धादिङ प्रवेशका सबै नाकामा थप कडाइ

धादिङ प्रवेशका सबै नाकामा थप कडाइ


विकास रौनियार, (गजुरी) धादिङ

संकट व्यवस्थापन केन्द्र (धादिङ)को बैठकले जिल्ला प्रवेशका हरेक नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि जिल्लासँग सीमाना जोडिएका नाकाहरुमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा गस्ती गराउने निर्णय गरेको छ । यस्तै, धादिङ र काठमाडौंको सीमाना पिप्लामोड र बेनिघाट रोराङको मौवाखोलामा मानिसहरुको पैदल यात्रा पुर्ण रोक लगाउने निर्णय गरेको बताइएको छ ।

अति आवश्यकिय खाद्यान्न, निर्माण सामाग्रीलगायत अन्य सामानहरु उद्योग वाणिज्य संघको समन्वयमा मात्र आपुर्ति व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

यसैगरी, आमनागरिकका लागि अत्यावश्यक दैनिक उपभोग्य बस्तुको सहज आपुर्तिका लागि बिहानदेखि बेलुकासम्म दुध र तरकारी पसलहरु खुला गर्ने र अन्य प्रकृतिका पसलहरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सबै खुला गर्ने निर्णय गरेको छ । तर जिल्लाका विभिन्न स्थानीय तहहरुले पसल तथा बजार खोल्नका लागि आफूअनुकुल निर्णय गरेका छन् ।

धादिङमा अहिलेसम्म ४ जना कोरोना रोगबाट संक्रमित भएकोमा तीन जना निको भइ घर फर्किसकेका छन् । एक जनाको उपचार भैरहेको पनि बैठकमा जानकारी गराइएको छ ।