बेग्लै सङ्कटको संघारमा अमेरिका

बेग्लै सङ्कटको संघारमा अमेरिका


■ प्रेमबहादुर सिंह

‘मृत्यु देउ वा स्वतन्त्रता’ भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्रामपश्चात सन् १७७६ जुलाई ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा भयो । अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो- ‘हामी यी सिद्धान्तहरूलाई स्वयमसिद्ध मान्दछौँ कि सबै मानिस समान छन्, उनीहरूलाई उनका सृष्टिकर्ताबाट केही निश्चित अविछिन्न अधिकारहरू प्राप्त छन् । जीवन, स्वतन्त्रता र सुखको चाहना यिनै अधिकारमध्ये हुन् ।’ अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा नागरिकको जीवन, स्वतन्त्रता, समानता र प्रतिष्ठाको प्रत्याभूत हुनु मानवजातिको इतिहासमा एक युगान्तकारी घटना हो ।

वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताको पक्षमा गौरवपूर्ण स्वतन्त्रता संग्रामको लडाइँ लड्ने अमेरिकी जनता आज ‘न्याय छैन, शान्ति छैन !’ (no justice, no peace) को गगनभेदी नारा लगाउँदै मानवअधिकारको गम्भीर हननविरुद्धको आन्दोलनमा सडकमा उत्रिन बाध्य भएका छन् । कोभिड–१९ को महामारीलाई रोक्न असफल डोनल्ड ट्रम्प प्रशासनको विश्वव्यापी रूपमा आलोचना भैरहेको बेला अहिले राष्ट्रपति ट्रम्प मानवअधिकार उल्लंघनको मुद्दामा घेरिएका छन् ।

कोरोना भाइरसको महामारी र गृहयुद्धले संयुक्त राज्य अमेरिका संकटको संघारमा उभिएको छ । यो संकटको शान्तिपूर्ण एवम् न्यायोचित हल खोज्नुको बदला राष्ट्रपति डोनल्ड ट्रम्प सेना परिचालन गर्ने र आन्दोलनकारीहरूलाई जेल पठाउने धम्की दिइरहेका छन् ।

घटना सन् २०२० मे २५ को साँझ ८ बजेको हो । अमेरिकाको मिनिसोटा प्रान्तको मिनियापोलिस शहरको एक कपफुड स्टोरमा घटेको सामान्य घटनाको विषयमा तीन जना प्रहरी अधिकृतहरू घटनास्थलमा पुगी अश्वेत नागरिक ४६ वर्षीय जर्ज फ्लोयडलाई नियन्त्रणमा लिई हातमा हत्कडी लगाएर गाडीमा राख्ने क्रममा जर्ज फ्लोयड जमीनमा लडेको अवस्थामा श्वेत प्रहरी अघिकारी डेरेक शोविनले जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्छन् र अन्य दुई प्रहरी अधिकृत टुलुटुलु हेरेर बस्छन् । घुँडाले घाँटीमा थिचेपछि उकुसमुकुस भएका जर्ज फ्लोयडले ‘मेरी आमाको कसम, म सास फेर्न सकिरहेको छैन, कृपा गरेर मलाई छोडिदिनुस’ भनेर याचना गरिरहँदा पनि ८ मिनेटभन्दा पनि धेरै समयसम्म घाँटीमा घुँडाले थिचिराखेपछि जर्ज फ्लोयडको मृत्यु हुन्छ । प्रहरीले नियन्त्रणमा लिई हातमा हत्कडी लगाइ सार्वजनिक स्थलमा प्रत्यक्षदर्शी सर्वसाधारणलाइ आतंकित पार्ने गरी गरिएको यो क्रुर हत्या अमानवीय एवम् बर्बरताको पराकाष्टा हो ।

कोभिड–१९ को महामारीमा ठूलो क्षति ब्यहोर्न बाध्य अमेरिकी जनता मानवअधिकारको गम्भीर उल्लंघनको घटनाविरूद्ध कोभिड–१९ महामारीको परवाह नगरी सडकमा उत्रिएका छन् । ट्रम्प प्रशासनविरुद्ध उत्रिएको यो मानवसागरले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ । अमेरिकाका १४० भन्दा धेरै शहरहरूमा आन्दोलन फैलिएको छ भने ४० भन्दा बढी शहरहरूमा कर्फ्यू लगाइएको छ । आन्दोलनकारीहरू कर्फ्यूको अवज्ञा गर्दै आन्देलनमा उत्रिएका छन् । आन्दोलन कतै शान्तिपूर्ण छ भने कैयौँ शहरमा हिंसात्मक हुनको साथै कैयौँ लुटपाटका घटनाहरू घटेका छन् । आन्दोलनको क्रममा कयौ आन्दोलनकारीहरु मारिएका छन् भने हजारौँ आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको छ । सन् २०२० जुन १ मा राष्ट्रपति कार्यालयअगाडि भएको विरोध प्रदर्शनमा आन्दोलनकारीहरूले अमेरिकी झण्डा च्यात्दै तोडफोडमा उत्रिएपछि राष्ट्रपति ट्रम्प बङ्करमा लुक्न बाध्य भएका थिए ।

कोरोना भाइरसको महामारी र गृहयुद्धले संयुक्त राज्य अमेरिका संकटको संघारमा उभिएको छ । यो संकटको शान्तिपूर्ण एवम् न्यायोचित हल खोज्नुको बदला राष्ट्रपति डोनल्ड ट्रम्प सेना परिचालन गर्ने र आन्दोलनकारीहरूलाई जेल पठाउने धम्की दिइरहेका छन् ।

मानवअघिकारको हननविरुद्धको यो आन्दोलन अब अमेरिकामा मात्र सीमित रहेन । यो घटनाको विरुद्ध विश्वव्यापी रूपमा प्रदर्शनहरू भैरहेका छन् । ढिलो वा चाँडो कोभिड-१९ महामारीको उपचार र अन्त्य त होला तर राष्ट्रपति ट्रम्पको यस्तै रवैयाले अमेरिकी संकटले सार्थक निकाश पाउला ? के अश्वेत, महिला, दलित, उत्पीडित, सीमान्तकृत वर्ग एवम् समुदायप्रति विश्वव्यापी रूपमा भएको विभेद, उत्पीडन र शोषणको अन्त्य होला ? यो आजको यक्ष प्रश्न हो ।