राष्ट्रवादका आयामहरू

राष्ट्रवादका आयामहरू


■ जगतप्रसाद रिजाल

शब्द पुरानै भए पनि परिस्थितिअनुसार नयाँ छाल तरङ्गित गराउन सक्ने शब्द हो राष्ट्रवाद । ‘राष्ट्रवाद’ बहु विश्लेषणले मुर्तबाट अमुर्त बनाइएको शब्द पनि हो । समय र परिस्थिति अनुसार राष्ट्रवादलाई बुझ्न सकिएन भने मानिसले निमेषभरमै अराष्ट्रिय तत्त्वको बिल्ला भिर्नुपर्ने हुन्छ । ट्युनिङ मिलेको खण्डमा भने सानो कुराले पनि ब्यक्ति राष्ट्रवादको मसिहा नै भइदिन्छ ।

१८औँ शताब्दीबाट सुरु भएको राष्ट्रवादी सोचले आफ्नो विश्वयात्राका दौरान विभिन्न पात्र र प्रवृत्तिहरू जन्माएको छ । नेल्सन मण्डेला, गान्धी, लुथर किङ जुनियर, हिटलर, मुसोलिनी, ली क्वान, ट्रम्प, पुटिन सबै राष्ट्रवादले समयक्रममा जन्माएका पात्र हरू हुन् । तालिबान, रिबेल जस्ता समुह पनि पनि राष्ट्रवादका सन्तति नै हुन् । यी फरक–फरक पात्र र प्रवृत्तिले राष्ट्रवादलाई बहुआयमिक बनाएका छन् ।

सामान्य भाषामा राष्ट्रवाद भनेको राष्ट्रप्रतिको अगाध आस्था र गौरवको अनुभूति हो । राष्ट्रिय स्वभिमान, सार्वभौमिकता, सीमा र जनताको रक्षा गर्नु यसका विशेषता हुन् । राष्ट्रवादी सोचले आफ्नो राष्ट्र र राष्ट्रिय हितलाई सबैभन्दा बढि महत्त्व दिएको हुन्छ । आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको अद्वितीय, अविचलित भावना र कर्तव्यबोध राष्ट्रवादको उच्चतम बिन्दु हो । मानवता, साँस्कृतिक मूल्य मान्यताको संरक्षण, न्याय, विकास र समग्र राष्ट्रको सकारात्मक परिवर्तन राष्ट्रवादका मुल मुद्धाहरू हुन् । तर बहुआयामिक राष्ट्रवाद यतिमा मात्र सीमित छैन ।

वर्तमान परिस्थितिमा त राष्ट्रवाद सत्ताप्राप्तिको बलियो आधार भएको छ । युरोपको इटाली, हङ्गेरी, टर्कीदेखि माहाशक्ति राष्ट्र अमेरिका होस् वा विश्वमा उदीयमान देशहरू ब्राजिल, साउथ कोरिया, भारतलगायतका देशका वर्तमान शासहरूको सत्तारोहणको मुख्य आधार तिनीहरूले प्रस्तुत गरेका राष्ट्रवादी चिन्तन नै हुन् । मोदीको धार्मिक राष्ट्रवाद होस्, ट्रम्पको ‘अमेरिका फस्ट’ वा बेलायत इयूबाट फिर्ता आउनु सबै जनताबाट अनुमोदन गरिएका राष्ट्रवादी सोच हरू हुन् । राष्ट्रवादी सोच र सत्ता आरोहणको सम्बन्ध विश्वब्यापी भइसकेको छ, जसको छनक गत चुनावमा हामिले पनि देखे–भोगेको हो । अहिले यो वा त्यो रूपमा राष्ट्रवादी भइ टोपलेपछि नेतृत्वमा अन्य गुण वा भिजन नभए पनि फरक नपर्ने परिस्थिति सृजना गरिएको छ । राष्ट्रिय हित र मुद्धामा लाग्नुभन्दा पनि अरु कसैको विरोध गरेर आफूले आफैंलाई राष्ट्रवादी घोषणा गर्नेहरूको जमात पनि राजनीतिमा स्थापित भैरहेको छ । यसले कालान्तरमा राष्ट्रलाई नोक्सान मात्र पुऱ्याउँछ ।

