कोरोना भगाउन महिलाले गरे सामुहिक पूजा

कोरोना भगाउन महिलाले गरे सामुहिक पूजा


■ आरके श्रीवास्तव, रौतहट

वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संसारका दुईसय भन्दा बढि देशमा लाखौँ मानिस संक्रमित छन् भने लाखौँले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस नियन्त्रण गर्न संसारका कुनै पनि देशले हालसम्म कुनै प्रकारको औषधी तथा भ्याक्सीन तयार गर्न सकेका छैनन्, तथापि कैयौँ देशका वैज्ञानिकहरु तयारीमा जुटेका छन् ।

नेपालमा कोरोना नियन्त्रण गर्न सरकारले गत चैत ११ देखि लगातार लकडाउन जारी राखेको छ। यसरी लगातार लामो लकडाउनमा बस्नु परेको कारण आजित बनेका रौतहटका कतिपय स्थानका महिलाहरुले कोरोना भाइरस रोग नभई दैवीप्रकोप हो भन्न थालेका छन् ।

देवी देउता रिसाउँदा सुद्ध मनले पुजाअर्चना गरेमा रोगब्याधी भाग्ने जनविश्वासका साथ जिल्लाका कैयौँ स्थानमा महिलाहरुले कोरोना भगाउन सामुहिक पूजाआजा समेत गरेका छन् ।

कटहरिया नगरपालिका वडा ४ र वडा ५ का दर्जनौँ महिलाहरुले सोमबार एकाबिहानै चोखो बनेर खुला चौरमा पंक्तिबद्ध बसेर विभिन्न सामग्री तथा प्रसादसहित सामुहिक पूजा सम्पन्न गरे ।

कटहरिया वडा ५ का अध्यक्षका प्रत्यासी राजनारायण साहले बिहानैदेखि दुबव वडाका दर्जनौँ महिला पुर्ण आस्थाका साथ कोरोना भगाउन सामुहिक पूजामा संलग्न भएको बताए ।

रौतहटको कटहरियामा मात्र नभई जिल्लाका कैयौँ स्थानमा महिलाहरुले पछिल्ला केही दिनदेखि कोरोना भगाउन यसरी नै सामुहिक पूजा गरेका बुझिएको छ ।