सिङ्गो पृथ्वीमा बचेका दुई मानव– आमा-छोरा !

सिङ्गो पृथ्वीमा बचेका दुई मानव– आमा-छोरा !


■ देवप्रकाश त्रिपाठी

समुद्रले छोडेको पृथ्वीको बाह्य भाग पाँच वर्षअघि जलमग्न हुनुअघिको जस्तो थिएन । जमिनको बाह्य स्वरूपमा निकै परिवर्तन आएको थियो । पाँच वर्षको अन्तरालमा हिउँ पग्लेर सिर्जना भएका खोलानालाहरू आफ्नो बाटो आफैँ बनाउँदै नजिकैको समुद्रसम्म पुग्न थालेका थिए । ठाउँ–ठाउँमा हरियाली देखापर्न थालेको थियो । प्रलयपूर्व कति खुम्चिएको थियो पृथ्वी, एउटा सानो गाउँजस्तै । सञ्चार र वायुसेवाको उच्चतम विकासले पृथ्वीलाई एउटा सानो गाउँमा रूपान्तरित गरिदिएको ताजा स्मरण निराकारको दिमागमा छ । तर, त्यही सानो पृथ्वी यतिबेला उनलाई यति बडेमानको भयङ्कर लाग्दै छ कि मानौँ आकाश र सिङ्गै सौर्यमण्डल पनि यहीभित्र समेटिएको छ ।

जताततै खाली छ, तर जाने ठाउँ कहीँ कतै देखिँदैन, जता गए पनि हुन्छ, तर बाटो कतै छैन । खुला आकाशमुनि स्वच्छन्द हावा बहेर नयाँ सृष्टिको सुवास छर्दै छ, तर ती दुई प्राणी सासै फेर्न मुस्किल पर्ने गरी निसास्सिएका छन् । मानिसको जीवनमा मृत्युभन्दा पनि ठूलो पीडा मृत्युनिकटताको अनुभूति हो । त्यही मृत्युसँग जोगिनका निम्ति उनीहरूले अनेकौँ कष्टहरूको सामना गर्नुपऱ्यो, त्यसरी कष्टसाथ मृत्युसँग जोगाएको जीवन नै आज उनीहरूका निम्ति पीडादायी बोझ भएको छ । खाऊँ केही छैन, लगाऊँ प्रलयपूर्व शरीरमा जे थियो त्यसबाहेक एक धरो कपडा छैन । धर्ती छ, आकाश छ, उज्यालो छ, समुद्र छ, पहाड छ तर हिजोको जगत् छैन । जे देखिन्छ धरामा ती सबै आफैंलाई निल्न खडा भएजस्तो महसूस हुन्छ निराकारलाई ।

अभ्यस्तका निम्ति त्यहाँ आमा छिन्, त्यसैले आश्रय छ, तर निराकारका निम्ति त्यहाँ कुनै आश्रय छैन, केवल आशा छ– अभ्यस्तमा । तिनका निम्ति बाँच्नुको कारण पनि यही बनेको छ ।

धर्ती सतहमा नौला–नौला बोटबिरुवाहरू अङ्कुुरित हुन थालेका छन् । बालक पुत्र किशोरावस्था पार गरेर जिन्दगीको अर्को चरण तय गर्न सम्पूर्ण अङ्ग-अवयवहरूले सुसज्जित भइसकेको छ । पृथ्वी फेरि उभयचरहरूका लागि उपयुक्त बन्दै गएको छ । प्राणीका नाममा पृथ्वीमा अहिलेसम्म केवल दुई प्राणीको मात्र अस्तित्व देखिएको छ– आमा निराकार र पुत्र अभ्यस्त ।

प्रकृतिको सबैभन्दा विकराल एवम् वीभत्स उतार–चढावको सामना गरेर आएका उनीहरू कुनै पनि प्रतिकूलतासँग जुझ्न अभ्यस्त भइसकेका छन् । यद्यपि उनीहरूले विगत केही कालदेखि कुनै किसिमको विपत्ति खेप्नु परिरहेको छैन । प्रकृतिको रौद्र रूपको चरमोत्कर्षको साक्षी बसेका निराकार र अभ्यस्तका लागि वर्तमान एउटा सुन्दर संसारमा रूपान्तरित भइसकेको छ । उनीहरूले ओडारको बास त्यागेर ढुङ्गा–माटोको जोडाइबाट सानो घर पनि बनाएका छन् । समुद्रले छोडेका काठ, दाउरा र पातपतिङ्गरलाई जोडेर बडो कलात्मक ढङ्गले बनाएको घरको छानाको बान्की लोभजगाउँदो छ ।

