दिल्लीका मुख्यमन्त्री केजरीवालमा कोरोना संक्रमणको लक्षण, मंगलबार परीक्षण गरिने

दिल्लीका मुख्यमन्त्री केजरीवालमा कोरोना संक्रमणको लक्षण, मंगलबार परीक्षण गरिने


भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । उनलाई कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु देखिएको केजरीवाल निकटस्थ स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

यसरी कोरोना भाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो लक्षणहरु देखिएपछि उनी सोमबारदेखि आफ्नै निवासमा छुट्टै बस्न थालेका छन् ।

उनको मङ्गलबार (९ जुन) कोरोना परीक्षण गरिने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । बताइएअनुसार आइतबार दिउँसोदेखि उनले आफ्ना सबै बैठक तथा भेटघाटहरुलाई स्थगित गरेका थिए ।

आम आदमी पार्टीका प्रमुख नेता ५१ वर्षीय केजरीवाललाई कोरोना भाइरसका बिरामीलाई देखिनेजस्तै लक्षण देखिएको र मङ्गलबार परीक्षण गर्ने तयारी भएको पार्टीका अर्का नेता तथा राज्य सभा सदस्य सन्जय सिंहले पनि पुष्टि गरेका छन् । चिकित्सकहरुले मुख्यमन्त्री केजरीवाललाई कसैसँग सम्सर्गमा नरहने गरी अलग्गै बस्न सुझाव दिएका सिंहले बताएका छन् ।

उहाँ छुट्टै बस्न थालेर भेटघाट तथा बैठकहरु स्थगित गरे पनि दिल्ली सरकारको काम कारबाहीमा कुनै असर नपर्ने समेत सिंहको दाबी छ ।

ज्ञात रहोस्, भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अहिलेसम्म २८ हजार ९३६ जना सङ्क्रमित भएका छन् भने कोरोनाका कारण दिल्लीमा मात्रै ८१२ जनाको मृत्यु तथ्याङ्क राज्य सरकारको छ ।