नेपाली कलाकारितामा ‘ग्रुपिज्म’ र परिवारवाद हाबी भएकै हो त ?

नेपाली कलाकारितामा ‘ग्रुपिज्म’ र परिवारवाद हाबी भएकै हो त ?


■ राजन घिमिरे

अहिले नेपाली कलाकारिता क्षेत्रमा नातावाद, कृपावाद, परिवारवाद, चाकडीवाद र ग्रुपिजमको चर्चाले चलचित्र बजार गर्माएको छ । कलाकारितामा लागेर असफल हुनेहरूले नातावाद, कृपावाद र ग्रुपिजमको विरोध गरिरहेका देखिन्छन् । अनि यस्ता वादहरूको साथ पाउनेहरू मात्र सफल भैरहेका र उनीहरूले मात्र काम पाइरहेको आरोप उनीहरूको छ ।

हिरोको छोरो हिरो नै बन्नुपर्ने कुरा अकाट्य सत्य होइन, तर पनि हिरोले आफ्नो छोरोले आफ्नो बिँडो थामोस् भनेर सोच्नु किमार्थ गलत होइन । त्यसो त, जबर्जस्ती पनि त्यो बाउले भनेको भरमा मात्र छोरो हिरो बन्दैन । उसमा इच्छा र क्षमता पनि हुनुपर्छ र, अर्को कुरा उसलाई दर्शकहरूले पनि पत्याउनुपर्छ । कुनै पनि बाउ त्यति मुर्ख छैन कि आफ्नो छोरो जति फ्लप भए पनि छोरोमाथि करोडौँ लगानी गर्न उ सधैं तयार भैरहोस् । अन्ततः दर्शकहरू नै न्यायाधीश हुन् कलाकारलाई टिकाउने कि फाल्ने भन्ने निर्णय गर्नका लागि ।

नातावादमा आउनेहरू सबै कहाँ हिट भएका छन् र ? सबैले वाहवाही कहाँ पाएका छन् र ? त्यो कलाकारमा क्षमता हुनैपर्छ । आफूमा क्षमता दक्षता नहुने अनि यहाँ चाकडी, चाप्लुसी र नातावाद चल्छ । प्रतिभाको मूल्याङ्कन नै छैन भनेर कोकोहोलो गर्दै आरोप लगाउंन मिल्छ ? आजको समयमा कोही पनि सम्बन्ध, चाकडी, चाप्लुसी, कृपावाद र ग्रुपिजममा फसेर करोडौँ लगानी फसाउन चाहँदैन ।

भुवन केसीका छोरा अनमोल केसी नातावादमा हिरो बने रे ! होला, एउटामा हिरो भए होलान्, तर त्यसपछिका फिल्ममा बारम्बार हिरो बन्न त दर्शकहरूले पनि पत्याउनु पऱ्यो नि ? अरू फिल्ममा अनमोल दर्शकहरूबाट तिरस्कार भएका भए भुवनले अनमोललाई हिरो बनाउँदथे त ? अवश्य बनाउँदैनथे । अनमोल भुवनको छोरो भएकै कारण मात्र फिल्म लाइनमा टिकेका भने होइनन् । उनलाई भुवनले मात्र होइन कि अन्य बाहिरिया निर्माताहरूले पनि लाखौँ पारिश्रमिक दिएर फिल्ममा लिएका छन् । यसमा कहाँबाट आयो चाकडी, चाप्लुसी, नातावाद र कृपावादको सवाल ? अनमोललाई आरोप लगाउनेहरूलाई यो प्रश्न ?

एक समय भुवन केसीकी बहिनी नीलम केसीले पनि चलचित्र आन्दोलनमा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् । तर, त्यो चलचित्रले त्यति सफलता हात पार्न सकेन, परिणामस्वरूप नीलम फिल्म क्षेत्रबाटै हराइन् । यदि भुवन नातावादमाथि विश्वास गर्दथे भने जसले आज मिडियामा रोइ–रोइ नातावादले डुबायो भनेका छन्, तीभन्दा बढी सिनेमामा खेल्न सक्थिन् । त्यसकारण नातावाद, चाकडीवाद र ग्रुपिजमका कारण अवसर त पाउलान् तर, त्यो दिगो हुन सक्दैन । दिगो हुन त क्षमता र प्रतिभा हुनै पर्दछ र दर्शकहरूले साथ दिनै पर्दछ ।

यदि नातावादका कारण अनमोल हिरो भएका भए भुवन केसीका अरू पनि छोरा–छोरी छन् । किन उनले अरूलाई हिरो–हिरोइन बनाएनन् त ? किनकि अरूमा अनमोल जस्तो कलाफाँटमा जम्न सक्ने क्षमता या चाहना थिएन होला । त्यसकारण भुवन जस्ता ब्यावसायिक कलाकर्मीमाथि यस्तो आरोपमा लगाउनुमा खासै तुक देखिँदैन । क्षमता र प्रतिभा नहुने, दर्शकहरूको साथ नपाउने अनि यहाँ नातावाद र कृपावाद छ भनेर चिच्याउने काम छाडौँ । यस्ता सोच र शैलीले तपाईंहरूको स्तर देखाउँछ ।

