दयारामको प्रण : ‘भ्रष्ट कर्म गर्नुभन्दा म बरु झुन्डिन तयार हुनेछु’

दयारामको प्रण : ‘भ्रष्ट कर्म गर्नुभन्दा म बरु झुन्डिन तयार हुनेछु’


■ राजन घिमिरे

काठमाडौंको पुरानो बानेश्वर चोकबाट सिनामङ्गलतिर अघि बढ्दा थोरै अगाडि दाहिने साइडमा ‘काभ्रे डेरी’ पर्दछ । दुधका परिकारको लागि यो डेरी निकै लोकप्रिय छ । उक्त डेरी सञ्चालक कलाकार तथा फिल्म निर्माता रामकृष्ण बजगाईं, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष, कलाकार तथा निर्माता स्वर्गीय केशव भट्टराई र निर्देशक तथा चलचित्र विकास बोर्डका नवनियुक्त बोर्ड अध्यक्ष दयाराम दाहालको कुनै समय यो डेरी जमघट हुने स्थान थियो । यही डेरीमा बसेर यी तीन सखाहरू चलचित्र यात्राको बारेमा विचार–विमर्श गर्दथे, दुःख–सुख साँट्थे, योजनाहरू बनाउँथे । यहीँबाट यी तीन मित्र–मण्डलीले ठूल्दाइ, कर्म र जंगे फिल्म पनि बनाए ।

दौँतरी र ठूल्दाइसम्म केशवसँगै थिए । पछि केशवले छुट्टै फिल्म बनाउन थाले पनि यी तीन सखाको मित्रतामा कहिले पनि कमी आएन । निर्देशक भएको नाताले दयाराम दाहालले रामकृष्ण र केशव दुवैका सिनेमामा निर्देशन गरिरहे ।

रामकृष्ण पछिल्लो समय सिनेमा क्षेत्रबाट केही टाढा भएको देखिए तापनि उनले चलचित्रकर्मप्रतिको लगाव त्यागेका छैनन् । यता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि प्रशासनिक कार्यमा ब्यस्त हुन थाले भने दयाराम दाहाललाई पनि समयले आफ्नै सखा अध्यक्ष भएको बोर्डको सदस्य बनाइदियो । समय कति निष्ठुरी ! थुप्रै योजना र सोचहरू पूरा गर्न नपाउँदै केशव भट्टराईलाई अकालमा दैवले चुँडेर लग्यो । ईश्वरकै खेल भन्नुपर्ला, यसै साता चलचित्र विकास बोर्डमा अध्यक्ष नियु्क्त भएपछि दयाराम दाहालको काँधमा स्वर्गीय केशव भट्टराईले पूरा गर्न बाँकी रहेको नेपाली चलचित्र क्षेत्रको वृहत्तर विकासका कार्य अघि बढाउने जिम्मा दयाराम दाहालको काँधमा आइपरेको छ ।

आज नेपाली कलाकारितामा उच्च स्थान बनाउन सफल अभिनेत्री एवम् निर्मात्री झरना थापालाई पहिलोपटक दाइजो नामक चलचित्रमा ब्रेक दयारामले नै दिएका थिए । निर्देशक तुलसी घिमिरेको चलचित्र चिनोमा अनुहार मात्र देखाउने भूमिकामा झुल्किएका स्वर्गीय केशव भट्टराईलाई चलचित्र दौँतरीमा नायकको रूपमा पर्दामा उतार्ने पनि दयाराम नै हुन् । नायिका निरूता सिंह अरूको सिनेमामा काम गर्दिनन्, तुलसी घिमिरेको फिल्ममा मात्र काम गर्छिन् भनेर बजारमा गलत हल्ला चल्दा यो हल्ला मिथ्या हो भनेर उदाहरणसहित पेश गरेर दयारामले चलचित्र ‘ठूल्दाइ’मार्फत निरूतालाई हाई–हाई बनाएका थिए । निर्माण नियन्त्रकका रूपमा फिल्म उद्योगमा समय गुजारिरहेका टंक लम्सालको दुई चलचित्र चाँदनी र अर्जुनमा निर्देशन गरेर टंकलाई निर्माताको रूपमा स्थापित दयारामले नै गरेका थिए । उनले अर्का निर्माण नियन्त्रक नगेन्द्र घिमिरेको चलचित्र दैवको पनि निर्देशन गरेर गुन लगाएका थिए । धनभन्दा पनि मनदेखि चिया बोक्नेदेखि सहायक निर्देशक हुँदै सफल चलचित्र निर्देशकसम्मको यात्राहुँदै दयाराम दाहालको चलचित्रकर्मले आज नेपाली चलचित्र क्षेत्रकै अग्रणी संस्था चलचित्र विकास बोर्डको अध्यक्षसम्मको पदीय दायित्व उठाउने ठाउँसम्म ल्याइपुर्याएको छ ।

