किन भनियो भियनालाई विश्वकै बस्नलायक शहर ?

किन भनियो भियनालाई विश्वकै बस्नलायक शहर ?


Sagar Subedi, Austria (Vienna)

सन् २००२ को अन्त्यतिर विविध कारणवश नेपाल छोडेर कठिन यात्रा गर्दै अष्ट्रियाको राजधानी भियना ओर्लिंदै गर्दा हवाइजहाजबाट देखिएको विशाल डेन्यु (जसलाई जर्मन भाषामा दोनाउ भनिन्छ) नदी साथै हरियालीबीचको शहर देख्दा राजधानी भियना जङ्गलको बीचमा रहेछ कि भन्ने भाव उत्पन्न भएको थियो । झरिसकेपछि थाहा भयो शहरलाई वातावरणीय सन्तुलन बनाइराख्नका निमित्त शहरका प्रायः हरेक गल्लीमा रुख रोपिएका रहेछन् । भियना महानगरपालिकाले एक छुट्टै सेक्टर खडा गरी वार्षिक सयौँ अर्ब रुपैयाँबराबरको रकम वाताबरण सन्तुलनकै निमित्त खर्च गर्ने गरेको कारण नै देखिएको हरियाली माथिबाट हेर्दा जङ्गलको बीचको शहरजस्तो देखिएको रहेछ । यसबाट प्रस्ट हुन्छ कि भियना वातावरणको सम्भावित खतराका निमित्त पहिलेदेखि नै सजग थियो ।

यहाँ प्रथम पाइला टेकेको पनि आज पुगनपुग अठार वर्ष हुँदै गर्दा अलिक बाहिर गएर भिएनालाई नियाल्दा त्यही अठार वर्षअघिकै भियनाको झल्को आउँछ, तर यो अवधिमा राजधानी भियनाले वातावरणीय चासोलाई अझ बढी वैज्ञानिक तथा फरक तवरले सम्बोधन गरिरहेको छ।

कतिपय नेपालीहरु आजसम्म पनि अष्ट्रिया र अस्ट्रेलिया दुई फरक तथा नितान्त अलग विशेषतायुक्त मुलुक हुन् भन्ने तथ्यबारे अलमलमै रहे पनि संयुक्त राष्ट्रसंघका विभिन्न सन्धि (जसलाई भियना सन्धिका नामले पनि चिनिन्छ) को बारेमा जानकारी पाएकै हुँदारहेछौँ । पङ्क्तिकार यहाँ आउने तयारी गर्दा अष्ट्रिया र अस्ट्रेलियामा बारम्बार झुक्किएको सन्दर्भ अझै पनि ताजै छ ।

विभिन्न सर्वेमा विश्वको बस्नलायक पहिलो शहरको स्थानमा दशौँ पटक आफूलाई कायम राख्न सक्नुको कारण सार्वजनिक सुरक्षा, उत्कृष्ट र निःशुल्क स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, उत्कृष्ट सार्वजनिक यातायात, फोहोर ब्यवस्थापन साथै वातावरणको क्षेत्रमा कन्जुस्याइँ नगरिकन काम गरेको कारणले गर्दा नै हो भन्ने प्रस्ट छ, साथै भियनामाथि विभिन्न कोणबाट गरिएका अनुसन्धान तथा विश्लेषणहरुले पनि भियना विश्वकै उत्कृष्ट शहर भनेर देखाइरहेका छन् ।

हाम्रो देश नेपालको राजधानी काठमाडौंबाट यहाँ आउने हर कोही मानिसलाई भियनाले आकर्षित गर्ने गर्दछ भने युरोपका साथै विश्वभरिबाट यहाँ आउने पर्यटकहरु पनि भियनाको सौन्दर्यसँग लोभिने र लट्ठ पर्ने गर्छन् । पंक्तिकार स्वयमले पनि भियनाको विषयमा विश्वभरका मान्छेले बनाएको दृष्टिकोण धेरैपटक सुनिसकेको छ ।

यसका विविध पाटाका विषयमा फेरि कुनै अर्को लेखमा चर्चा गरौँला, अहिलेलाई भियनाका उन्नाइस डिस्ट्रिकको वाइन यार्डबाट भियनालाई क्यामरामा कैद गरिएका केही तस्बिर हेरौँ ।

सबै तस्बिर : घटना र विचार