अलविदा सुशान्त !!

अलविदा सुशान्त !!


■ अंगराज तिमिल्सिना

बलीउड एक्टर सुशान्तसिंह राजपुतको ३४ वर्षकै अल्पायुमा देहान्त भएको दुःखद खबर सुनियो । उसो त यो कोरोना भाइरसको लकडाउनमा विश्वभरी आत्महत्या गर्नेको संख्या बढेको भनिन्छ । सुशान्तको आत्महत्या हो होइन थाहा हुँदै जाला, तर १६ वर्षकै उमेरमा उनले आमा गुमाएका थिए भने चार दिनपहिले मात्रै उनकी पूर्वम्यानेजर दिशा सालिआनले आत्महत्या गरेकी थिइन् ।

जिन्दगीले जानीनजानी कोलाई कुन बेला कुन मोडमा भेट गराउँछ । मलाई पनि यस्तै भएको थियो । मैले दुई चोटी सुशान्तलाई भेट्ने मौका पाएको थिएँ, प्लान गरेर वा उनी हिरो र म ‘क्रेजी फ्यान’का हिसाबले होइन, संजोग त्यस्तै मिल्यो, यद्यपि उनले खेलेका धेरैजसो चलचित्र हेरेको छु र मन पनि पर्छन् ।

म युरोपबाट न्यु योर्क जाँदा इस्टान्बुल एयरपोर्टको लाउन्जमा एक्लै बसिरहेको थिएँ । एउटा अग्लो केटो दुवै हातमा साना–साना ‘लगेज’ बोकेर मतिर आयो । इस्टान्बुलको ‘बिजिनेस क्लास लाउन्ज’ त्यसै पनि ‘बिजी’ नै हुन्छ भने त्यो दिन झनै ‘बिजी’ थियो । खाली ठाँउ नपाएर हो वा मलाई इन्डियन जस्तो देखेर हो मेरो छेउमै आएर भन्यो, ‘म यो सोफामा बसुँ ?’ । मैले भने, ‘इट्स अल युयोर्स ।’ उसले आफ्नो सामान त्यता राखेर सिधै खाना राखेको ठाउँमा गएर दुई–तीन प्लेट भरी खाना ल्याएर आयो र हेर्दाहेर्दै १५–२० मिनेटमै दुई–तीन दिन खाना नखाएको जसरी सिध्यायो ।

मैले काई पोछे, पीके अनि डान्स कम्पिटिसन (जस्तो कि उसकी पहिलाको ‘गर्ल फ्राइण्ड’ अंकितासमेत भएको कम्पिटिसन्) आदि हेरेकाले मैले अंग्रेजीमा ‘तिमी सुशान्त होइन ?’ भनेर सोधेँ । उसले हुँ भन्यो । त्यसपछि मैले ‘तिमी त यत्रो स्टार, एक्लाएक्लै कसरी यहाँ ?’ भनेर सोधेँ । उसले ‘धोनी भन्ने मुभीको सुटिङमा टर्की आएको थिएँ, जरुरी काम परेर म आजै मुम्बे जान्छु, अरु भोलि आउँछन्’ भन्यो । मैले ‘अंकिता के साथ तो ब्रेक हुवा ना, मिडीया वाले यही बोलरहा हे’ भनेर भनेँ । उसले ‘ये सच हे’ भन्यो ।

त्यसपछि उ केही बेर चुप लागेर फोनका मेसेज हेर्न थाल्यो । मेले एकछिनपछि ‘आपका फ्लाइटका कित्ना टायम बाँकी हे ?’ भनेँ । उसले ‘एक–डेढ घण्टा बाँकी हे’ भन्यो । मैले ‘आप ने खाना तो अच्छे तरहे से खा लिए, मैने देखा था, आप्को ड्रिंक्स करने का मन हे ?’ भनेर सोधेँ । एकछिन उसले किन हो कुन्नी यसो सोच्यो । मतिर हेऱ्यो र सोध्यो, ‘आप किधर से हे, क्या करते हे और किधर जाने के लिए ट्रान्जिट मे हे ?’ । मैले उसलाई मेरो ‘बिजनेस कार्ड’ दिएर मेरोबारे सबै बताएँ । त्यसपछि उ चुप बस्यो । एक छिनपछि ‘आपको क्या पिनेका मन हे ?’ भनेर सोध्यो । मैले ‘सुरु स्याम्पेन से करे, उसके बाद रेडवाइन चलेगा’ भनेँ ।