राष्ट्र सङ्कटमा परेको बेला विभिन्न अभियानका माध्यमबाट राष्ट्रवादका नारा घन्काउने जमात हुन्छ । तुलनात्मक रुपमा शिक्षित र सभ्य देखिने यस्ता अभियन्ताहरूले स–साना ब्याक्तिगत, पारिवारिक र सामाजिक घटनालाई राजनैतिक एजेन्डाका रुपमा प्रस्तुत गर्ने तथा राष्ट्रिय समस्या समाधानमा पनि आफ्नो सक्रिय उपस्थितिको भान पारेर आफूलाई मानवता र देशभक्तिसहितको राष्ट्रवादीको रुपमा प्रस्तुत गर्ने परिपाटी पनि विकास भएको पाइन्छ ।

परिस्थिति यस्तोसम्म बनेको छ कि त्यस्ता ढोँगी राष्ट्रवादी र तिनको कार्यशैलीको बारेमा केही प्रश्न मात्र उठाएको खण्डमा उल्टै अराष्ट्रिय तत्वको ट्याग भिर्नुपर्ने अवस्था आएको छ । यो पनि राष्ट्रवादको एउटा नयाँ आयमको रुपमा स्थापित हुँदैछ । यस्ता राष्ट्रवादीको गुणगान बढ्दै गयो भने यिनीहरूमा मुगाबे प्रवृत्ति हाबी हुने देखिन्छ, जसले राष्ट्र र राष्ट्रियताको नाम भजाएर लामो समय शासन गरेर जिम्बाबेलाई यो हविगतमा पुऱ्याए । उनी पनि नारामा कम राष्ट्रवादी थिएनन् ।

मानव समुदायले भोगेका दुई विश्वयुद्ध पनि राष्ट्रवादी सोचका उपज हुन् । शासक हरूबीच आफूलाई राष्ट्रवादी देखाउने होडका कारण सृजित चरम राष्ट्रवादी सोचले निम्त्याएको यो नरसंहारबाट पनि मानव समुदायले वास्तविक राष्ट्रवादको पहिचान गर्न नसक्नुलाई दुर्भाग्य नै मान्नु पर्दछ । राष्ट्रवाद केही हदसम्म भावनात्मक कुरा पनि हो । तर राष्ट्रवादका नाममा नेतृत्व भाबनामा डुब्दै गएमा यसले ब्याक्तिलाई भीमसेन थापाको हालतमा पुऱ्याउन सक्छ । भावनात्मक राष्ट्रवादले भीमसेन सेरिएर मर्नु पऱ्यो भने मुलुकले आफ्नो भूमि गुमायो । राष्ट्रवादीहरूले कुटनैतिक चातुर्यतालाई भन्दा बदलाको भावना र सन्की स्वभाव प्रस्तुत गर्ने र अन्य बाटोभन्दा युद्धमार्फत मुलुक जोगाउन सकिन्छ भनेर विश्वास गर्ने सन्की राष्ट्रवादले मुलुकलाई तत्कालीन जर्मनी र नेतृत्वलाई हिटलरको बाटोमा नपुऱ्याउला भन्न सकिन्न ।

