विदेशमा अलपत्र नेपालीलाई निःशुल्क उद्धार गर्न प्रधानमन्त्रीसँग आग्रह

विदेशमा अलपत्र नेपालीलाई निःशुल्क उद्धार गर्न प्रधानमन्त्रीसँग आग्रह


गैरआवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले कोरोना सङ्कटका कारण खाडीलगायतका मुलुकमा रोजगारी गुमाएका र फर्कनलाई कुनै स्रोत नभएका नेपाली नागरिकहरूलाई निःशुल्क तवरमा स्वदेश फर्कने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाउँदै आचार्यले स्वदेश फर्कन चाहने नेपालीहरूमा सुत्केरी महिला, गर्भवती तथा बेखर्ची नेपाली नागरिकहरू पनि रहेका र उनीहरू महँगो चार्टर्ड विमानको टिकट काट्न सक्षम नरहेको स्पष्ट पारेका छन् ।

सर्वोच्च अदालतको आदेशबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम प्रयोग गरेर प्राथमिकताका आधारमा नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई तत्काल उद्धार गर्न पनि उनले आग्रह गरेका छन् ।

हेरौँ आचार्यले प्रधानमन्त्रीलाई पठाएको पत्र जस्ताको तस्तै–

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं

महोदय,

कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई ढिलै भए पनि नेपाल सरकारले स्वदेश फर्काउन शुरू गरेको छ, जुन स्वागत योग्य छ । यो निर्णयले विदेशमा अलपत्र परेका नेपाली दाजुभाइ दिदीबहिनीले अवश्य लाभ लिनेछन्, तर स्वदेश फर्काउँदै गर्दा अलिकति विवेक पुऱ्याउन पर्ने कुरामा सरकार चुकेको अनुभूति गरेको छु । हाम्रा छिमेकीहरू भारत, पाकिस्तान, बांगलादेशका सरकारहरूले पनि आफ्ना नागरिकलाई सहुलियत दरमा स्वदेश फिर्ता गरिरहेको स्मरण गराउन चाहन्छु ।

खाडी मुलुकमा काम गर्दागर्दै रोजगारी गुमाएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई चार्टर्ड उडानको महँगो टिकट किन्न भन्नु कत्तिको उपयुक्त होला ? नेपालमा घरबारी धितो राखेर, महँगो ब्याजमा ऋण लिएर रोजगारीका लागि विदेश गएका धेरै नेपाली अहिले बेखर्ची हुनुहुन्छ । उहाँहरू टिकट किन्ने त कुरै छाडौँ, आफ्नो खर्चमा पीसीआर परीक्षण गर्न वा नेपाल आएर होटेल क्वारेन्टाइनको खर्च ब्यहोर्न पनि सक्नुहुन्न ।

स्वदेश फर्कन चाहने नेपालीहरूमा कोही सुत्केरी महिला हुनुहुन्छ, कोही गर्भवती । कतिपय नेपालीहरूले कम्पनीले कामबाट निकालिदिएको कारणले महिनौँदेखि साथीभाइ, संघसंस्था र एनआरएनए एनसीसीहरूको सहयोगमा ज्यान बचाइरहनु भएको छ । सयभन्दा बढी शवहरू पनि नेपाल ल्याउनुपर्ने अवस्था छ ।

सम्मानित सर्वोच्च अदालतले विश्वभर कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएर बसेका र फर्कनलाई कुनै स्रोत नभएका नेपाली नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम प्रयोग गरी उद्धार गर्न आदेश दिएको छ ।

आफ्नो रगत, पसिना बगाएर देशको अर्थतन्त्र धानिरहेका नेपालीहरूलाई गाह्रो–साह्रो पर्दा देश वा सरकारले हेर्नुपर्ने यस्तै बेलामा हैन र ? त्यसैले साँच्चिकै पीडा व्यहोरिरहेका यी नागरिकहरूलाई तत्काल, निःशुल्क विशेष हवाइ उडानहरूमार्फत स्वदेश फर्काउनको निमित्त निर्देशन दिनुहुन अनुरोध गर्दछु ।

कुल आचार्य
पूर्व केन्द्रिय उपाध्यक्ष
(एनआरएनए आइसीसी)
लन्डन