खोयामहल !

खोयामहल !


■ राजेन्द्रप्रसाद पाठक

नेताज्यू हामीले तिमीलाई दलको प्रमुख बनायौँ
हामीले नै निरंकुशता विरुद्ध आन्दोलन गऱ्यौँ
महासामन्त र शासकलाई घुँडा समेत टेकायौँ
तिमीलाई स्वर्ण सिंहासनमा विराजमान गरायौँ !

नेताज्यू हामीले जहाँनियाँतन्त्रको विरोध गऱ्यौँ
जनताको शासन व्यावस्था आयो भन्ने ठान्यौँ
तिमीले त आफूपछि आफ्नैलाई सत्ता सुम्पियौँ
हामीलाई जयजयकार गर्ने महारैती पो बनायौ !

नेताज्यू यही हो त हामीले ल्याएको लोकतन्त्र ?
अब त तिमीले ठूलो अस्पताल पनि किन्यौ रे
तिमी त आफ्नै अस्पतालमा उपचार गराउलाऊ
निरंकुश वीरशम्शेरले रैतीलाई दिएको अस्पताल खोइ ??

नेताज्यू तिमीले त अंग्रेजी स्कुल पनि किन्यौ रे
तिमी र तिम्रा आफन्तका सन्तान त त्यतैतिर पढ्लान्
तर रैतीको गुरुकुल र विद्यालय कुन हालमा छन् ?
के ती सबै तिम्रा कार्यकर्ताको जागिर खाने थलो मात्र हो ??

नेताज्यू तिमीले बनाको एक थान संविधानमा केके छ ?
मौलिकहकको ठुल्ठुला काला अक्षरले लेखेका छौ त
के शिक्षा र स्वास्थ जनताका मौलिक हक होइनन् र ?
तिमीले देखेको ठुलो व्यापारले तिम्रै खिल्ली उडाएको छ !

नेताज्यू हिजो तिमी हाम्रै छाप्रोमा ढिँडोरोटी खान्थ्यौ
शासकको सिंहदरबारको ताला तोड्ने कथा सुनाउँथ्यौ
तिमी आज हाम्रै बलमा सिंहदरबारमा विराजमान छौ
तर आज रैतीका लागि त्यही इमारतमा भोटेताल्चा लायौ !

नेताज्यू आज रैतीको काँध फ्यात्त भएर गलेको छ
काँधतिर मुन्टो फर्काउँदा डुङ्डुङ्ती गन्हाएर आउँछ
महादेवले आफ्नो मृत स्त्रीलाई कसरी बोके होला ?
आजसम्म रैतीले तिमीलाई त्यसैगरी बोकिरहेका छन् ।

नेताज्यू आज रैतीका कपडा मात्र होइन आङै फाटिसके
तिमी त रैतीको आङ ढाक्ने कल्पनासम्म पनि गर्दैनौ त
बरु आफ्नै गलैँचा बदल्ने र फलैंचा उँचो बनाउँदै छौ त !
कतै रैतीले तिम्रो खोयामहल गर्लम्मै ढलेको सपना देखे भने ?

नेताज्यू तिमीले कथंकदाचित यतिबेलै देहत्याग गऱ्यौ भने ?
मलामीको समेत साह्रोगाह्रो पर्न सक्छ देशमा देशान फैलियो
रैतीको पार्थिव शरिर मात्रै छ चित्त त उहिल्यै मरिसकेको छ
जब तिमी मृत्युकात्रो किन्न थाल्यौ बारीको फूल ओइलिएको छ !!