देश निर्माणको साध्य बन्नुपर्नेमा अहिले राष्ट्रवाद राजनीति र सत्ताको साधनको रूपमा देखापरिरहेको छ । कालान्तरमा यो समग्र विश्वको लागि दुर्भाग्यपूर्ण हुनेमा अब शङ्का मान्नु पर्दैन । जब नाम मात्रको राष्ट्रवादी शासकले आफ्नो अस्तित्व सङ्कटमा परेको महसुस गर्छ । उभित्र एक किसिमको अहङ्कार देखा पर्दछ । यस्तो अहङ्कारी सोच एकदम खतरनाक हुन्छ । यस्ता राष्ट्रवादीहरूले आफ्नो पहिचान र अस्तित्वको लागि मानवता, राष्ट्रियता सबै बिर्सन सक्दछन् । जुन कुरा सिरियामा बसर अल असदले पुष्टि गरिसकेका छन् ।

राष्ट्र सङ्कटमा परेको बेला विभिन्न अभियानका माध्यमबाट राष्ट्रवादका नारा घन्काउने जमात हुन्छ । तुलनात्मक रुपमा शिक्षित र सभ्य देखिने यस्ता अभियन्ताहरूले स–साना ब्याक्तिगत, पारिवारिक र सामाजिक घटनालाई राजनैतिक एजेन्डाका रुपमा प्रस्तुत गर्ने तथा राष्ट्रिय समस्या समाधानमा पनि आफ्नो सक्रिय उपस्थितिको भान पारेर आफूलाई मानवता र देशभक्तिसहितको राष्ट्रवादीको रुपमा प्रस्तुत गर्ने परिपाटी पनि विकास भएको पाइन्छ । नेपाल जस्तै तेस्रो विश्वका मुलुकमा यस्ता राष्ट्रवादी अभियन्ताको जमात नै भेट्न सकिन्छ । समयको प्रवाहसँगै यस्ता राष्ट्रवादीहरूको अस्तित्व नै विलय भएका धेरै दृष्टान्त छन् ।

समाज र राज्यमा दबिएका, दबाइएका जाति र सम्प्रदायलाई पीडा र दबाबबाट मुक्त बनाएर मुलधारमै स्थापित गराउने सोचका साथ शोषक भनिएकासँग सशस्त्र युद्ध गर्ने अर्काेथरि राष्ट्रवादीहरूमा सत्ताको रसस्वादन गरिसकेपछि देखिने परिवर्तनको बारेमा सायद उल्लेख गर्नु नपर्ला । नेपालको माओवादी आन्दोलन (जनयुद्ध) र कोलम्बियाको फार्क विद्रोही यसका जीवित इतिहास हुन् । पछिल्लो समयका राष्ट्रवादीहरूको चर्चा गर्दा सद्दाम हुसेन, किम जोङ, डुर्टेटको नाम भुल्नु अन्याय नै हुन सक्छ । यिनीहरूले छुट्टै खालको राष्ट्रवादी आयमको नेतृत्व गरेका थिए र छन् । ब्यवस्थाका आधारमा उनीहरू कस्ता थिए त्यो विश्लेषणको विषय होला तर उनीहरूको राष्ट्रवादमा शङ्का गर्ने ठाउँ थिएन र छैन पनि । कुनै धर्मलाई आधार मानेर वा धर्ममा राजनीति गर्ने धार्मिक अतिवादीले र आर्थिक उदारीकरणका नाममा निजी क्षेत्र र नाफालाई मात्र महत्त्व दिने नवउदारवादीले पनि समयक्रममा आफूलाई राष्ट्रवादीको खेमामा उभ्याइसकेका छन् ।

राष्ट्रियताको नारा दिएर सत्ता आरोहण गर्ने अनि मुगाबेशैलीमा लामो समय शासन गर्ने र राष्ट्रलाई दलदलमा फसाउने जब राष्ट्र अप्ठ्यारोमा पर्छ अनि मीर जाफर बनेर पद र पैसा लुँड्याउने, सत्तामा हुँदा भन्दा बाहिर बस्दा राष्ट्रियतामा बहस गर्न रुचाउने र राष्ट्रियतालाई चुनावी नाराको रुपमा मात्र प्रयोग गर्नेहरूलाई कदापि वास्तविक राष्ट्रवादी मान्न सकिँदैन ।

