रङ्गभेदविरुद्ध भियनामा बृहत् प्रदर्शन (तस्बिरसहित)

रङ्गभेदविरुद्ध भियनामा बृहत् प्रदर्शन (तस्बिरसहित)


Sagar Subedi, Vienna (Austria)

अमेरिकाको मिनियापोलिसमा गत हप्ता प्रहरीको अमानविय कारवाहीका कारण अफ्रिकी मुलका एक अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युभएसँगै उक्त अन्यायविरुद्ध विश्वब्यापी रुपमा चर्का स्वर उब्जन सुरु भएका थिए । यस रंगभेदी हत्याका कारण संयुक्त राज्य अमेरिकामा कोभिड संक्रमणलाई बेवास्ता गर्दै मानिसहरु सडकमा आइरहेका छन् । साथै, संयुक्त राज्यभित्र ठुलो मात्रामा नोक्सानीका समाचारहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत् सम्प्रेषण भइरहेको अवस्थामा बिहिबार (४ जुन) अष्ट्रियाको राजधानी भियनामा पनि रंगभेदी हत्याविरुद्ध मानिसहरु स्वस्फुर्त रुपमा सडकमा उत्रिए ।

यो प्रतिनिधि भियनाको मध्यभागस्थित मानवअधिकार प्लाजा (Menschenrecht Platz) पुग्दा प्रदर्शनकारीहरु नगन्य मात्रामा उपस्थित थिए, तर केही समयभित्रै चारैतर्फबाट प्रदर्शनकारीको यस्तो जमघट हुन पुग्यो कि मानिसको उपस्थिति त्यहाँ अनुमान गरेभन्दा अधिक नै रह्यो । त्यहाँ उपस्थित हर मान्छेको अनुहारमा मलिनताका साथ आक्रोश देखिन्थ्यो । महत्वपूर्ण पक्ष यो रह्यो कि यसरी यतिका संख्यामा प्रदर्शन ऱ्यालीमा भाग लिँदा कोभिड संक्रमण बढ्ला भन्ने त्रास कसैमा कत्ति पनि नभएको महसुस गर्न सकिन्थ्यो ।

अष्ट्रिया प्रहरीले बिहीबारका लागि करिव तीन हजार संख्यामा मात्र प्रदर्शन गर्न अनुमति दिएको उक्त विरोध ऱ्यालीमा अनुमान गरेबिपरीत पाँच, दश हुँदै पचासौँ हजारभन्दा बढी अष्ट्रियन तथा गैरअष्ट्रियन नागरिकको उपस्थिति भएको अष्ट्रिया प्रहरीका प्रवक्ताले प्रेसलाई जानकारी दिए ।

उक्त विरोध ऱ्यालीमा सबै विभिन्न विषयहरुलाई इंगित गर्दै लेखिएका प्ले कार्डहरु लिएर मानिस उपस्थित थिए भने कोभिड संक्रमणसँगै मास्क प्रयोग गरेका प्रदर्शनकारी हरुले I Cannot Breath (म स्वास फेर्न सकिनँ) भन्ने लेखिएका मास्क लगाएका थिए, जुन शब्द गोरा प्रहरी अधिकारीले घुँडाले घाँटीमा थिच्दै गर्दा अश्वेत मृतकले बिलौना गरेर बोलेका थिए ।

बिहीबारको ऱ्यालीमा उपस्थित समग्र मानिसको आवाज थियो- ‘हामी मानव एकै हौँ’, ‘असमानता घरबाट शुरु हुन्छ आफ्नो बच्चालाइ सिकाउ’, ‘अति अति भयो’, ‘रंगभेदविरुद्ध एक बनौँ’, ‘कालो छाला हुनु अपराध होइन’ । यस्तै सयौँ फरक-फरक नारा लेखिएका प्लेकार्ड लिएर मानिसहरु उपस्थित थिए ।

विशेषगरी ज्यादातर हाइस्कुल तथा विश्वविद्यालयमा अध्ययन गरिरहेका जस्ता देखिने अनुहार भए पनि विरोध ऱ्यालीमा सबै उमेरसमूहका व्यक्तिहरु देखिन्थे भने अष्ट्रियाको सामाजिक पार्टीका केन्द्रिय तथा युरोपियन नेताहरु समेतको उपस्थिति त्यहाँ देखिन्थ्यो ।

अष्ट्रियामा रंगभेदविरुद्ध आक्रोशपूर्ण तवरले गरिएको प्रदर्शनी यही नै पहिलो थियो भने शुक्रबार पनि अर्को यस्तै प्रदर्शनीका लागि अनुमति मागिसकिएको अष्ट्रियन प्रहरीले जनाएको छ ।

तस्बिरहरु : घटना र विचार