्यस्तो विकराल अवस्था भोग्नु परेको छैन ।

अन्त्यमा मैले यो गन्थन गर्नुको मुख्य आशय के हो भने जहाँ होस् घरदेश या परदेश सबै परिवार एकसाथ भएमा जस्तै दुःख–पीडा भए पनि जीवन सुखमय भएको नै महसुस हुन्छ । अझ नारी मन अर्थात आमाको मन त आफ्ना छोरा–छोरी परिवारलाई आफ्नो हातले मिठो–नमिठो जे जस्तो होस् तातो पकाएर खुवाउँन पाए अर्कै आनन्द महसुस हुँदोरहेछ । अहिले अमेरिका पनि यो भयावह कोरोना कहरबाट गुज्रिइरहेको छ । सबैको मनमा पीडा, डर, त्रास अवश्य छ तथापि केहीलाई छाडेर कति त पारिवारिक माहौलमा नै बसेका छन् । त्यस्ता प्रवासीेहरूलाई एकप्रकारको ढुक्क नै छ जसका आफ्नै आँखा वरिपरि आफ्ना सन्तान छन् ।

उसरी नै म पनि एउटा आमा–मन आफ्ना परिवारको साथमा छोराछोरी र श्रीमानलाई दुःख–सुख आफ्नै घर–आँगनको झैँ गुन्द्रुक, दाल, भात, तरकारी पकाएर खान दिनुको आनन्दमा यो पीडादायी समयमा पनि प्रवासमा आफुलाई भाग्यमानी ठानिरहेकी छु । परदेशमा पनि पारिवारिक साथ भएमा जस्तोसुकै भुमरीमा पनि आफुलाई सम्हाल्न सकिन्छ, तर जसको आफ्ना भन्ने कोही हुन्न, एक्लै संघर्ष र दुःख गर्नु पर्छ भने उनीेहरूको हालत सम्झिँदा मनमा भक्कानो फुट्छ । तर पनि सम्झौँ त कतिलाई सम्झौँ, नसम्झौँ पनि मन मान्दैन । तथापि, आशा गरौँ– यो पापिष्ट समयलाई हामी सबैले अवश्य जित्ने छौँ ।