झरना थापाले आफ्नी छोरी सुहानालाई हिरोइन बनाइन् । झट्ट हेर्दा यसमा परिवारवाद देखिएला तर, झरनालाई आफ्ना छोरामाथि विश्वास लागेर नै हिरोइन बनाएकी थिइन् । यदि छोरी हिरोइन भएको फिल्म नचलेको भए झरनाको लगानी के हुन्थ्यो ?

वास्तवमा आजको प्रतिष्पर्धात्मक समयमा क्षमता र प्रतिभा हुनेले कहिले पनि पछाडि पर्नुपर्ने अवस्था नै छैन । अवसर पाइएन, परिवारवाद र नातावाद मौलायो अनि क्षमताको कदर भएन भनेर मिडियामा कुर्लनुअघि पहिला तपाईं आफ्नो मूल्याङ्कन गर्नुस् । तपाईंले कलाकारिता क्षेत्रमा स्थापित हुन र जम्न वा दर्शकहरूको मनमा बस्न कति संघर्ष गर्नुभयो ? तपाईंसँग सङ्घर्षको कथा कति लामो छ ? भन्न सक्नुहुन्छ ? तपाईंले भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, दिलीप रायमाझी, निखिल उप्रेती, विराज भट्ट, सुशील क्षेत्री, रमेश उप्रेती, दीपकराज गिरी, दीपा, प्रदीप खड्का, पल शाह, प्रियंका कार्की, दयाहाङ राई, स्वस्तिमा खड्का, सौगात मल्ल, विपिन कार्की लगायतका थुप्रै कलाकारहरूले आज सफलताको जुन स्वाद चाखेका छन्, त्यो चाख्न पाउनुको पछाडि यी र यस्ता थुप्रै कलाकारहरूको आङ नै सिरिङ्ग पार्ने खालका संघर्षहरू छन् । यिनीहरूको पछाडि न त नातावाद वा पारिवारिक वाद नै थियो । आज जहाँ छन्, आफ्नै सङ्घर्ष, मिहेनत र क्षमताका कारण छन् । राजेश हमालले जीवनमा ठूलै अवसर छोडेर नेपाली सिनेमा रोजेका हुन् भने पल शाह प्राविधिक हुँदै सिनेमामा छिरे । यता प्रदिप टेलिभिजन कार्यक्रमको प्रोडक्सन हेर्दै सिनेमामा प्रवेश गरेका हुन् । रेखा, प्रियंका, दया, सौगात लगायतका कलाकारहरूको सङ्घर्ष पनि आजका पुस्ताका लागि प्रेरणादायी बन्न सक्छ ।

करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेखा थापा जस्ता दर्शकका प्रिय कलाकारहरूको पछाडि उनीहरूलाई साथ र अवसर दिने परिवार थियो त ? यी कलाकर्मी आज जहाँ छन्, त्यहाँ यिनीहरू आफ्नै बलबुताले पुगेका हुन्, न कि परिवारवाद र ग्रुपिजमले यिनीहरूलाई साथ नै दिएको थियो । यिनीहरूसँग साथ थियो त केवल दर्शकहरूको । झरना थापाले आफ्नी छोरी सुहानालाई हिरोइन बनाइन् । झट्ट हेर्दा यसमा परिवारवाद देखिएला तर, झरनालाई आफ्ना छोरामाथि विश्वास लागेर नै हिरोइन बनाएकी थिइन् । यदि छोरी हिरोइन भएको फिल्म नचलेको भए झरनाको लगानी के हुन्थ्यो ? कसैले अनुमान लगाउन सक्छ ? सडकमा आउँथ्यो यो परिवार । तर, भाग्यवश फिल्म चल्यो । यदि सुहानालाई दर्शकहरूले मन नपराएको भए झरनाले फेरि सुहानालाई रिपीट नगराउन सक्थिन् । परिवारवादमा फसेर करोडौँ लगानी गर्न झरना थापासँग पैसाको बोट त छैन होला नि । कि कसो ? आज सुहानाको क्रेज र वाहवाहीलाई परिवारवाद र नातावाद को आरोप लगाउन मिल्छ ?

दर्शकहरू माझ छाप छोड्न नसक्ने, आफूमा प्रतिभा र क्षमता नहुने, संघर्षको कुनै इतिहास र विगत नहुने अनि त्यसले नेपाली सिनेमामा परिवारवाद, नातावाद, चाकडीवाद, चाप्लुसी र ग्रुपिजम हाबी भयो भनेर तिक्तता पोख्नु कति जायज होला ?