वास्तविक राष्ट्रवादीहरू प्रत्युत्पादक हुँदैनन् र हुनु पनि हुँदैन । राष्ट्रवादीहरूको दर्बिलो उपस्थितिले नै संसारबाट साम्राज्यवादको अन्त्य भएको हो । राष्ट्र निर्माणको मुल उद्देश्य लिएर निश्चित भिजनका साथ नेतृत्वदायी भूमिका निर्वाह गरेका र कठिन परिस्थितिमा पनि देश र जनताको मुक्तिको लागि अद्वित्तीय योगदान दिने ब्यक्ति तथा प्रवृत्तिहरू वास्तविक देशभक्त र राष्ट्रवादी हुन् । मण्डेला, गान्धीले स्थापित गरेका राष्ट्रवादी आयमहरू वास्तविक राष्ट्रवादी आयाम हुन्, जसले राष्ट्रिय स्वधीनता, स्वाभिमान, जनताको मुक्ति र राष्ट्रिय हितमा कहिल्यै सम्झौता गरेनन् । अझ राष्ट्रलाई कठिन समयबाट छुटकारा दिलाउन नीहरूले प्रयोग गरेको कुटनैतिक चातुर्यता वास्तविक राष्ट्रवादी थियो जसले राष्ट्रमा थप क्षति हुन दिएन । राष्ट्रवादको यो आयाम सर्वस्विकार्य थियो ।

राष्ट्रवाद बोलीमा भन्दा ब्यवहारले पुष्टि गर्ने विषय हो । दोस्रो विश्वयुद्धले जापानमा स्थापित राष्ट्रवादी चिन्तन र त्यसकै पृष्ठभूमिमा उसले गरेको परिवर्तन, राष्ट्र निर्माणमा उनिहरूले देखाएको दृढता र एकता वा पछिल्लो समयमा चीनले समातेको नीति र राष्ट्रपति सीले अपनाएको बाटो, यी सबै वास्तविक र देशभक्त राष्ट्रवादी चिन्तनका दृष्टान्त हुन् । यसरी हेर्दा यो वा त्यो रुपमा सबैले आफूलाई कुनै न कुनै आधारमा स्वघोषित राष्ट्रवादीको कित्तामा उभ्याएका छन् । अब प्रश्न को राष्ट्रवादी भन्ने भन्दा पनि कस्तो राष्ट्रवादी भन्ने हो ।

राष्ट्रियताको नारा दिएर सत्ता आरोहण गर्ने अनि मुगाबेशैलीमा लामो समय शासन गर्ने र राष्ट्रलाई दलदलमा फसाउने जब राष्ट्र अप्ठ्यारोमा पर्छ अनि मीर जाफर बनेर पद र पैसा लुँड्याउने, सत्तामा हुँदा भन्दा बाहिर बस्दा राष्ट्रियतामा बहस गर्न रुचाउने र राष्ट्रियतालाई चुनावी नाराको रुपमा मात्र प्रयोग गर्नेहरूलाई कदापि वास्तविक राष्ट्रवादी मान्न सकिँदैन । राष्ट्रिय एकताका आधार, देशभक्त, सनातन धर्म र संस्कृतिको रक्षक र धार्मिक सहिष्णुताका हिमायती, जनताप्रति उत्तरदायी, कुशल रणनीति र कुटनैतिक चातुर्यता भएका पृथ्वीनारायण शाह (प्रवृत्ति) र देश, जनताको समृद्धिलाई प्रमुख मुद्दा बनाउने र त्यसलाई पूरा गर्ने भिजन भएका सी जिङ पिङ जस्तै राष्ट्रवादी यो मुलुकले खाजिरहेको छ । यो नै वास्तविक राष्ट्रवादी आयाम हो । जसले हामी सम्पूर्णमा मुलुक पहिला भन्ने धारणा निर्माण गर्न सक्दछ ।