तीन दर्जनभन्दा बढी चलचित्रको निर्देशन र सयौँ सफल गीतका सर्जक दयाराम दाहाल नै हुन् जसले अभिनेता शिव श्रेष्ठको डुब्न लागेको फिल्मी करिअरमा बहार ल्याइदिएका थिए । शिवका एकपछि अर्को चलचित्र असफल भैरहेको समयमा दयारामले शिवलाई चलचित्र ठूल्दाइमा अलग र शानदार भूमिकामा उभ्याएर कलाकारिता फाँटमा शिवलाई पुनर्जीवन दिएका थिए । आफ्नो निर्देशनमा बनेका चलचित्रहरूले धेरै निर्माताले नाम र दाम कमाए तर दयारामको जीवनमा यस्तो दिन पनि आयो कि उनी आफैं निर्माता भएको चलचित्र जेठो–कान्छो चलेन । आफूले चलचित्रकर्मबाट कमाएको केही रकम यसरी चुर्लुम्म डुब्दा उनी मर्माहत हुन पुगे । तर, यस्तो अवस्था आउँदा पनि उनि आत्तिएर पलायन भएनन्, बरू चलचित्र क्षेत्रलाई थप उर्जाका साथ निरन्तरता दिइ रहे । यतिबेला कलाकार दीपकराज गिरीले भनेको कुरा उल्लेख गर्दा उपयुक्त होला । उनले भनेका थिए– ‘तपाईंलाई जे आउँछ त्यही गर्नुस्, कर्म गर्दै जाँदा उतारचढाव आउन सक्छ, तर आत्तिनु हुन्न । निरन्तर रूपमा लाग्नुस् ।’

चलचित्र कर्ममा जे–जति अप्ठ्यारो आए तापनि दयारामले चलचित्र कर्म त्यागेनन्, निरन्तरता दिइ नै रहे । दौंतरी, ठूल्दाइ, जंगे, चाँदनी, अर्जुन, तँ त साह्रै बिग्रिस् नि बद्री, ढुकढुकी, जेठो कान्छो, कर्मयोद्धा, भरिया, म तिमीबिना मरिहाल्छु, इज्जत, दशगजा, कर्म, फ्ल्यास ब्याक लगायत तीन दर्जनभन्दा बढी सफल चलचित्रहरूको निर्देशन गर्ने सम्भवतः दयाराम दाहाल नै नेपालको पहिलो निर्देशकमा पर्दछन् । त्यस्तै, चलचित्रहरूमा २०० भन्दा बढी उनले लेखेका गीतहरू हिट छन् ।

सङ्घर्ष र दुःखको बेला जस्ता थिए, अहिले पनि उस्तै छन् दयाराम । उनको जीवनशैलीमा परिवर्तन र देखाओटी उतारचढाव छैन । दामभन्दा पनि नाम र कर्मका लागि दिलोज्यानले लागेका दयारामलाई नेपाली चलचित्र क्षेत्रले नामजस्तै दयावान र सरल रूपले हेर्ने गर्दछ । दयाराम भन्छन्– ‘फिल्म क्षेत्रमा करोडौँ कमाइन्छ भनेर आएको र कमाउन खोजेको भए मैले निर्देशन गरेका चलचित्रका निर्माताहरूबाट तल–माथि गरेर उहिल्यै कमाउन सक्दथेँ, तर त्यस्तो सोच कहिल्यै आएन । आज पनि म भन्छु, चलचित्र विकास बोर्डबाट तलव र मैले पाउने सुविधाबाहेक अन्य आर्थिक आर्जनका लागि तलमाथि या अनियमित कर्म गर्ने कल्पना पनि मबाट हुन सक्दैन । भ्रष्ट कर्म गर्नुभन्दा म बरु झुन्डिन तयार हुनेछु ।’