६ महिनाभन्दा बढी समय लगाएर उनीहरूले तर्जुमा गरेको गुँड हेरिदिने कोही छैनन्, आफै हेर्छन् र आफ्नो कलाको परख पनि सायद मनमनै आफँं गर्ने गर्छन् । हरेक बिहान उदाउने सूर्य, रातकी ठूलीतारा र ताराहरूले तिनका कलालाई निरन्तर नियालीरहेका छन्, तिनीहरूले छरेको उज्यालो निराकार र अभ्यस्तको सिर्जनाको साक्षी बन्ने गरेको छ । एउटा सानो तर प्रकृतिसँग मिल्दोजुल्दो घर, घरको अगाडि सुन्दर आँगन, आँगनको डिलबाट तल दक्षिण र पूर्वतर्फ लमतन्न परेको विशाल मैदान, पश्चिमतर्फ होचा पहाडहरूको बुट्टा भरेजस्तै तरेली, दक्षिण र पूर्वतर्फ मैदानको किनारामा जमिनमै सुतेको आकाश जस्तो प्रतीत हुने सागर, आकाशसँगको सीमा छुट्याउनै नसकिने गरी बसेको समुद्रको ठीकमाथि गगनमा कपास टाँसिएझैँ बसेका बादलका भुल्काहरू, उत्तरतिर उच्च पहाडी शृङ्खला र त्यसमाथि छपक्कै ढाकिएको हिउँ– जता हेऱ्यो त्यतै नयन टाँसिने ।

केही वर्ष मात्र अघिको त्यस्तो हिंस्रक प्रकृति यतिसम्म सुन्दरताको स्रोत हुन सक्ला भनी कसैले सोच्न पनि सक्दैनथ्यो । सुन्दरता र बीभत्सताको स्रोत एउटै हुन सक्दोरहेछ, संहार र सिर्जनाको सूत्र एउटै हुनु सृष्टिको रहस्यपूर्ण विशेषता, यतिबेला यहाँ राम्ररी झल्किरहेको छ । तर, यसको रसस्वादन गर्नेचाहिँ केवल दुई जना मात्र छन्– निराकार र अभ्यस्त ।

सूर्यको आगमनसँगै खानाका लागि यत्रतत्र विचरण गर्नु र रातको पर्दा खस्दा–नखस्दै आफ्नो बासमा फर्कनु उनीहरूको नियमित चर्या भएको छ ।

६ वर्षअघिको संसार निराकारको दिल–दिमागमा सिनेमाको दृश्यझैँ बारम्बार घुमिरहन्छ । अभ्यस्तको मनमा पनि त्यो भयानक अतीत प्रकट भइरहन्छ, तर उनीहरू त्यस विषयमा कुरा गरेर आफैँलाई दुःखी र व्याकुल बनाउन चाहँदैनन् । बरू आगो कसरी पैदा गर्ने, पाकेको खानेकुरा खाने व्यवस्था कसरी मिलाउने, कसरी रात र दिनलाई आरामदायी बनाउने भन्नेजस्ता विषयहरूमा नै उनीहरूका कुराकानी केन्द्रित हुन थालेको छ ।

०००

एउटा अपराह्न,

पश्चिमतर्फको पहाडका टाकुराहरूलाई नाघ्दै सूर्य रातो अनुहार बनाएर डाँडापछाडि खुत्रुक्क ओर्लिने तयारी गर्दै थियो । आँगनको डिलमा आफ्नै हातले टाउको अड्याएर पल्टिरहेका निराकार र अभ्यस्तका आँखा त्यसैमा गएर रोकिए । सूर्यको आधा अनुहार पहाडले छेकिसकेको थियो । अभ्यस्तलाई के लागेछ कुन्नि उसले बडो गम्भीर हुँदै जिज्ञासा राख्यो, ‘आमा, सूर्य अस्ताएपछि अँध्यारो किन हुन्छ ?’