दुबै जना स्याम्पेन माग्न बारमा गयौँ । दुई लामा गिलास हातमा के परेका थिए उसले भन्यो, ‘मैले भारतको क्रिकेटको पूर्वकप्तान धोनीको बायोपिकमा खेलेको चलचित्र आयो भने म भारतमा सुपर स्टार हुनेछु, लेट्स चिअर फर इट’। मैले पनि चीयर्स भने । मैले उसलाई ‘सुपरस्टार भयो भने हाम्लाई समझेलास् त ?’ भनेँ । उसले ‘धोनी मुभी आनेसे पहेले हम इस्टान्बुल एयरपोर्ट लाउन्जमे मिला था बतादिजिए सब याद आ जाएगा’ भन्यो ।

उ भन्दा उमेरले पाको भएर हो कि एक–डेढ घण्टाको समयमा मैले दुई वटा कुरा पत्ता लगाएँ । पहिलो, उसमा ‘पर्फेक्सनका लागि हङ्गर तमाम थियो, सुपरस्टार बन्ने सपना थियो ।’ दोश्रो, उसमा न म स्टार हुँ भन्ने घमण्ड थियो, न त म सेलिब्रीटी हुँ, जे पनि गर्न सक्छु भन्ने छाडापन थियो । तर मैले उसमा भित्रभित्रै इन्सेक्युरिटी भएको महसुस गरेको थिएँ । यसको एउटा कारण उ ‘इन्ट्रोभर्ट’ जस्तो देखिन्थ्यो । सजिलै खुल्न नसक्ने, केही दबिएजस्तो, केही ग्लानीका साथ लुकाइराखे जस्तो ।

अलि बातचित खुलेपछि उसले ‘स्नुकर खाली हो गया हे, खेलें ?’ भन्यो । मैले ‘लेट्स डु इट्’ भने । दुई म्याच जति खेल्यौँ । उसले एउटा जित्यो, मैले एउटा । त्यसपछि उसको फ्लाइटको समय भएकाले बाई भनेर हिँड्यो ।

पछि करिव एक डेढ वर्षपछि म मौरिससको प्रधानमन्त्रीजीको एउटा कार्यक्रममा संलग्न भएर समुन्द्रको छेउमै रहेको कन्टिनेन्टल होटेलको रेस्टुरेन्टमा डिनरका लागी एउटा टेबलमा बसेर रिफ्रेस्मेण्टको सुरुवात मात्र के गरेको थिएँ, भारतीय सिनेमाको हिरोइन जस्तो लाग्ने सँगै सुशान्त डिनरका लागि हाम्रै छेउको टेबलतिर आयो ।

मैले ‘सुशान्त हाउ आर यु ? ह्वाट ए कोइन्सिडेन्स् !’ भनो । उसले यसो हेरेर, ‘आइ थिंक आइ नो यु’ भन्यो । मैले त्यही इस्टान्बुल एयरपोर्टको कुरा सम्झाएँ । एकछिन कुरा गरेर ‘मसँग उनी छन, म पर्सनल काममा मौरिसस आएको’ भनेर आफ्नो टेबलमा गयो । उसको हाउभाउ हेर्दा नयाँ डेटिङ चलिरहेको जस्तो लाग्थ्यो । मैलेचाहिा उसँगको साथी चिनिनँ र चिन्ने मेरो रहर र चासो पनि थिएन । यसो सम्झेँ, यो संसार कति सानो छ ।’

तर यही दुनियाँले सफलताका पछाडि दौडिँदादौडिँदा मान्छेलाई एक्लो बनाउँछ भने नेपाल र भारत जस्ता देशमा “मेन्टल हेल्थ” हेल्थ मानिँदैन, यसलाई रोग नभनेर पागलपन भनिन्छ । यसै पनि शहरीकरण र पैसा कमाउने प्रतिष्पर्धा आदिले जिन्दगीमा ‘स्ट्रेस’ थपिएको छ भने हलिउड र बलिउडको प्रेसरका कुरा छोडिदिउँ- नाम र पैसा कमाउन साह्रै गाह्रो र कमाए पनि यसलाई जोगाउन झन गाह्रो !

सुशान्तको आत्माको चिरशान्तिको कामना ! उसका सम्पूर्ण फ्यानहरुमा सहानुभूति !!

courtesy: Anga Raj Timilsina’s facebook