अष्ट्रेलियाको मिडियामा क्याप्टेन विजयको चर्चा

अष्ट्रेलियाको मिडियामा क्याप्टेन विजयको चर्चा


■ राजन घिमिरे

सेलिब्रेटी पायलट, अर्थात् अभिनेता एवम् क्याप्टेन विजय लामाको चर्चाले सात समुन्द्र पारीको देशमा पनि स्थान पाउन थालेको छ । आफ्नो क्षमता, दक्षता र प्रशंसा गर्नलायक कार्यशैलीका कारण नेपालमा मात्र नभइ विदेशमा पनि लामाको तारिफ र वाहवाही भएको हो ।

यस सिलसिलामा अष्ट्रेलियाको चर्चित टेलिभिजन च्यानल एबीसी न्यूजले कलाकार एवम् क्याप्टेन लामालाई सेलिब्रेटी पाइलटको रूपमा चित्रित गर्दै उनको कलाकारिता र पाइलट दुवै विधाको तारिफ गरेको छ । लामाले लकडाउनको समयमा नेपालबाट अष्ट्रेलियाको ब्रिसबेन, सिड्नी र क्यानभरा गरेर तीन शहरमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडान गरेका थिए । यसै सन्दर्भलाई उल्लेख गर्दै ‘साहसी र आफ्नो कर्म अनि क्षेत्रप्रति कर्तब्यपरायण ब्यक्तिको रूपमा हामीले देखेका छौँ’– एबीसीको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा उनले नेपाली चलचित्रदेखि हलिउड सिनेमासम्म पनि काम गरेको विषय सम्प्रेषण गरिएको छ ।

चलचित्र आर्दश नारीमा नायकको रूपमा अभिनय गरेपछि लामाको चलचित्र यात्रा शुरू भएको थियो । विगत ३५ वर्षदेखि पाइलटको रूपमा सक्रिय रहँदै आएका लामाले कोसेली, मुना मदन, दागबत्ती लगायत ४० भन्दा बढी चलचित्रहरूमा काम गरिसकेका छन् । अहिले पनि उनले चलचित्र, टेलिविज्ञापन र म्यूजिक भिडियोको अभिनय विधालाई निरन्तरता दिइरहेका छन् । ब्यक्ति एक ब्यक्तित्व अनेकका रूपमा लोकप्रिय रहँदै आएका लामाको यो चर्चा र प्रशंसाले यतिबेला समग्र नेपाल र नेपालीको शिर ठाडो भएको अनुभूति गरिएको छ ।