भैंसी फर्मका कामदारद्वारा पाँच जनाको हत्या

भैंसी फर्मका कामदारद्वारा पाँच जनाको हत्या


रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले पाँच जनाको सामुहिक हत्या गरेका छन् ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने मजदूरमध्येका एक झपेन्द्र सिंजालीले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेका बताइएको छ । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा फेला परेको थियो ।

उक्त सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनास्थलनजिकै भेटिएका सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीयवासी कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने रुपन्देही सैनामैनाका ४० वर्षीय माधव मुसहर र ३७ वर्षीया जानकी मुसहरसहित तिलोत्तमा–९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको हत्या भएको जानकारी गराएका छन् । बताइए अनुसार अभियुक्तले खेत खन्ने फरुवा प्रहार गरी हत्या गरेका थिए । मृतकमध्येका माधव र जानकी दम्पती हुन् । उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए ।

हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन । पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदूरबीच अहिलेसम्म कुनै विवाद भएको आफूलाई थाहा नभएको बताएको सोही वडाका वडाध्यक्ष व्यासमुनि चौधरीले जानकारी दिएका छन् ।