५६ वटा उच्चमाध्यमिक विद्यालयको पुनःनिर्माण भारतले गरिदिने

५६ वटा उच्चमाध्यमिक विद्यालयको पुनःनिर्माण भारतले गरिदिने


नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणमा सघाउन भारतीय राजदूतावास र शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले सात वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको २ अर्ब ९५ करोडको सहयोगमा उल्लिखित जिल्लामा विद्यालयहरूको पुनःनिर्माण गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरू नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । सम्झौतामा विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहने जनाइएको छ । भूकम्पप्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरूको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने जानकाइएको छ ।

भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको सम्झौतापछि जारी विज्ञप्तिमा जनाइएको छ ।