‘उज्यालोको स्रोत नै सूर्य हो, ऊ नभएपछि कसरी उज्यालो हुन्छ त,’ निराकारले जवाफ दिने प्रयास गर्दै भनिन् ।

‘हेर्ने हामी पनि छौँ, देखिने संसार पनि छ, देख्ने हाम्रा आँखा पनि छन्, तर देख्नचाहिँ उज्यालो नै चाहिने किन होला आमा ?

‘देख्न उज्यालो चाहिन्न बाबु, यो हाम्रो भौतिक कमजोरी हो । प्रकृतिले हामीलाई उज्यालोमा मात्र देख्न सक्ने बनाएको छ । प्रलय हुनुपूर्व पृथ्वीमा यस्ता प्राणी पनि थिए, जसलाई हेर्नको निम्ति उज्यालोको सहारा चाहिन्नथ्यो । राति देख्न सक्थे ती प्राणीहरू ।’

‘अहिले ती प्राणी कहाँ छन् त ?’

‘छैनन्, सकिए होलान् । पहिलेको त यहाँ अब के नै बाँकी रह्यो र ? सबै सकिए, केही छैनन् । भए पानीमुनि बाँचेकाहरू होलान् । पानीमाथिका चाहिँ तिमी र ममात्रै हो कि जस्तो लाग्छ ।’

‘हामी मात्रै ?’

‘हो, हामी मात्रै ।’ ‘सबै मानिस मरिसकेकै होलान् त आमा ?’

‘खोइ ! कहाँ होलान् र ? कहीँ–कतै भए पनि हामीले तिनलाई भेट्न सक्ने अवस्था छैन । त्यसमाथि अरू कोही बाँचेका होलान् जस्तो पनि मलाई लाग्दैन ।’

‘त्यसोभए हामी दुईजना पनि मरिसकेपछि पृथ्वी मानवविहीन हुन्छ होइन ?’

‘हो, छोरा ।’

‘हामी कहिले मर्छौं होला आमा, केही अनुमान गर्नुभएको छ ?’

‘त्यसको कुनै टुङ्गो हुँदैन । आउने हरेक क्षण हाम्रै हुन्छ भन्ने जसरी हामी सोचिरहेका छौँ, त्यो मृत्युको हुन सक्छ । बितेको मात्रै हाम्रो हो, भविष्य अनिश्चित छ ।’

‘हामीमध्ये कोही एकजना मऱ्यौँ भने पृथ्वीमा एउटै मात्र मानिस बाँकी बस्नेछ, त्यो कति पीडादायी होला आमा ?’

‘हो छोरा, त्यो बाँच्नेका लागि अर्को प्रलयको पीडा हुन सक्छ ।’

‘त्यस्तो प्रलयको पीडा रोक्न हामी सक्दैनौँ आमा ?’

‘कसरी सम्भव होला त्यो, सकिँदैन छोरा ।’

‘कोही बाँचेका मानिस कतै छन् कि खोजौँ न आमा ।’

‘हाम्रो अहिलेको पहुँच र सीमाले मानिसको खोजी गर्न सकिँदैन बाबु । फेरि मलाई त्यो निरर्थक प्रयास हो भन्ने लाग्छ । बरू…’- निराकारको आवाज बीचमै रोकियो ।

‘के ‘बरू’ आमा ?’

‘केही होइन बाबा ।’

‘केही नभई त तपाईंले अवश्य भन्नुभएको छैन, ‘बरू’ के तपाईंले मलाई भन्न नहुने ?’

‘त्यस्तो भन्नुपर्ने केही छैन । मेरो मुखबाट त्यत्तिकै निस्किएको ।’

‘मैले पत्याउन सकिनँ आमा तपाईंले भन्नैपर्छ ।’

अभ्यस्तको जिद्दी रोकिएन । निराकारले कुरालाई टुङ्ग्याउन खोज्दै भनिन्, ‘भोलि कुरा गरौँला । अब केही खाऊँ र सुतौँ । दुवै उठे ।

सूर्यको ठाउँ चन्द्रमाले लिइसकेको थियो । बादलको एउटा भुल्काले चन्द्रमालाई ढपक्क ढाक्यो । निराकार र अभ्यस्त उज्यालो पर्खन आफ्नो ‘गुँड’मा छिरे ।
(क्रमशः)

पहिलेको खण्ड हेर्नुहोस्–

दैवको अन्तिम प्रहारपछि…